७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

जोकोभिचले क्ले कोर्टमा खेल्ने

शीर्ष वरीयताका टेनिस खेलाडी नोभाक जोकोभिचले क्ले कोर्टबाट व्यावसायिक प्रतिस्पर्धामा फर्किने उल्लेख गर्दै नयाँ मिति तय भएको ग्रान्ड स्लाम फ्रेन्च ओपन खेल्ने बताएका छन् ।

तत्कालै टेनिसको सिजन फर्काउने योजनाको विपक्षमा देखिएका सर्बियन स्टार जोकोभिचले आगामी सेप्टेम्बरदेखि हुने फ्रेन्च ओपन खेल्ने योजना बनिरहेको बताएका हुन् । सोही महिना नै हुने अर्को ग्रान्ड स्लाम युएस ओपनमा भने सहभागी नहुने विचार गरिरहेको जोकोभिचको भनाइ छ । यसअघि नै विश्व टेनिसका दुई स्टार जोकोभिच र राफाइल नाडालले तत्कालै खेल फर्काउने र युएस ओपन सञ्चालन गर्ने दुवै योजनाको विपक्षमा मत राख्दै आइरहेका छन् । उनले न्युयोर्कमा हुने ग्रान्ड स्लाम नखेल्ने योजनाको पछाडि त्यहाँ देखिएको कोरोना भाइरसको चरम महामारी नै कारण रहेको प्रस्ट्याएका छन् ।

‘धेरै जसो खेलाडीसँग मैले छलफल गरेको थिएँ । उनीहरूमध्ये धेरै युएस ओपन खेल्ने योजनामा सहमत छैनन्,’ जोकोभिचले भने, ‘यदि मेरो धारण बुझ्न चाहनुहुन्छ भने  सेप्टेम्बरमा हुने क्ले कोर्टको प्रतिस्पर्धा खेल्ने सम्भावना धेरै छ ।’ अधिकांश खेलसँगै टेनिस पनि कोभिड–१९ का कारण मार्चदेखि नै प्रभावित भएको थियो । धेरैजसो खेल आगामी जुलाईसम्मका लागि टालिएको थियो । यसै महिनाको अन्तिम हप्तातिर सञ्चालनमा हुने फ्रेन्च ओपनले पनि सेप्टेम्बरमा नयाँ मिति तय गरेको थियो । अर्को ग्रान्ड स्लाम विम्बल्डन भने सन् १९४५ पश्चात् पहिलो पटक सिजन नै रद्द हुन पुग्यो ।

युएस टेनिस एसोसिएसनले आगामी हप्ता नै युएस ओपन सञ्चालनबारे निर्णय लिने सम्भावना छ । आगामी अगस्ट ३१ देखि मुख्य प्रतिस्पर्धा सुरु हुनेछ । पे्रmन्च ओपन भने सेप्टेम्बर २० बाट सुरु गर्ने तालिका रहेको छ । जोकोभिचले यदि युएस ओपन खेलाइन्छ भने सम्भावित सावधानी अपाउनुपर्ने औंल्याउँदै ती योजनामा खेलाडीहरू खेल्न नचाहने बताएका छन् । युएस ओपन सञ्चालन हुँदा अमेरिकाभन्दा बाहिरबाट आएका खेलाडीले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने, कोर्टमा सहजै खेलाडीहरू प्रशिक्षण गर्न जान नपाउने, एक प्रतिस्पर्धामा खेलाडीका सहयोगी हुन नहुने र खेलाडीहरू मैदाननजिकैको होटलमा बस्नुपर्नेलगायत अन्य बाध्यकारी अवस्थालाई मान्न खेलाडीलाई कठिन हुने बताएका छन् ।

‘चरम स्थितिमा खेल्ने गाह्रो हुनेछ,’ जोकोभिचले भने, ‘त्यसैले अहिले खेल्न उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन ।’ कोरोना भाइरसको महामारीकै कारण यसअघि नै यस सिजनका तीन ग्रान्ड स्लाम प्रभावित भइसकेका छन् । यद्यपि, एटिपीले युएस ओपन भने सञ्चालन गर्ने योजना बनाउँदा यो सिजनमा क्षति केही कम गर्ने प्रयास जारी राखेको छ । तर, टेनिसका शीर्ष खेलाडी जोकोभिच र नाडाल भने सिजन फर्काउने योजनाको विपक्षमा देखिएका छन् र उनीहरू फेडेरेसनको उपायमा सहमत छैनन् ।

नाडालले पनि वर्तमान स्थितिमा अघि बढ्नु भनेको युएस ओपन खेल भन्ने प्रस्ताव रहेको बताएका थिए । ‘जबसम्म सुरक्षित हुनेछौं भन्ने वातावरण सिर्जना हुँदैन त्यति बेलासम्म खेल फर्काउनुहुन्न र सबै खेलाडीको स्वास्थ्य सुरक्षामा ध्यान दिनु नै उत्तम र जायज हुनेछ,’ नाडालले भने, ‘यदि मलाई युएस ओपन खेल्न आग्रह हुन्छ भने म इन्कार गर्नेछु ।’ नाडाल र जोकोभिचका समकक्षी खेलाडी रोजर फेडेरर चोटका कारण यस वर्षको बाँकी सिजनबाहिर रहने भएका छन् ।

खुट्टाको चोटका कारण फेडेरर यस वर्षको बाँकी सिजन कोर्टबाहिर रहने पक्का भएको हो । २० पटकका ग्रान्ड स्लाम विजेताले गत फेब्रुअरीमा शल्यक्रिया गरेका थिए । पुनस्र्थापनाको क्रममा रहेका फेडेररले आफूलाई चोटको महसुस भएको बताएका छन् । कोरोना भाइरसका कारण व्यावसायिक टेनिस मार्चबाट स्थगित अवस्थामा रहेको छ ।

‘सन् २०२१ बाट कोर्टमा फर्कन उत्सुक छु,’ ३८ वर्षे स्विस स्टार फेडेररले ट्विटरमा उल्लेख गरेका छन् । गत जनवरीमा अस्ट्रेलियन ओपनको सेमिफाइनलमा जोकोभिचसँग पराजित भएपछि फेडेरर खेलमा देखिएका छैनन् । चोटका कारण उनले सन् २०१६ को सिजनका अधिकांश खेल पनि गुमाउनुपरेको थियो । चोटबाट फर्किएपछि फेडेररले अस्ट्रेलियन ओपन र विम्बल्डनको उपाधि जितेका थिए । बुधबार ट्विटरमार्पmत उनले पुनस्र्थापनाको क्रममा नराम्रो झट्का महसुस भएको उल्लेख गरेका थिए ।

प्रकाशित: ३० जेष्ठ २०७७ १२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App