५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

देव र संस्कृतिको लगातार दोस्रो जित

देव स्कुल र संस्कृति इन्टरनेसनल स्कुलले जयकुमार नाथ शाह स्मृति यु-१६ ट्वान्टी २० अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन्।

शुक्रबार सम्पन्न खेलमा देवले गेटवे एकेडेमीलाई ६४ रन तथा संस्कृतिले त्रियोग हाई स्कुललाई तीन विकेटले हराए। जितसँगै समूह ‘बी’ को देवले दुई खेलबाट चार अंक जोडेको छ। पहिलो हार बेहोरेको गेटवेको समान खेलबाट दुई अंक छ।

मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा देवले दिएको २११ रनको लक्ष्य पछ्याएको गेटवेले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेटको क्षतिमा १४६ रन मात्र बनाउन सक्यो। गेटवेका लागि मुर्सिद इक्बालले ४५ बलमा ५०, सबिर अन्सारीले २५ र लक्ष्मण भुर्तेलले १३ रन बनाए।

देवको बलिङमा प्रसिद्ध जैसीले चार, कमल शाहीले दुई र कञ्जन आचार्यले एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको देवले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २१० रनको योगफल बनायो। देवका लागि प्रसिद्ध जैसीले ४८, किर्तिक ज्ञवालीले ४० र आयुश गुप्ताले ३१ रन बनाए।

गेटवेको बलिङमा साबिर अन्सारीले तीन, लक्ष्मण भुर्तेलले दुई र आर्यन सत्यालले एक विकेट लिए। जितसँगै समूह ‘ए’ को संस्कृतिले दुई खेलबाट चार अंक जोडेको छ। दुवै खेलमा पराजित त्रियोग अंकविहीन छ।

मूलपानी क्रिकेट मैदान (तल्लो) मा त्रियोगले दिएको १०६ रनको लक्ष्य संस्कृतिले १३ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो। संस्कृतिका श्रियाज श्रेष्ठले ३४, आर्युश राजभण्डारीले ११ र सूर्यान्श थापाले ११ रन बनाए।

त्रियोगको बलिङमा दिवस पाण्डेले चार तथा प्रनिल शर्मा र प्रयोश गुरुङले समान एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको त्रियोगले निर्धारित ओभरमा सात विकेट गुमाउँदै १०५ रनको योगफल बनायो।

त्रियोगको ब्याटिङमा प्रयोश गुरुङले ३०, सुलक्ष्य भट्टले १८ र उत्सव पाण्डेले १० रन बनाए। संस्कृतिका लागि आरोन प्रधानले दुई तथा स्पर्ष सर्वोगी र श्रेयान्स अग्रवालले समान एक विकेट लिए। पहिलो खेलमा संस्कृतिले रेडियन्ट रिडर्स स्कुललाई सुपर ओभरमा हराएको थियो। त्रियोग सैनिक आवासीय महाविद्यालयसँग ६९ रनले पराजित भएको थियो।

प्रकाशित: २२ वैशाख २०८१ ०७:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App