६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

महिला फुटबलरलाई पुरुषसरह सुविधा

ब्राजिल फुटबल फेडेरेसन (सिबिएफ) ले बुधबार राष्ट्रिय टोलीका महिला र पुरुष खेलाडीलाई बराबर सुविधा दिने जनाएको छ । पछिल्लो समय महिला फुटबलरलाई पनि समान सुविधा दिनुपर्ने आवाज उठाइरहँदा त्यसको सुनुवाइ गर्ने केही राष्ट्रमध्ये ब्राजिल एक हो । ‘फेडेरेसनले महिला र पुरुष फुटबलरलाई समान पुरस्कार रकम र भत्ता दिने निर्णय गरेको छ । अब महिला फुटबलरले पनि पुरुषसरह सेवासुविधा पाउनेछन्,’ ब्राजिल फुटबल फेडेरेसनका अध्यक्ष रोजेरियो काबोक्लोले भने । यससँगै ब्राजिलका महिला खेलाडी मार्टा, फर्मिगा र लेटिसिया सान्तोसले पनि विश्वस्तरीय स्टार नेइमार, ग्याब्रियल जिसस र रोबर्टो फिर्मिनोबराबर नै सुविधा पाउनेछन् । यसअघि अस्ट्रेलिया, नर्वे र न्युजिल्यान्डले महिलालाई पुरुष फुटबलरसरह सेवासुविधा दिने निर्णय गरिसकेका छन् ।

विश्वविजेता समेत रहेको अमेरिकी महिला फुटबल टिमले गत वर्ष मार्चमा आफ्नो फेडेरेसनले असमान सेवासुविधा दिएको भन्दै मुद्दा दायर गरेको थियो, जुन मुद्दा यसै वर्ष मेमा एक न्यायाधीशले खारेज गरिदिएका थिए । तर, अमेरिकी महिला फुटबल टिमले पुनः अपिल ग¥यो । ब्राजिल फुटबल फेडेरेसनले महिला टोली र उसका प्रशिक्षक पिया सन्धेजसँग छलफल गरेपछि उक्त सेवा दिने निर्णय गरेको जनाएको छ । ‘यो ऐतिहासिक निर्णय हो । यो निर्णयमा सहभागी हुन पाउँदा मलाई पनि एकदम खुसी लागेको छ,’ प्रशिक्षक सन्धेजले भनिन् । ब्राजिलको यो निर्णय गत मार्चमा फ्रान्समा भएको आमान्त्रण प्रतियोगितामा सहभागितादेखि नै लागू हुने भएको छ ।

आगामी वर्ष टोकियोमा हुने ओलम्पिक र महिला विश्वकप फुटबलमा ब्राजिलका महिला फुटबल खेलाडीले पुरुषसरह सुविधा पाउनेछन् । ‘फिफाले अनुपातका रूपमा महिला खेलाडीमाथि गर्ने प्रस्तावअनुरूप नै फेडेरेसनले पनि निर्णय गर्नेछ । अब महिला र पुरुषबीच पारिश्रमिकका विषयमा लैंगिक विभेद हुँदैन,’ काबोक्लो भने । विश्व फुटबलमा सफल ब्राजिलको पुरुष फुटबल टोलीले पाँच पटक विश्वकप जितेको छ । पुरुष टोलीले महादेशीय च्याम्पियनसिप कोपा अमेरिका पनि नौ पटक उचालेको छ । महिला टोली पनि बलियो मानिन्छ र उनीहरू सन् २००७ को विश्वकप फाइनलका साथै सन् २००४ र २००८ को ओलम्पिक फाइनलमा पुगेका छन् । ब्राजिलको फुटबल फेडेरेसनले फुटबलमा सबैलाई समानता दिने हेतुले पछिल्ला निर्णय आएको उल्लेख गरेको छ । फुटबल निकै लोकप्रिय देश ब्राजिलमा ३६ वटा व्यावसायिक फुटबल क्लब छन् र गत वर्ष मात्र फेडेरेसनले महिला र पुरुष लिगलाई समान पुरस्कार रकम दिने निर्णय गरेको थियो । विश्वभर नै महिला र पुरुष फुटबल लिगमा दिइने पुरस्कारमा ठूलो अन्तर हुने गर्दछ । खेलाडीहरूमा पनि लियोनल मेसी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोले खाने तलब एक महिला खेलाडीले पाउनेभन्दा सय गुणा बढी हुने गर्दछ । 

प्रकाशित: १९ भाद्र २०७७ ००:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App