५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

‘अभागी’ को ट्याग मेट्ने दाउमा आर्मी

थ्री स्टार र त्रिभुवन आर्मीका प्रशिक्षक एवं कप्तान ट्रफी उचाल्दै। तस्बिर : उमेश पुन

पोखरामा जारी आहा ! रारा पोखरा गोल्ड कपको उपाधि भिडन्तआज हुँदै छ। सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगितामा उपाधिका लागि थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धामा उत्रिँदै छन्।

थ्री स्टारले सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई १–० ले पन्छाउँदै फाइनलको यात्रा तय गरेको हो। थ्री स्टारले यसअघि प्रि–क्वार्टरफाइनलमा आयोजक सहारा क्लब, पोखरालाई २–१ र क्वार्टरफाइनलमा भुटानको पारो एफसीलाई २–० ले हराएको थियो।

त्रिभुवन आर्मीले भने सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई २–१ गोलअन्तरले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो।

आर्मीले यसअघि प्रि–क्वार्टरफाइनलमा मोफसलको नवलपुर राइजिङ क्लबलाई १–० र क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो।

थ्री स्टार पाँच पटकको उपाधि विजेता टोली हो। पुलिसपछि सर्वाधिक उपाधि थ्री स्टारले जितेको छ। त्यसैले थ्री स्टारलाई आहा ! रारा पोखरा गोल्ड कपमा भाग्यमानी टोली मानिन्छ। तर त्यही भाग्यमानीविरुद्ध भिड्ने त्रिभुवन आर्मी भने अभागी टोली मानिन्छ। निरन्तर सहभागी हुँदै आएको आर्मी चार पटक फाइनल पुगे पनि उपाधि जित्न नसकेको अभागी टोली हो।

त्यसैले आर्मी यस पटक जसरी पनि उपाधि जितेर ‘अभागी’ को ट्याग मेट्ने दाउमा छ। यस पटक राम्रो तयारी भएकाले उपाधि जित्नेमा आर्मीका कप्तान भरत खवास विश्वस्त छन्। ‘अहिलेसम्म उपाधि जित्न नसक्नु आर्मीको दुर्भाग्य हो,’ शनिबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै उनले भने, ‘तर यसपटक तयारी राम्रो छ।

हामी उपाधि जित्नेमा विश्वस्त छौं।’ कप्तान मात्र होइन, प्रशिक्षक पनि यस पटक उपाधि जित्नेमा विश्वस्त छन्। प्रशिक्षक मेघराज केसीले टोलीमा युवा खेलाडीको बाहुल्य रहेको र उनीहरूले उपाधि जित्नेमा आफू ढुक्क रहेको बताए। आफ्नो पूर्वक्लब थ्री स्टारविरुद्ध उपाधि भिडन्तमा रहेका उनले भने, ‘म पूर्वक्लबविरुद्ध भिड्न तयार छु। हामी उपाधि जित्नका लागि आएका हौं र जित्न सक्षम पनि छौं।’

पाँच पटक उपाधि जितेको थ्री स्टार पनि उपाधिको जित संख्या थपेर नेपाल पुलिस क्लबको जित बराबरी गर्ने योजनामा छ। पुलिसले ६ पटक आहा ! रारा पोखरा गोल्ड कपको उपाधि जितेर सर्वाधिक उपाधि विजेताका रूपमा आफूलाई उभ्याएको छ।

प्रशिक्षक र कप्तान पूर्वमेट भएकाले पनि यसपटक कम्बिनेसन मिल्दा उपाधि जित्न सजिलो हुने उनीहरूको विश्वास छ। कप्तान विराज महर्जनले भने,‘पूर्वमेट नै अहिलेका प्रशिक्षक भएकाले टोलीमा सहज वातावरण छ। यसैले खेल जित्न सहज हुने विश्वास छ।’ उनले उपाधि भिडन्तका लागि आफूहरू तयार रहेको बताए।

प्रशिक्षक विक्रम लामाले आहा ! रारा पोखरा गोल्डकप जितेर उपाधि यात्रा सुरु गर्ने योजनामा आफू रहेको बताए। उनले यो उपाधि भिडन्त आफ्ना लागि अवसर र चुनौती दुवै भएको बताउँदै भने, ‘यो उपाधि जितेर म प्रशिक्षण करियरमा उपाधि यात्रा सुरु गर्नेछु।’

तर उनको यो उपाधि यात्रामा उनकै पूर्वगुरु मेघराज केसी बाधक बन्न सक्छन्। त्यसैले उनले उपाधि जित्नका लागि आफ्नै गुरुको योजना विफल पार्नुपर्ने हुन्छ। ‘त्यसका लागि म तयार छु,’ लामाले भने।

प्रकाशित: २० माघ २०८० ०७:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App