५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

क्यानडामा निखारिँदै नरेश

एक समय ओपनिङ ब्याट्सम्यानको परिचय बनाएका नरेश बुढाऐर २०१४ यता राष्ट्रिय क्रिकेट टोलीमा छैनन् । राष्ट्रिय टोलीमा स्थान पाउन निकै संघर्ष गर्ने समयमा उनी आफ्नो खेल निखार्न क्यानडा गएका छन् । तत्कालीन प्रशिक्षक पुबुदु दशानायकेले नरेशलाई स्थान दिँदै आफ्नो क्यानेडियन क्लब ब्लुमफिल्ड क्रिकेट एकेडेमीमा सहायक प्रशिक्षकको जिम्मा दिएका छन् ।  

केही महिनाको अन्तरालमा पुबुदुले शीर्ष श्रेणीका खेलाडीलाई प्रशिक्षण दिन्छन् भने युथ टोलीलाई नेपालका नरेशले सम्हाल्दै आएका छन् । उनकै क्लबमा आबद्धमध्येका दुई खेलाडीले क्यानडाको यु–१९ टोलीमा स्थान पाइरहेका छन् । उनीहरूको प्रदर्शनबाट युथ टोलीले क्यानडामा राम्रो नतिजा पनि निकालिरहेको छ । हाल पुबुद न्यु जर्सीको टोली प्रशिक्षकमा नियुक्त भएका छन् ।  

टोलीका अन्य सदस्य स्वदेशमा नै राष्ट्रिय टोलीका लागि संघर्ष गरिरहेका छन् । तर नरेश भने आफ्नो खेल सुधार्न आफू क्यानडा आएको बताउँछन् ।  

‘राष्ट्रिय टिममा पर्न निकै मिहिनेत र संघर्ष गर्नुपर्ने थियो । म आफंैले मूल्याङ्कन गर्दा मेरो खेल मध्यमजस्तो लाग्छ,’ तत्कालीन प्रशिक्षक रोय डायसले राष्ट्रिय टोलीमा कल गरेका धनगढीका नरेशले भने, ‘राष्ट्रिय टिममा अवसर पर्खिंदा समय पनि बित्थ्यो । बंगलादेश  

ट्वान्टी–२० विश्वकपपछि मलाई राष्ट्रिय टोलीमा फर्किन कठिन महसुस हुन थाल्यो । त्यही समयमा प्रशिक्षक बन्ने प्रस्ताव आयो । क्यानडाको अवसरलाई सदुपयोग गर्ने सोच बनाएँ ।’

‘अझै राष्ट्रिय टोलीमा रहेर देशको प्रतिनिधित्व गर्ने मन छ । यसका लागि मैले क्यानडा बसाइलाई करियर विकासको रूपमा प्रयोग गर्दै छु । दुई वर्षको सम्झौता बाँकी नै छ ।’

१५ वर्षको उमेरदेखि नै ब्याट समाउँदै क्रिकेटमा साइनो गाँसेका नरेशले राष्ट्रिय टोलीमा मात्र होइन नेपालको युथ टोलीमा समेत देशको प्रतिनिधित्व गरिसकेका छन् । उनले हाल राष्ट्रिय टोलीमा रहेका विनोद भण्डारी, सुवास खकुरेलजस्ता खेलाडीसँग युथ प्रतियोगिता खेल्दै अनुभव सँगालेका थिए । २००९ मा युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको एसिसी  

ट्वान्टी–२० कपमा देशको प्रतिनिधित्व गर्दा बहराइनसँगको खेलमा डेब्युको मौका पाए पनि नरेशले सिंगापुरसँगको खेलमा मात्र ब्याटिङको अवसर पाए । बहराइनसँग उनको ब्याटिङ पालो नआउँदा सिंगापुरसँगको खेलमा क्रिज प्रवेश गरेका थिए । १२ टोलीको सहभागिता रहेको प्रतियोगितामा नरेशको प्रदर्शन निकै उत्कृष्ट थियो । सोही प्रतियोगिताअघि जिल्ला र क्षेत्रीय प्रतियोगितामा आफ्नो कौशल देखाइसकेका नरेश राष्ट्रिय टोलीको बाटो कठिन भएको भन्दै झन्डै क्रिकेटलाई बिट मार्ने सोचमा थिए । २००९ मा क्षेत्रीय ट्वान्टी–२० खेल्न काठमाडौं आउँदा उत्कृष्ट प्रदर्शनको आधारमा राष्ट्रिय टोलीमा छनोट भएपछि क्रिकेटको करियर सोझिएको बताए । ‘जिल्ला र क्षेत्रीय प्रतियोगितामा धेरै खेलें । राष्ट्रिय टोलीमा स्थान पाउन मेरो व्यक्तिगत हिसाबमा त्यति सहज थिएन । खेलमा बिट मार्ने सोच बनाइसकेको थिएँ,’ २९ वर्षीय नरेशले भने, ‘राष्ट्रिय टोलीमा स्थान पाएपछि मेरो सोच नै बदलियो । त्यसपछि २०१४ सम्म टोलीमा परिरहें । क्रिकेटको माहोल पनि बन्यो । प्रतिस्पर्धा हुँदै पनि गयो ।’

धनगढीका शक्ति भण्डारी, योगेन्द्र  खड्का, अर्जुन  खड्काजस्ता खेलाडीको सिनियर प्रेरणाबाट क्रिकेटमा लगाव राखेका नरेशले राष्ट्रिय टोलीमा स्थान पाएपछि जिन्दगीमा अरू विधामा मन नगएको  प्रतिक्रिया दिए ।  

‘राष्ट्रिय टोलीमा स्थान पाएपछि खेल र खेलाडीको महत्व झनै बढ्यो । राष्ट्रिय जर्सीले गौरवबोध भएजस्तो लाग्यो,’ डिभिजन लिगमा समेत अनुभव बटुलेका नरेशले थपे, ‘क्रिकेटमा परिचय बनेपछि अन्य विधामा मन लाउन सकिनँ । क्रिकेट नै मेरो नशा बन्यो । स्थिर रहन पनि कठिन भयो । क्रिकेटबाट केही गर्छु भन्ने अठोट बनाएँ र पुबुदुको प्रस्तावमा राजी भएँ ।’

२०१२ मा यु–१९ विश्वकप अस्ट्रेलियामा हुँदा उनीसँगै सुवास खकुरेल, सागर पुन, पृथु बास्कोटा, राहुल विश्वकर्मा टोलीका सदस्य थिए । न्युजिल्यान्डविरुद्धको खेलमा शतक प्रहार गर्दै नरेशले नेपाली क्रिकेटको युवा पुस्ताको उदय उज्ज्वल रहेको संकेत गरेका थिए । सोही प्रदर्शन र अन्य प्रतियोगिताको प्रदर्शनका आधारमा राष्ट्रिय टोलीमा उनको नाम निकै चर्चित रह्यो । त्यसपछि उनले ओपनिङ ब्याट्सम्यानका रूपमा नेपालको इनिङ्सलाई सम्हाल्ने काम गरे । नेपालको ओपनिङ सधैं आलोचित भइरहेको अवस्थामा उनको प्रदर्शनले पनि त्यो पूरा गर्न सकेन । अझै पनि नेपाली क्रिकेटको ओपनिङ समस्या जारी छ । यद्यपि घरेलु प्रतियोगिताबाट राष्ट्रिय टोलीको छनोट मापदन्ड निर्धारण भएको अवस्थामा स्वदेश फर्किएर प्रतिस्पर्धा गर्दै देशबाट खेल्ने सोचमा नरेश छन् ।  

‘मेरो अनुकूलमा घरेलु प्रतियोगिता भए म अवश्य नेपाल आएर प्रतियोगिता खेल्छु,’ नरेशले थपे, ‘अझै राष्ट्रिय टोलीमा रहेर देशको प्रतिनिधित्व गर्न मन छ । यसका लागि मैले क्यानडा बसाइलाई करियर विकासको रूपमा पनि प्रयोग गर्दै छु । दुई वर्षको सम्झौता बाँकी नै छ ।’

नरेशको समयमा राष्ट्रिय टोलीको अवस्था र अहिलेको अवस्था फरक छ । नेपाल क्रिकेट संघमा नयाँ नेतृत्व आएको छ । नेपालले एकदिवसीय मान्यता पाइसकेको छ । टोलीले आइसिसीका धेरै प्रतियोगिताबाट अनुभव लिइसकेको छ । बंगलादेश विश्वकपपछि नरेशले राष्ट्रिय टोलीमा फर्किने मौका पाएका छैनन् । क्यानेडियन क्लबमा २ वर्षको सम्झौता गरेका नरेश स्वदेशमा नै फर्किएर केही गर्ने सोच बुनिरहेका छन् ।  

‘क्यानडा बसाइ राम्रो छ । तर साथीभाइ, सम्बन्ध यहाँ नेपालमा जस्तो छैन,’ ब्लुमफिल्ड क्रिकेट एकेडेमीमा दुईवर्षे सम्झौता गरेका नरेशले भने, ‘यहाँ आफ्नो जस्तो हुँदैन । सबथोक छ । तर पनि के नपुगेजस्तो हुन्छ । क्रिकेटमा नै रहिरहन नयाँ जिम्मेवारी पाएको छु र मेरा लागि अवसर पनि हो । यसैलाई पूरा गरेर नेपालमा फर्किएर केही गर्न मन छ ।’

प्रकाशित: ४ भाद्र २०७७ ०५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App