१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

इलाम गोल्ड कप आजदेखि, आठ टिम भिड्ने

इलाम गोल्ड कपका लागि तयार गरिएको बाँसको प्यारापिट । तस्बिर: भीम/नागरिक

‘एनआरएनए इलाम गोल्ड कप’ फुटबल प्रतियोगिता आज (शनिबार) सुरु हुँदैछ । सदरमुकामको ठूलो टुँडिखेलमा प्रतियोगिता सुरु हुन लागेको हो । 

रेडहर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र पाहुना टिम भारत दार्जिलिङको एमएफसीबीच खेल हुँदैछ । 

उद्घाटनका लागि ठूलो टुँडिखेल सिँगारिएको छ । खेलमैदान मर्मत, बाँसको अस्थायी प्यारापिट निर्माण, मैदान अझ सजिलो बनाउने काम, स्टेजलगायत सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजक क्लबका सचिव प्रकाश घिमिरेले प्रतियोगिताको सबै तयारी पूरा भएको बताए । उनले भने, ‘मध्याह्न १२ बजेपछि उद्घाटन सत्र सुरु हुनेछ ।’

आजको उद्घाटन समारोहमा भ्वाइस् अफ् नेपाल सिजन ५ विजेता इलामे विनोद राई र इलामकै गायक यम बरालसमेतको साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । 

भोलि दोस्रो दिनको खेल इटहरीको राष्ट्रिय जागृति र झापाको बिर्तामोड युनाइटेडबीच हुनेछ । ८ गते एनआरटी र सर्लाहीको बागमती युवा क्लब तथा ९ गते बुटवलको लुम्बिनी र पाँचथर युवा क्लबबिच खेल हुने तालिका छ । प्रतियोगिता विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीको समेत पुरस्कार व्यवस्था गरिएको छ । 

प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगिताको एनआरएनएले मुख्य प्रायोजन गरेको छ । इलाम नगरपालिका, अन्य संघ–संस्था र व्यक्तिले पनि प्रतियोगितालाई सहयोग गरिरहेका छन् । गेट मनी (दर्शकबाट मैदान गेटमा उठ्ने रकम)बाट सबैभन्दा बढी आम्दानी हुने आशा आयोजकको छ । खेल अवलोकन गर्न अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई निःशुल्क गरिएको छ । फाइनल आउँदो १३ गते हुनेछ । 

प्रकाशित: ६ माघ २०८० ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App