१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

रिजर्भ डे तत्काल सम्भव छैन : आइसिसी

ब्रिस्टोल – वर्षाका कारण लगातार खेलहरू प्रभावित भएसँगै प्रतियोगितामा रिजर्भ डेको माग भैरहँदा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले भने तत्काल यो व्यस्था गर्न असम्भव रहेको प्रतिक्रिया दिएको छ। ‘केही खेलमा वर्षा बाधक बनेको छ र सहभागी टोलीबाट रिजर्भ डेको माग हुनु स्वाभाविक हो। तर तल्कालका लागि यो व्यवस्था गर्न कठिन छ,’आइसिसीले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसअघि मंगलबार श्रीलंकाविरुद्धको खेल वर्षाका कारण रद्द भएसँगै अंक बाँड्न बाध्य बंगलादेशका प्रशिक्षक स्टिभ रोड्सले विश्वकपको समूहचरणमा रिजर्भ डेको व्यवस्था हुनुपर्ने प्रतिक्रिया दिएका थिए। १९९२ र २००३ को विश्वकपमा समान २ खेल वर्षाका कारण रद्द गरिएको थियो। इङ्ल्यान्डमा जारी विश्वकपमा समूहचरणका खेल जारी रहँदा हालसम्म ४ खेल वर्षाका कारण रद्द भइसकेका छन्। हालसम्म श्रीलंका र पाकिस्तान, वेस्ट इन्डिज र दक्षिण अफ्रिका श्रीलंका र बंगलादेश तथा भारत र न्युजिल्यान्डबीचका खेल वर्षाका कारण रद्द भएका छन्।

त्यसमध्ये श्रीलंका र बंगलादेश तथा श्रीलंका र पाकिस्तान तथा भारत र न्युजिल्यान्डबीचका खेल एक बल पनि नफाली रद्द भए भने दक्षिण अफ्रिका र वेस्ट इन्डिजविरुद्धको खेलमा मात्र ७.३ ओभर सम्भव भएको थियो। यद्यपि आइसिसीले सेमिफाइनलका दुई खेल र जुलाई १४ मा लर्ड्समा हुने फाइनलका लागि भने रिजर्भ डेको व्यवस्था गरेको छ। ‘समूहचरणमा पनि रिजर्भ डेको व्यवस्था गरिनुपर्दछ,’ इङ्ल्यान्डका पूर्वविकेटकिपर समेत रहेका रोड्सले भनेका थिए, ‘इङ्ल्यान्डमा अझै वर्षाको सम्भावना छ। यो आयोजकहरूका लागि पनि टाउको दुखाइको विषय हो। किनभने उनीहरूले ४६ दिनमा ४८ खेल खेलाउनुपर्नेछ।’ बंगलादेशले जुन १७ मा वेस्ट इन्डिजको सामना गर्नेछ।‘मानिस चन्द्रमामा जान सक्छन् भने हामीले विश्वकपमा रिजर्भ डेको व्यवस्था गर्न किन सक्दैनौं ?,’ रोड्सले आक्रोश पोखेका थिए, ‘‘महिना दिन लामो प्रतियोगितामा रिजर्भ डेको व्यवस्था किन गरिएन।’

रोड्सको प्रतिक्रियामा समर्थन जनाउँदै श्रीलंकाका कप्तान दिमुथ करुणारत्नेले भनेका थिए ,’‘यो सहज छेैन तर यस्तो व्यवस्था भएमा त्यो सबै टोलीका लागि फाइदाजनक बन्नेछ।’ २०१७ मा इङ्ल्यान्डमै सम्पन्न च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड र बंगलादेशविरुद्धको खेल वर्षाका कारण रद्द हुनुका साथै इङ्ल्यान्डसँगको खेल डर्कवर्थ लुइस पद्धतिमा गुमाएसँगै अस्ट्रेलिया सेमिफाइनल प्रवेशबाट वञ्चित बनेको थियो। ‘मौसमले अबको केही दिनका खेलमा प्रभाव पार्ने प्रबल सम्भावना छ,’ अस्ट्रेलियाका कप्तान एरोन फिन्चले मंगलबार पाकिस्तानविरुद्धको खेलको पूर्वसन्ध्यामा भनेका थिए, ‘अर्को साताबाट भने मोैसममा सुधार हुनेछ। त्यस कारण प्रतियोगिता पूरै प्रभावित हुने सम्भावना न्यून छ। त्यसैले सुरुआती खेलहरूमै अंक जोड्दै शीर्ष ४ को होडमा बस्नु आवश्यक छ। हामी सबै खेल जित्न चाहन्छौं। हामी वर्षाका कारण रद्द भएका खेल टोली प्रतियोगिताबाट बाहिरिनुको प्रमुख कारण बनोस् भन्ने चाहँदैनांै।’

 

 

प्रकाशित: ३१ जेष्ठ २०७६ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App