७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

जोकोभिचलाई सफलता

विश्व नम्बर एक नोभाक जोकोभिचको घाँटीमा दुखाइ भए पनि संघर्षपूर्ण जित निकाल्दै वेस्टर्न एन्ड साउथर्न ओपनको तेस्रो चरणमा स्थान बनाएका छन् ।  

सोमबार राति भएको खेलमा लिथुवानियाका रिचार्डेस बेरन्किसलाई ७–६ (७–२) र ६–४ ले हराउँदै सर्बियन स्टार जोकोभिचले न्युयोर्कमा जारी वेस्टर्न एन्ड साउथर्न ओपनको तेस्रो चरणमा स्थान बनाएका हुन् । जोकोभिचले घाँटीमा पीडा बोक्दै संघर्षपूर्ण जित निकाल्दा विश्व नम्बर दुई डोमिनिक थिम भने दोस्रो चरणबाट बाहिरिएका छन् । अस्ट्रियन स्टार थिमले सर्बियाका फिलिप क्राइनोभिचसँग ६–२ र ६–१ को लज्जापूर्ण हार बेहोरे । तेस्रो चरणमा जोकोभिचले अमेरिकी स्टार टेनिज सन्डग्रेनसँग र क्राइनोभिचले हंगेरीका स्टार मार्टन फुकसोभिक्ससँग प्रतिस्पर्धा गर्नेछन् ।

आइतबार नै घाँटीमा समस्या भएकाले जोकोभिचले डबल्सतर्पmका प्रतिस्पर्धाबाट हात झिकेका थिए । सोमबारमा पनि सिंगल्सको प्रतिस्पर्धामा घाँटीमा समस्या भएपछि उनले बिली जिन किङ नेसनल टेनिस सेन्टर कोर्टमै उपचार गराएका थिए । ‘अहिले केही मात्रामा ठीक भएको छ,’ जितपश्चात् जोकोभिचले भने, ‘यो समस्या चार दिनदेखि भएको हो । तर, पनि जित निकालेर लक्ष्यअनुरूप नै अगाडि बढिरहेको छु ।’ अगस्ट ३१ देखि यसै मैदानको हार्ड कोर्टमा युएस ओपन हुने भएकाले जोकोभिचले यादगार सफलता हात पार्ने अनुमान गरिएको छ । जोकोभिच दोस्रो सेटमा दुई पटक पछि परेका थिए, तर उनले दुवै पटक अग्रता तोड्दै सफलता निकाले ।  

सेरेनाको संघर्ष
महिलातर्फ पूर्वविश्व नम्बर सेरेना विलियम्सले संघर्षपूर्ण जित निकाल्दा विश्व नम्बर तीन कारोलिन प्लिसकोभा र चारकी सोफिया केनिन भने बाहिरिएका छन् । २३ पटक ग्रान्ड स्लाम विजेता सेरेनाले क्वालिफायरमार्फत प्रतिस्पर्धा गरेकी डच स्टार एरन्टा रसलाई ७–६ (८–६), ३–६ र ७–६ (७–०) ले पराजित गरिन् । ‘खेल निकै प्रतिस्पर्धात्मक रह्यो । त्यो खेल साँच्चै नै फिजिकल रूपमा प्रतिस्पर्धा थियो,’ विश्व वरीयतामा ९ स्थानकी सेरेनाले भनिन्, ‘म पनि फिट र तयारी अवस्थामै छु ।’ पाँचौं वरीयताकी अर्याना साबालेन्काले अमेरिकी सिसी बेलिसलाई ६–७ (१–७), ६–४ र ७–५ ले हराइन् । दुई पटककी ग्रान्ड स्लाम विजेता पेत्रा केभितोभाले पराजय भोग्दा ब्रिटेनकी जोहान्ना कोन्टा तेस्रो चरणमा स्थान बनाउन सफल भएकी छन् । 

प्रकाशित: १० भाद्र २०७७ ०४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App