३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

साफ यु–२० च्याम्पियनसिप आजबाटः नेपालसहित सबैको लक्ष्य फाइनल

कुनै बेला उमेरसमूहका फुटबल प्रतियोगितामा नेपालको नतिजा सुखद हुने गर्दथ्यो। दक्षिण एसियालीस्तरमा नेपालले उत्कृष्ट मानिएका टोलीलाई चुनौती दिन ल्याकत राख्थ्यो। त्यसैले पनि नेपालको सामना गर्दा विपक्षी टोली सतर्क हुने गर्थे। तर, अहिले उमेरसमूहमा नेपाल त्यति शक्तिशाली देखिने गरेको छैन। औसत मानिएका भुटान, बंगलादेश, माल्दिभ्स र पाकिस्तानजस्ता प्रतिद्वन्द्वीसँग पनि नेपालले नतिजा निकाल्न संघर्ष गर्नुपर्ने अवस्था छ। दुई वर्षअघि बहराइनमा भएको एएफसी यु–२० एसियन कप छनोटमा भुटानसँग नेपाल २–० ले पराजित भएको बिर्सनलायक क्षण अझैँ ताजै छ।

बंगलादेशलाई पनि नेपालले ३–० नतिजा सुम्पिनु परेको थियो। गत वर्ष घरेलु मैदानमै भएको साफ यु–१९ मा पनि पाकिस्तानविरुद्ध १–० को नतिजा निकाल्न नेपाललाई हम्मेहम्मे पर्‍यो। यसपल्ट भने त्यो नतिजा सुधार गर्ने कसरतमा छ नेपाल। त्यो पनि साफ यु–२० उपाधि जितेर। यो यात्रा नेपालले आइतबार श्रीलंकासँगको खेलबाट गर्दै छ। ‘फुटबल हो, कसैलाई कमजोर मान्नु हुँदैन। सबै कोचको आफ्नो रणनीति र योजना हुन्छ। हाम्रो मानसिकता पनि यही छ। त्यसैले हाम्रो लक्ष्य ट्रफी घरमै राख्नेछ,’ मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ भन्छन्।

गत वर्ष घरेलु मैदानमै सम्पन्न साफ यु–१९ च्याम्पियनसिप खेलेका १२ खेलाडीलाई समेट्दै नेपालले यसपल्ट टोली बनाएको छ। उक्त टोलीको कप्तानी गरेका गोलकिपर जियारथ सेखसहित सीमान्त थापा, आश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिमल्सिना, कुशल देउवा, लक्षु थापा, हरिषराज भट्ट, अनिल बम्जन, समीर तामाङ र नीराजन धामीलाई उतार्नेछ। समीरले सर्वाधिक तीन गोल गरेका थिए। उक्त प्रतियोगितामा नेपाल पेनाल्टी सुटआउटमा भारतसँग ३–२ ले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो।

भारत यस पटक समूह ‘बी’ मा छ। यो समूहमा माल्दिभ्स र भुटान छन्। नेपाल रहेको समूह ‘ए’ मा श्रीलंकासँगै बंगलादेश छ। नेपालले यो प्रतियोगिताअघि चर्च ब्वाइज युनाइटेडसँग मैत्रीपूर्ण खेल खेलेको थियो। राष्ट्रिय टोलीमा खेलिसकेका खेलाडीविरुद्ध उत्रिँदा पनि नेपाली युवा टोलीको प्रदर्शन सन्तोषजनक छ। नेपाली यु–२० टोलीले चर्च ब्वाइजलाई ४–३ र १–० ले नतिजा सुम्पिएको थियो। त्यसैले ती प्रदर्शनले उच्च मनोबलसहित नेपाल घरेलु मैदानमा उत्रिनेछ। नेपाललाई यसपल्ट भाग्यले पनि साथ दिएको छ।

त्यो हो, करिब एक महिनाभन्दा बढी समय प्रशिक्षण गरेको मैदानमै प्रतियोगिता हुने भएको छ। त्यसैले पनि थप सहज हुने मुख्य प्रशिक्षक श्रेष्ठ बताउँछन्। ‘रंगशालाको घाँसे मैदानमा धेरै प्रशिक्षण गर्न पाएका थिएनौं। टर्फमा प्रशिक्षण गरेर घाँसे मैदानमा खेल्दा गाह्रो हुन्थ्यो। यसपल्ट यहीं खेल हुने भएकाले फाइदा पुग्छ भन्ने लाग्छ,’ श्रेष्ठ भन्छन्।

बलियो भारत

साफमा सबैभन्दा सफल टोली हो भारत। सिनियर महिला, पुरुष या उमेरसमूहमा भारतकै दाबेदारी हुने गर्दछ। यो उमेर समूहको टोलीले दुई वर्षअघि घरेलु भूमीमा सम्पन्न साफ यु–२० मा बंगलादेशलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको थियो।

यसबाहेक भारतले यु–१८ र यु–१९ को उपाधि पनि जितेको छ। त्यसैले भारत उपाधि रक्षा गर्ने लक्ष्यसहित नेपाल आइपुगेको छ। मुख्य प्रशिक्षक रञ्जन चौधरी भन्छन्, ‘हामी डिफेन्डिङ च्याम्पियन हौं। त्यसैले पनि प्रेरणा मिलेको छ।’ भारतले यो प्रतियोगिताका लागि दुई महिनादेखि नै प्रशिक्षण थालेको थियो। एएफसी यु–२० एसियन कपमा छनोट हुने लक्ष्य लिएको भारतले यो प्रतियोगितालाई तयारीका रूपमा लिएको छ। त्यसैले भारत यो प्रतियोगिता जित्न चाहन्छ।

इतिहास दोहोर्‍याउने लक्ष्यमा बंगलादेश

बंगलादेशलाई नेपाली भूमि निकै फाप्छ। दुई वर्षअघि महिला साफ च्याम्पियनसिपमा नेपाललाई ३–० ले हराउँदै पहिलोपल्ट उपाधि जितेको थियो।२०१८ मा नेपालमै भएको साफ यु–१८ मा पनि बंगलादेशले फाइनलसम्मको यात्रा तय गरेको थियो। यही सफलता दोहोर्‍याउन बंगलादेश उच्च मनोबलसहित नेपाल आएको छ। ‘नेपालको मैदान हाम्रा लागि लक्की छ। नेपालमै महिला टोलीले उपाधि जितेको थियो। हामी पनि उपाधि जित्न आएका हौं,’ कप्तान मोहम्मद मेहेदी हसन भन्छन्। बंगलादेश गत संस्करणको उपविजेता हो। यो टोलीमा यु–१९ टोलीका अधिकांश युवा खेलाडी छन्। यसपल्ट बंगलादेशको मुख्य प्रशिक्षक मारूफुल हक छन्। उनी युइएफए ‘ए’ लाइसेन्स पाउने पहिलो दक्षिण एसियाली प्रशिक्षक हुन्। करिब दुई हप्ताको छोटो तयारी गरे पनि उनी उपाधि जित्नेमा आशावादी देखिन्छन्।

महत्त्वाकांक्षी भुटान

कप्तान पेमा जाङ्पो भन्छन् ‘यसपल्ट भुटान सहभागिता मात्रै जनाउन आएको छैन, इतिहास बनाउन आएको छ।’ उसकै घरेलु टोली पारो एफसीले पनि गत हप्तान इतिहास बनाइसकेको छ।

यसअघि सिनियर स्तरमा कुनै पनि टोलीलाई पराजित गर्न नसकेको भुटानले एएफसी च्यालेन्ज लिग प्लेअफमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गरेको थियो। जापानी स्टार केइसुके होन्डासहित नौ विदेशी खेलाडी लिएर मैदान उत्रिएको पारोले पनि यो युवा टोलीविरुद्ध ३–२ को नतिजा निकाल्न संघर्ष गर्नुपरेको थियो। पेमा भन्छन्, ‘टोलीमा धेरै अनुभवी खेलाडी छन्, त्यसैले पारोलाई पनि चुनौती दिनसक्यौं।’ भुटान साफ यु–१९ मा पनि राम्रो प्रदर्शन गरेर फर्किएको थियो। उमेरसमूहमा दोस्रोपल्ट सेमिफाइनलसम्म पुगेको भुटान सडनडेथमा बंगलादेशसँग ६–५ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

आशावादी माल्दिभ्स

भुटानजस्तै माल्दिभ्स पनि प्रतियोगितामा सहभागी हुन मात्रै आएको छैन। मुख्य प्रशिक्षक अहमेद शाकिर भारतलाई उपाधि दाबेदार मान्छन्। आफ्नो टोली पनि फाइनल पुग्ने आशामा उनी छन्। ‘भाग लिन मात्र कोही आउँदैन। हामी उपाधि जित्न आएको हौं,’ उनले भने। गत संस्करणमा माल्दिभ्सले श्रीलंकालाई १–१ को बराबरीमा रोक्नुबाहेक अन्य उपलब्धि हासिल गर्न सकेको थिएन। यसपल्ट भने माल्दिभ्स करिब एक महिनाको तयारी गरेर आएको शाकिर बताउँछन्।

कमजोर श्रीलंका

विगतका नतिजा हेर्ने हो भने श्रीलंका प्रतियोगिताको सबैभन्दा कमजोर टोली हो। तर, श्रीलंकाको लक्ष्य पनि फाइनल खेल्ने नै छ। यसपल्ट श्रीलंकाले यसै प्रतियोगितका लागि एक महिनाको तयारी गरेको छ। मुख्य प्रशिक्षक देवसगायम राजमनीले अट्याकमा सुधार गरेको कप्तान मोहम्मद मुहैदीन मुहम्मेधु मुन्सिफको विश्वास छ।

प्रकाशित: २ भाद्र २०८१ ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App