१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

अझै विश्वस्त छैनन् ग्वार्डिओला

लन्डन– एफए कपको फाइनलमा पुगे पनि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अझ पनि मुख्य चारवटा प्रतियोगिताको उपाधि जित्न कठिन हुने बताएका छन्।

ब्राइटनलाई शनिबार १–० ले हराउँदै फाइनलमा पुगेको इङ्लिस च्याम्पियन क्लब सिटीका प्रशिक्षक ग्वार्डिओलाले आफ्नो टोलीलाई मुख्य चार प्रतियोगिताको उपाधि जित्न निकै कठिन हुने बताएका हुन्। ग्याब्रियल जेसिसको सुरुआती गोलका बावजुद सिटीले ब्राइटनको मैदान सिगुल्समा खासै राम्रो नतिजा निकाल्न सकेन। यद्यपि, सिटी पछिल्ला २३ खेलमा २२ जित निकाल्दै फाइनलमा पुग्न सफल भयो।

यससँगै ग्वार्डिओलाको टोलीले वेम्बलीको मैदानमा वाटफोर्ड र उल्भरह्याम्पटनबीचको विजेतासँग उपाधिका लागि आगामी मे १८ मा खेल्नेछ। इङ्लिस प्रिमियर लिगमा एक खेल कम खेलेको सिटी शीर्ष स्थानको लिभरपुलभन्दा दुई अंकले पछाडि छ। यद्यपि, एक खेल कम खेलेकाले सिटीसँग शीर्ष स्थानमा फर्किंदै उपाधि जित्ने बाटो सहजै छ। यसअघि गत फेब्रुअरीमा नै सिटीले लिग कपको फाइनलमा चेल्सीलाई हराउँदै उपाधि रक्षा गरिसकेको छ।

आगामी मंगलबार सिटीले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पनि टोटेनह्यामको सामना गर्दै छ। तर पनि सिटीका प्रशिक्षक ग्वार्डिओलाले यी मुख्य चार उपाधि जित्न चमत्कार नै हुनुपर्ने बताएका छन्। ‘हामीले चारै उपाधि जित्ने सम्भावना निकै कठिन छ,’ ग्वार्डिओलाले भने,‘यहाँसम्म आइपुग्नु पनि एक किसिमको चमत्कारजस्तै हो।’ ग्वार्डिओलाले यहाँसम्म आइपुग्नु नै खेलाडीहरूको अविश्वसनीय प्रदर्शनको नतिजा भएको उल्लेख गरेका छन्।

यति धेरै प्रतियोगिता खेल्दा खेलाडीहरूले चोट बोक्नु स्वाभाविक नै रहेको प्रशिक्षक ग्वार्डिओलाको भनाइ छ। ‘यद्यपि, हामी अन्तिम खेलसम्म चोटमुक्त हुने प्रयास गर्नेछौं,’ प्रशिक्षक ग्वार्डिओलाले भने। शनिबार सिटी र ब्राइटनबीचको खेलमा अनुशासनहीन गतिविधिका बावजुद सिटीका केयल वाल्कर र एलिरेजा जाहाबक्सलाई रातो कार्ड नदिनु  पनि निकै विवादित बन्यो।

ब्राइटनका प्रशिक्षक क्रिस हज्टनले समेत त्यो पूर्ण रूपमा रातो हुनुपर्ने बताएका थिए। ‘हामीले इमानदारीपूर्वक भन्नुपर्दा मेरा खेलाडी र वाल्कर दुवै कार्डको लायक नै थिए,’ प्रशिक्षक हज्टनले भने। सिटीले आगामी हप्तामा सर्जियो अग्विरोको साथमा टोटेनह्यामको नयाँ मैदानमा खेल्दै छ। ब्राइटनविरुद्ध पनि अर्जेन्टिनी स्ट्राइकर अग्विरो खेलेका थिएनन्।

सोही अवसरको सदुपयोग गर्दै जिससले गोल गरेका थिए। हेडमार्फत बललाई जाली चुमाएका जिससले सिजनको १८औं गोल पूरा गरेका थिए। ब्राजिलियन स्टार जिससले केभिन डी ब्रुएनाले दिएका कयौं अवसरहरूलाई सदुपयोग गर्न सकेनन्। सिटीले तेस्रो पटक सुरुआती पाँचौं मिनेटमै अग्रता लिएको थियो। यद्यपि, ब्राइटनमाथि पूर्ण रूपमा  भने हाबी हुन सकेन।

तर, प्रत्येक खेलमा फराकिलो नतिजा प्राप्त गर्न नसकिने भन्दै ग्वार्डिओलाले आफ्नो खेलाडीको बचाउ गरेका थिए। ‘यो सिजन हामीले ६० खेल खेलिसकेका छौं,’ ग्वार्डिओलाले भने, ‘सबै खेलमा ५–० को नतिजा निकाल्न सकिंदैन। त्यस्तो अवस्था सधैं हुन्छ भन्न सकिन्न।’

ग्वार्डिओलाले सेमिफाइनल र फाइनलको नतिजा निकै संघर्षपूर्ण हुने बताए। उनले आफ्ना खेलाडीले गोल कम गरे पनि आशालाग्दो रूपमा कयौं अवसर सिर्जना गरेको स्पष्ट पारेका थिए। यता, ब्राइटनले पनि बलियो सिटीविरुद्ध केही चुनौती बुनेको थियो । तर, सिटीका गोलकिपरले त्यसलाई विफल पारेका थिए।

प्रकाशित: २५ चैत्र २०७५ ०६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App