६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिता : बाग्मती र गण्डकीलाई भलिबलतर्फ उपाधि

बाग्मती र गण्डकी प्रदेशले शुक्रबार प्रथम अन्तरप्रदेश खेलकुदअन्तर्गत भलिबलततर्फ उपाधि जितेका छन्।

चितवनमा जारी अन्तरप्रदेश खेलकुदमा गण्डकी पुरुष र बाग्मती महिला भलिबलमा च्याम्पियन भएका हुन्। पुरुषको फाइनलमा गण्डकीले कोसी प्रदेशलाई २५–१८, २५–२२ र २५–१८ को सोझो सेटमा हरायो।

सुदूरपश्चिम प्रदेश भने तेस्रो भयो। महिलातर्फ उपाधि भिडन्तमा बाग्मतीले गण्डकी प्रदेशलाई २५–२१, २५–१२ र २५–८ को सोझो सेटमा हरायो। लुम्बिनी तेस्रो बन्यो।

खेलकुदअन्तर्गत महिला फुटबलमा सुदूरपश्चिम र कर्णाली प्रदेश उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा कर्णाली प्रदेशलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै सुदूरपश्चिमले कोसीसँग उपाधि भिडन्त पक्का गरेको हो।

त्यसअघि बिहीबार नै कर्णाली र सुदूरपश्चिमबीचको दोस्रो सेमिफाइनल खेल पहिलो हाफ खेलेर स्थगित भएको थियो। शुक्रबार दोस्रो हाफको खेल भएको हो। भरतपुर–१९ को बखान मिनी शारदानगर फुटबल मैदानमा पहिलो हाफमा सुदूरपश्चिमले १–० गोलको अग्रता बनाएको थियो।

सुदूरपश्चिमका लागि कप्तान अञ्जली चन्दले खेलको १७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। शुक्रबार कर्णालीका लागि ६७औं मिनेटमा हिमा रावलले गोल गर्दै बराबरीमा ल्याइन्। निर्धारित समय सकिँदासमेत खेल बराबरी भयो र निर्णय पेनाल्टी सुटआउटतर्फ धकेलियो।

पेनाल्टी सुटआउटमा सुदुरपश्चिमले बाजी मार्न सफल भयो। सुदूरपश्चिमका अञ्जली चन्द, गंगा रोकाया र अस्मिता चौधरीले गोल गरे। बिर्सना चौधरीको प्रहार कर्णालीका गोलकिपरले रोकिन् भने विनीता बोहोराको प्रहार भने बाहिरिन पुग्यो। कर्णालीका लागि हिमा रावल र भूमिका बुढाथोकी गोल गर्न सफल भए।

ललिता भाट र लीला जोशीको प्रहार भने बाहिरियो। तुलसा बोहोराको प्रहार भने सुदूरपश्चिमकी गोलकिपरले रोकिन्। कोसीले भने बुधबार नै भएको पहिलो सेमिफाइनलमा मधेस प्रदेशलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो। फाइनल शनिबार हुनेछ।

प्रकाशित: १ वैशाख २०८१ ०६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App