२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

च्यासलको खराब लय निरन्तर

जावलाखेलले गोल गर्दा निराश च्यासलका सुनिल बल(निलो)। तस्बिर सौजन्यः एन्फा

काठमाडौं – राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लब लगातार दुई खेलमा पराजित हुँदा ‘ए’ डिभिजन लिगमा एक सय खेल पूरा गरेको ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले हिमालयन शेर्पामाथि साँघुरो जित निकालेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई २–० ले पराजित गर्दा दिनको दोस्रो खेलमा बिबिसीले हिमालयन शेर्पालाई १–० ले पराजित गरेको हो।

सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको पहिलो खेलमा जावलाखेलले च्यासल युथ क्लबलाई हराउँदै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। चौथो चरणको खेल सम्पन्न हुँदा जावलाखेल युथ क्लब अपराजित रहेको छ। दुईमा जित र एकमा बराबरी खेलको जावलाखेल ८ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको हो। साबिक च्याम्यिन मनाङ मस्र्याङ्दी १० अंकसहित तालिकाको पहिलो स्थानमा अटाउँदा राष्ट्रिय खेलाडीले भरिएको मच्छिन्द्र ९ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। उता पराजित च्यासलको भने ४ अंक छ। चार खेलबाट एक जित र एक बराबरी खेलेको च्यासलले दुई खेलमा नतिजा सुम्पिएको छ।

चार खेलबाट दोस्रो जित निकालेको जावलाखेलले लिगमा मंगलबार अपराजित यात्रालाई निरन्तरता दिँदा च्यासल भने लगातार दुई खेलमा पराजित भएको हो। जावलाखेलले यसअघि भएका खेलमा सरस्वतीलाई हराएको थियो भने थ्री स्टार र संकटासँग बराबरी खेल्दै अंक बाँडेको थियो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जावलाखेल युथ क्लबका रूपबहादुर लामा र विजय घलानले एक÷एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जावलाखेलले अन्तिम ९ मिनेट बाँकी रहँदा गोल गर्दै जित निकालेको हो। ८१औं मिनेटमा विजय घलानले दिएको पासलाई रूपबहादुर लामाले सदुपयोग गरेका हुन्।  १८ यार्ड टाढाबाट हानेको कडा सट सोझै गोलमा परिणत हुँदा च्यासल गोलकिपर एलन न्यौपानेले पत्तै पाएनन्। त्यसको दुई मिनेटपछि जावलाखेलका लागि विजय घलानले गोल गर्दै टोलीको जितलाई निश्चित बनाएका थिए। त्यसपछि च्यासल खेलमा फर्किन संघर्ष गरे पनि सफल हुन सकेन।

यसअघि दुवै टोलीले पहिलो हाफमा पाएका राम्रा अवसरलाई सदुपयोग गर्न सकेनन्। ३४औं मिनेटमा सुनील बलको फ्रिकिक प्रहार अनमार्कमा रहेका छिरिङले सदुपयोग गर्न नसक्दा च्यासलले अग्रता लिने सुनौलो अवसर गुमाएको थियो। ४१औ मिनेटमा पेनाल्टी बक्सभित्र पाएको बल च्यासलका सन्तोष साहुखलले सदुपयोग गर्न सकेनन्। यससँगै १ सय गोल पूरा गर्नबाट सन्तोष अझै टाढै रहे। ४४आंै मिनेटमा जावलाखेलका फोफे फोफानाले सिक्स यार्डभित्र सुजित बुढाथोकीलाई दिएको पास गोलमा परिणत हुन सकेन। ५१औं मिनेटमा च्यासलका जापानी खेलाडी ताइजा नाकामुराले १८ यार्डबाट हानेको प्रहार पोस्टमाथिबाट  बाहिरियो। ७०औं मिनेटमा जावलाखेलका रूपबहादुर लामाको प्रहार च्यासलका गोलकिपर एलन न्यौपानेले उत्कृष्ट बचाउ गरे। खेलमा जवालाखेल युथ क्लबका रूपबहादुर लामा म्यान अफ दी म्याच घोषित भए। उनले नगद १० हजार रुपैयाँ हात पारे।

अपराजित यात्रालाई मंगलबार पनि निरन्तरता दिएको जावलाखेल युथ क्लबका प्रशिक्षक नरेश थापाले स्पष्ट जितले टिमको मनोबल बढेको बताए।

‘३ अंकले टोलीलाई धेरै फाइदा पुगेको छ।  आगामी दिनमा यसलाई सुधार गर्दै अझ राम्रो गरेर शीर्ष ६ भित्र अटाउने लक्ष्य पूरा हुने देखिएको छ,’ जावालखेलका प्रशिक्षक थापाले भने, ‘बलियो टोलीविरुद्ध पनि हामीले राम्रो खेल्यौं। दबाब दिएर खेल्दा अंक निकाल्न सफल भयौं। अबको दिनमा टिम अझै राम्रो बन्नेछ।’

उता लगातार दुई खेलमा पराजित भएपछि च्यासलका मुख्य प्रशिक्षक बालगोपाल साहुखलले खेल नियन्त्रणबाहिर जाँदा हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए।

‘जावलाखेलसँग टोली दबाबमा रहेर खेल्यो। रणनीतिक हिसाबले हामीले खेल्न सकेनौं। टिमको डिफेन्स कमजोर देखियो। खेलाडीमा पनि स्फुर्ति देखिएन,’ च्यासलका प्रशिक्षक साहुखलले भने, ‘खेल राम्रो भएन। नियन्त्रणभन्दा बाहिर रह्यो। सही ठाउँमा पास उपलब्ध हुन सकेन।’

लिगअन्तर्गत मंगलबारै सम्पन्न दिनको दोस्रो खेलमा बिबिसीलाई जित दिलाउन विजय गुरुङले १७औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो। त्यसपछि हिमालयन शेर्पा खेलमा फर्किन संघर्ष गरे पनि सफल हुन सकेन। जितपछि बिबिसी तालिकाको छैटौं स्थानमा उक्लिएको छ। ६ अंक जोडेको बिबिसीले यसअघि एक खेलमा जित र दुई खेलमा नतिजा सुम्पिएको थियो।

लिगमा बुधबार पहिलो खेल एन्फा कम्प्लेक्समा संकटा र विभागीय टोली नेपाल पुलिस तथा दिनको दोस्रो खेल अर्को विभागीय टोली त्रिभुवन आमी र थ्री स्टारबीच एन्फा कम्प्लेक्समा नै हुनेछ।

प्रकाशित: १६ पुस २०७६ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App