३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

वेस्ट इन्डिज ‘ए’ सँगको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित

मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गतको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित भएको छ।

बुधबार वेस्ट इन्डिजले दिएको २ सय २८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट १ सय ५१ रन मात्र बनाउन सक्यो।

खेलको दोस्रो इनिङमा ब्याटिङ गर्न निस्किएका नेपाली खेलाडीहरु क्रिजमा टिक्नै सकेनन्। उनीहरुको विकेट लगातार पतन भयो। अधिकांशले दोहोर अंकको रन बनाउनै सकेनन्।

नेपालका ओपनिङ ब्याटर लोकेश बमले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए। विनोद भण्डारीले १५ बलमा १९ रन, अनिल साह १० बलमा १४ रन र आरिफ शेख ६ बलमा ३ रन जोडेर आउट भए। 

त्यस्तै करण केसीले १७ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए। कुशल मल्ल २०, गुलशन झा ६, विवेक यादव ३ र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए।

वेष्टइण्डिजका लेग स्पिनर हायडन वाल्सले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। गुडाकेश मोतीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए। ओबेद म्याककोय, म्याथ्यु फर्ड र फबिएन एलेनले १-१ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रन बनाएको थियो। पहिलो इनिङको सुरुवातीदेखिनै वेस्ट इन्डिज ‘ए’ का ब्याटरले धुवाँदार प्रदर्शन गरेका थिए।

चौका र छक्काको बौछार गरेका थिए। इन्डिजका ब्याटरका अगाडी नेपाली बलर निरिह भए। त्यसैले वेस्ट इन्डिजले २० ओभरको समाप्तिमा ३ विकेट मात्र गुमाएर २२७ रन बनाएको हो।

वेस्ट इन्डिज ‘ए’ का ब्याटर जोनसन चार्ल्स नेपाली बलरहरूका लागि निकै महँगा साबित भए। आक्रामक खेल खेल्दै उनले ६१ बलमा ७ छक्का र १३ चौकाको सहायताले ११९ रन बनाउन सफल भए।

आन्द्रे फ्लेचरले ३३ बलमा ३ छक्का र ४ चौकाको सहायताले दोस्रो सर्वाधिक ५३ रन बनाए। उनी सागर ढकालको बलमा कमल ऐरीबाट क्याच आउट भएका थिए।

यसैगरी करण केसीको बलमा दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट भएका फेबियन एलेनले १ छक्का र २ चौकाको सहायताले ९ बलमा १९ रन बनाए।

ओपनर ए लिक अथानाजे १० बलमा १७ रन जोडेर कमलसिंह ऐरीबाट रन आउट भएका थिए। उनले १ छकका र २ चौकासहित यति रन बनाएका हुन। यसैगरी किमो पलले एक छक्का एक चौकाको सहायताले १३ रन बनाएर अविजित रहे।

तीन विकेटमध्ये नेपालका तर्फबाट करण केसी र सागर ढकालले समान १/१ विकेट लिए। एक जना खेलाडीलाई कमलसिंह ऐरीले रन आउट गरेका थिए।

अहिलेसम्मका तीन वटा खेलमध्ये वेस्ट इन्डिज ‘ऐ’ ले दुई वटा खेल जित्न सफल भएको छ। अझै दुई वटा खेल बाँकी छन्। 

प्रकाशित: १९ वैशाख २०८१ १५:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App