१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

राखेपद्वारा खेलकुदको वार्षिक क्यालेन्डर सार्वजनिक

नेपालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएका र नभएका दुई सयभन्दा बढी संघ छन्। तर, ती संघ के गर्छन् ? के गर्दै छन् भन्ने कुरा खेलाडीलाई मात्रै होइन, खेलकुद संघको नियमन गर्ने निकाय राखेपलाई समेत थाहा हुँदैन।

त्यसैले सबैलाई दोधारको अवस्था सिर्जना गरिरहेको हुन्छ। यस्तै अवस्था सिर्जना नहोस् भनेर राखेपले आफू र संघहरूले गर्ने कार्यक्रम समेटेर मंगलबार वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

‘हामीले काम गरिराखेका थियौं, क्यालेन्डर बनाइरहेका हुन्थ्याैं। तर, पारदर्शी र जबाफदेही बन्ने गरी कार्यक्रम सार्वजनिक गर्न सकिरहेका थिएनौं। हामी सबैको तर्फबाट कमीकमजोरी भइरहेका थिए। त्यसैले सबै कार्यक्रमलाई देखाउने र जबाफदेही बन्ने अवस्थामा हामी आइपुगेका छौं,’ राखेप सदस्यसचिव टंकलाल घिसिङले भने।

सार्वजनिक क्यालेन्डरअनुसार राखेपले आर्थिक वर्ष २०८१-८२ मा ११ वटा कार्यक्रम गर्नेछ। पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघबाट आयोजित वर्ष उत्कृष्ट खेलाडी सम्मान, राखेपको वार्षिकोत्सव, राष्ट्रिय संघ सबलीकरण कार्यक्रम र प्रथम पारा राष्ट्रिय खेलकुदलगायतका कार्यक्रमहरू उसले गर्ने बताएको छ। यीमध्ये अधिकांश कार्यक्रम राखेपले गरिसकेको छ।

राखेपअन्तर्गत दर्ता भएका ३५ वटा राष्ट्रिय खेल संघले ६८ अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने वचन दिएका छन्। यस्तै, ४१ वटा राष्ट्रिय संघहरूमार्फत १२२ वटा कार्यक्रम आयोजना हुने सदस्यसचिव घिसिङले जनाए। तर, सीमित स्रोत साधनका कारण यति धेरै कार्यक्रम सञ्चालन गर्न संघहरू सक्षम छन् त ?

घिसिङ भन्छन्, ‘हामीले हामीलाई नै चुनौती दिएका हौं। घोषित कार्यक्रमहरू गर्ने दायित्व मेरो र म को हो भन्ने जिम्मेवारी बोध गराउन खोजेका हौं। हामी सबै सामूहिक रूपमा अपनत्व लिने स्थितिमा आइपुगेका छौं, लिन्छाैं।’

अन्तर्राष्ट्रिय संघहरूको आफ्नै क्यालेन्डर हुन्छ। ती क्यालेन्डरमा कुनकुन टोलीले उक्त प्रतियोगितामा सहभागिता जनाउने भन्ने स्पष्ट तोकिएको हुन्छ। त्यति मात्रै होइन उक्त क्यालेन्डरमा प्रतियोगिता हुने स्थान, मिति र समय तोकिएको हुन्छ।

यसरी स्थान, मिति र समय नदिएको खण्डमा सामाजिक सन्जालमार्फत पनि उनीहरूले सूचना प्रवाह गरिरहेका हुन्छन्। तर, नेपाली खेलकुदमा भने यसरी व्यवस्थित क्यालेन्डर बनाउने, कार्यक्रम सार्वजनिक गर्ने संघहरू विरलै छन्। यसले गर्दा प्रशिक्षक, खेलाडी र खेलप्रेमीमा अन्योल पैदा भइरहेको घिसिङ बताउँछन्।

‘अन्तर्राष्ट्रिय संघहरूले जस्तै काम हामीले गर्नुपर्छ। हामीले पछिल्लो समयमा कुनकुन मितिमा केके कार्यक्रम ग¥यांै? भनेर जानकारी सार्वजनिक गरिरहेका छौं। यही जानकारीलाई पनि व्यवस्थित बनाउँदै लगिरहेका छौं, सामाजिक सन्जालमार्फत जानकारी दिइरहेका छौं। आजको समयमा सूचना पाउने पहिलो प्लेटफर्म भनेकै वेबसाइट भएका कारण हामीले सबै संघका कार्यक्रमहरू यसैबाट समेट्ने प्रयास गरिरहेका छौं,’ उनले भने।

२०७८ मंसिर १३ गते राखेप सदस्य सचिवमा घिसिङ नियुक्त हुनुभन्दा अगाडि २०९ संघ दर्ता भएका थिए। ती संघहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त थिए। तर, नगण्यले मात्रै खेलकुद विकास ऐन २०७७ अन्तर्गत आफूले गर्नुपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रार्यक्रमहरू सञ्चालन गर्दै आएका थिए।

अहिले राखेपले त्यस्ता संघहरूलाई घटाएर ६१ मा झारेको छ। ६१ संघमध्ये अधिकांशले आफूले गर्नुपर्ने निर्वाचन, बनाउनुपर्ने क्यालेन्डरलगायत राखेपले दिएको निर्देशन पालना गरिरहेको उनी बताउँछन्। तर, संघ खोलेर केही नगर्ने परिपाटी भने अबको दिनमा अन्त्य हुने उनको भनाइ छ।

२०१५ सालमा स्थापना भएको राखेपमा एकताका भर्ना भएका ठूला पुराना जनशक्ति रहेका छन्। त्यसमा केही नयाँ जनशक्ति पनि थपिएका छन्। त्यसैले अनुभवी र नयाँ आएका दुवै जनशक्तिलाई प्रयोग गरेर परिषद्लाई परिस्कृत गर्नुपर्ने चुनौती रहेको उनी बताउँछन्। त्यसो गर्न सके आफूहरूले गर्नुपर्ने सबै काम गर्न सक्नेमा उनी आशावादी देखिन्छन्।

यही जनशक्ति प्रयोग गरेर राखेपले २०७९ असोज–कात्तिकमा गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राखेपले वेबसाइट र एप बनाएको थियो। उक्त प्लेटफर्ममा सहभागी खेलाडीको संख्या, प्रतियोगिता, खेलाडी र टोलीले जितेका पदकलगायतका जानकारी राखेपले सबैको पहुँच पुग्ने गरी राखेको थियो।

त्यस्तै, प्रतियोगिता सुरु हुनुभन्दा अगाडि अनलाइनबाट खेलाडी दर्ता गर्ने सुविधा पनि राखेपले उपलब्ध गराएको थियो। उक्त प्लेटफर्ममा रहेका विवरण अझै सुरक्षित रहेको उनी बताउँछन्।

त्यसबाहेक ‘एसियाडमा नेपाली खेलकुद’ भनेर प्रकाशकीय प्रकाशन गरेको र आगामी दिनमा ‘ओलम्पिकमा नेपाली खेलकुद’ भनेर प्रकाशकीय प्रकाशन गर्ने तयारीसमेत भइरहेको उनले बताए। राखेप यसरी प्रकाशन गरेका सामग्री र सूचनामा सबैको पहुँच पुग्ने गरी काम गरिरहेको उनी बताउँछन्।

प्रकाशित: २३ जेष्ठ २०८१ ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App