१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

सद्भाव, जयवीर र आइन्स्टिना च्याम्पियन

नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यसहित जयवीर आचार्य र आइन्स्टिना टन्डन शुक्रबार फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।

पार–६८ को रोयल नेपाल गल्फ क्लबमा शुक्रबार आआफ्ना उमेरसमूहमा उपाधि उचाल्दै सद्भाव, जयवीर र आइन्स्टिना फाल्डो सिरिज एसिया फाइनलका लागि पनि छनोट भए।

यी तीनले स्पेन वा भियतनाममा हुने फाल्डो सिरिज एसिया फाइनल खेल्नेछन्। राष्ट्रिय टोलीका सदस्यसमेत रहेका सद्भावले १७ देखि २१ वर्षसमूह, जयवीरले १२ देखि १६ वर्ष र आइन्स्टिनाले महिलातर्फ उपाधि जितेका हुन्।

५४ होल समाप्तिमा सद्भावले कुल एक अन्डर २०३ स्कोर बटुले। उनले शुक्रबार एक अन्डर ६७ मा खेल सकाउँदै पोखराका संसार विकेमाथि ३१ स्ट्रोकको फराकिलो अन्तरमा जित निकाले।

यससँगै सद्भावले १७ देखि २१ वर्ष उमेरसमूह र समग्र च्याम्पियनसिपको उपाधि जिते। प्रोफेसनल गल्फरलाई समेत माथ दिँदै आएका सद्भावलाई यो प्रतियोगितामा कुनै पनि खेलाडीले चुनौती दिन सकेनन्। संसार समग्रमा ३० ओभर २३४ को स्कोर कार्डमा रहे।

अन्तिम दिन उनको प्रदर्शन १३ ओभर ८१ मा रह्यो। समग्रमा ३३ ओभर २३७ को कार्डसहित स्वप्निल भट्टराई तेस्रो भए। अन्तिम दिन उनले १० ओभर  ७८ को प्रदर्शन गरे। अन्तिम १८ होलको खेल सुरु गर्दा सद्भावसँग १७ स्ट्रोकको अग्रता थियो। उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गरे।

तर, त्यसअघि सद्भावले तेस्रो र छैटौं होलमा बोगी खेपे। यससँगै उनले फ्रन्ट नाइन इभन पार ३४ मा सकाए। यसपछि सद्भावले दशौं, ११औं र १४औं होलमा समान १-१ सट बचाए। पार तीनको १७औं होलमा सद्भाव डबल बोगी खेप्न बाध्य भए। यसपछि उनले ब्याक नाइन १ अन्डर ३३ मा पूरा गरे। चार वर्षअगाडि सद्भाव १२ देखि १६ वर्षको उमेरसमूहमा छनोट भए पनि कोभिडको कारण सहभागिता जनाउन पाएका थिएनन्।

पुरुष १२ देखि १६ वर्ष उमेरसमूहमा जयवीरले समग्रमा ४९ ओभर २५३ सहित उपाधि जित्न सफल भए। अन्तिम १८ होलमा जयवीर शीर्ष स्थानका सिद्धान्त सापकोटाभन्दा ९ स्ट्रोकले पछि थिए। अन्तिम दिन जयवीरले पाँच ओभर ७३ स्कोर गरे। तर, सिद्धान्तले भने शुक्रबार २० ओभर ८८ को खराब प्रदर्शन गरेपछि जयवीरलाई च्याम्पियन बन्न सहज भयो।

जयवीरले दोस्रो स्थानको सोहम अग्रवालमाथि चार स्ट्रोकको अग्रता बनाउँदै उपाधि उचालेका हुन्। उनी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पहिलो पटक छनोट भएका हुन्। सोहम भने समग्रमा ५३ ओभर २ सय ५७ सहित दोस्रो भए।

उनले १२ ओभर ८० मा रहेर अन्तिम दिन पूरा गरे। समग्रमा ५५ ओभर २५९ सहित दोस्रो दिनका लिडर सिद्धान्त सापकोटा तेस्रो भए। महिलाततर्फ अवानी राईलाई एक स्ट्रोकले हराउँदै आइस्टिना टन्डन पहिलो भइन्। आइस्टिनाले शुक्रबार २१ ओभर ८९ को प्रदर्शन गर्दा समग्रमा ६० ओभर २६४ सहित उपाधि जित्न सफल भइन्।

उनले फ्रन्ट नाइन ६ ओभर ४० र ब्याक नाइन १५ ओभर ४९ मा सकाइन्। समग्रमा ६१ ओभर २६५ को स्कोरमा अवानी राई दोस्रो भइन्। उनले १५ ओभर ८३ मा रहेर अन्तिम दिन पूरा गरिन्। अनभद्या मल्ल तेस्रो भइन्।

नेपाल गल्फ संघद्वारा आयोजित ५४ होलको तीनदिने प्रतियोगितामा काठमाडौं, पोखरा, धरान र चितवनका ३१ गल्फरले प्रतिस्पर्धा गरेका थिए। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याकथुम्बाले पुरस्कृत गरे।

प्रकाशित: १ वैशाख २०८१ ०६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App