२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

वेस्ट इन्डिजले आर्चरको आक्रमण झेल्ने

लन्डन – वेस्ट इन्डिजका प्रशिक्षक कोरे कोलिमोरले आफ्ना ओपनर क्रिस गेल इङ्ल्यान्डका बलर मार्क उड र जोर्फा आर्चरको आक्रमण निस्तेज पार्न सक्षम रहेको प्रतिक्रिया दिएका छन्। युनिभर्सल बोसको उपनाम पाएका गेलले यसअघि नै जारी विश्वकपपछि एकदिवसीय क्रिकेटबाट संन्यास लिने घोषणा गरिसकेका छन्। त्यसैले गेल आफ्नो पाचांै विश्वकप सहभागितालाई यादगार बनाउन चाहन्छन्। ‘क्रिस कुनै पनि बलरमाथि हाबी हुन र सजिलै रन जोड्न सक्षम छन्। उनी १६ वर्ष हुँदादेखि नै म उनलाई राम्रोसँग चिन्दछु,’ कोलिमोरले भने, ‘उनी सधंै चुनौतीको सामना गर्न तयार रहन्छन्। उनी  सधै तीव्र गतिका बलरमाथि हाबी हुने गर्दछन्। म गेलले आफ्नो लयअनुसारको स्वाभाविक प्रदर्शन गर्दै आफूलाई पुनः एक पटक प्रमाणित गरेको हेर्न चाहन्छु। मैले आर्चर र उडको बलिङ पनि देखेको छु।’ ‘उड र र आर्चरले प्रभावशाली प्रदर्शन गर्दै आइरहेका छन्,’ कोलिमोरले थपे।

उनले कप्तान जेसन होल्डर, ओसामाने थोमस, आन्द्रे रसेल, सेल्डन कोर्टेल र सानोन ग्याब्रियल सम्मिलित तीव्र गतिको बलिङ आक्रमण इङ्ल्यान्डलाई रोक्न सक्षम भएको समेत बताए। ‘हामीसँग पनि विश्वस्तरीय बलर छन्, जो इङ्ल्यान्डका बलरलाई दबाबमा राख्न सक्षम छन्। त्यसैले इङ्ल्यान्डविरुद्धको खेल प्रतिस्पर्धात्मक हुनेमा म आशावादी छु,’ कोलिमोरले भने। पहिलो खेलमा पाकिस्तानलाई हराएको वेस्ट इन्डिज दोस्रो खेलमा भने साबिकको विजेता अस्ट्रेलियासँग निराश भएको थियो। दक्षिण अफ्रिकाविरुद्धको तेस्रो खेलमा वर्षा बाधक बनेको थियो। वेस्ट इन्डिजको ३ खेलमा ३ अंक छ र टोली छैटांै स्थानमा छ। त्यसैले शुक्रबार आयोजकलाई निराश पार्दै वेस्ट इन्डिज शीर्ष ४ मा बस्दै अन्तिम ४ प्रवेश सम्भावना जीवित राख्न चाहन्छ।

यता शीर्ष ब्याट्सम्यानको उत्कृष्ट लय र अलराउन्डर बेन स्टोक्सको प्रदर्शनबाट होैसिएको इङ्ल्यान्ड पनि तेस्रो जितका साथ सेमिफाइनल प्रवेश सम्भावना जीवित राख्न चाहन्छ। तर जस बट्लर चोटका कारण खेल्नेमा दुबिधा भएकाले इङ्ल्यान्ड केही दबाबमा हुने निश्चित छ। बट्लर बंगलादेशविरुद्धको खेलमा घाइते भएका थिए। लयमा देखिएका बट्लरले पछिल्लो तीन खेलमा क्रमश १८,१ सय ३  र ६४ रन जोडेका छन्। त्यसैले वेस्ट इन्डिजविरुद्ध बट्लरको स्थानमा ओपनर जोनी बेयरस्टोले इङ्ल्यान्डको विकेटकिपङ सम्हाल्ने सम्भावना प्रबल छ। बट्लर मैदानबाहिर रहे जेम्स भिन्सेले टोलीमा आगमन गर्न सक्नेछन्।

बंगलादेशविरुद्ध १ सय ६ रनको जित हात पारेको खेलमा मैदानबाहिर रहेका अलराउन्डर मोइन अली वेस्ट इन्डिजको खेलमा भने मैदान फर्किने छन्। पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको इङ्ल्यान्ड दोस्रो खेलमा भने पाकिस्तानसँग निराश भएको थियो। इङ्ल्यान्डका तीन खेलाडीले जारी प्रतियोगितामा शतक पूरा गरिसकेका छन्। पाकिस्तानविरुद्ध जो रुट र बट्लर तथा बंगलादेशविरुद्धको खेलमा ओपनर जेसन रोयले शतक पूरा गरेका थिए। इङ्ल्यान्डले तेस्रो खेलमा बंगलादेशलाई निराश पारेको थियो। इङ्ल्यान्ड ३ खेलमा ४ अंकका तेस्रो स्थानमा छ। शीर्ष ब्याट्सम्यानको उत्कृष्ट लय र अलराउन्डर बेन स्टोक्सको प्रदर्शनबाट होैसिएको इङ्ल्यान्ड तेस्रो जितका साथ सेमिफाइनल प्रवेश सम्भावना जीवित राख्न चाहन्छ।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App