१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

टुलुटुलु हेरेर बस्न सक्दिनँ : थापा

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले अध्यक्षमा उम्मेदवारी दिएका कर्माछिरिङ शेर्पाले फुटबल चलाउन सच्चिएर आउनुपर्ने बताएका छन्।

‘आफू सच्चिँदै सबैलाई समेटेर अगाडि बढ्न सक्नुभयो भने कुनै आपत्ति छैन,’ आफ्नै अध्यक्षतामा गठित नेपाल स्पोटर््स अर्गनाइजेसनको सार्वजनिकीकरण गर्न सोमबार आयोजित कार्यक्रममा पूर्वअध्यक्ष थापाले भने, ‘आरोप–प्रत्योराप गर्नुभन्दा उहाँ सुधारिएर आउनुभयो भने मलाई कुनै आपत्ति छैन । मेरा लागि अहिले अध्यक्षमा उम्मेदवारी दिएका कर्माछिरिङ शेर्पा र मणि कुँवरबीच कुनै फरक छैन । तर उहाँले राजनीति होइन फुटबल विकासका लागि हामी एकजुट भएर काम गर्छांै भन्ने विश्वास दिलाउन सक्नुपर्छ।’

सच्चिएर आए नेतृत्व मान्य हुने भने पनि शेर्पा समूहप्रति आक्रोशित रूपमा प्रस्तुत भएका थापाले थपे, ‘कर्मा छिरिङ (शेर्पा)ज्यूले चुनाव जितेमा त्यो नेपाली फुटबलका लागि अत्यन्तै दुर्भाग्यपूर्ण हुनेछ । उहाँ नेतृत्वमा आए एन्फा कुनै पार्टीको भ्रातृ संगठनका रूपमा परिवर्तन हुन्छ । त्यसैले उहाँको नेतृत्व नेपाली फुटबलका लागि राम्रो होइन।’

लामो समय थापासँगै एन्फामा प्रमुख कार्यकारी अधिकृत (सिइओ) का रूपमा काम गरेका इन्द्रमान तुलाधरले शेर्पा समूहको पत्रकार सम्मेलनमा थापालाई अदृष्य शक्तिका रूपमा बयान गरेका थिए । त्यसको खण्डन गर्ने क्रममा भ्रष्टाचार आरोपमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट १० वर्षका लागि प्रतिबन्धित थापाले आफू ‘देखिएरै प्रस्तुत भएको’ प्रतिक्रिया दिए।
‘मलाई फिफाले प्रत्यक्ष रूपमा फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी १० वर्षका लागि प्रतिबन्ध लगाएको हो । कोही नेतासँग अनौपचारिक भेटमा पनि फुटबलको कुरा नगर्नू भनेको छैन । त्यो पनि भन्यो भने अब नबोलौंला । मानिसहरूले सोध्दा मैले फुटबलमा कर्माछिरिङ शेर्पा ठीक मानिस होइन भनेको हो,’ अर्को महिना हुने एन्फा निर्वाचनमा प्रतिबन्धका बावजुद सक्रिय हुँदै शक्तिकेन्द्र धाएको आरोप स्विकार्दै थापाले जोडे, ‘फुटबल बिग्रिएको म टुलुटुलु हेरेर बसिरहन सक्दिनँ । मैले ३५ वर्ष यो खेलमा बिताएको छु । मेरो रगतमै फुटबल छ । म अदृष्य शक्ति होइन । देखिएरै प्रस्तुत भएको छु।’

चैत १४ गते हुने एन्फा निर्वाचनमा शेर्पा समूहले परिवर्तनको मुद्दालाई प्रमुखताका साथ उठाएको छ । डेढ वर्षअघि अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि भएको चुनावमा संस्थापन पक्षमा रहेका उपाध्यक्ष वीरबहादुर खड्का, सिइओ इन्द्रमान तुलाधर, मानार्थ अध्यक्ष टासी घलेलगायतका केही केन्द्रीय सदस्यहरू अहिले शेर्पा पक्षमा उभिएका छन् । शेर्पाले उठाएको परिवर्तनको मुद्दाप्रति कटाक्ष गर्दै थापाले व्यक्ति फेरिँदैमा एन्फामा कुनै परिवर्तन नहुने बताए।

‘उहाँहरू परिवर्तन भन्दै हिँड्नुहुन्छ । के हो परिवर्तन भन्या ? उहाँहरू सबै मसँग हिजो २५औं वर्ष सँगै काम गरेका मानिस हुनुहुन्छ । हिजो मसँग बस्दा सबै कुरा ठीक हुने आज बेठीक भन्ने हुन्छ ? वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठसँग बसेर काम गर्ने पनि तिनै हुन्,’ शेर्पालाई चुनौती दिँदै थापाले थपे, ‘लिगमा पुरस्कार राशि १ करोड बनाइएको छ । त्यसलाई २ करोड बनाउनुस्, त्यो हो परिवर्तन । विभिन्न प्रतियोगिता गरेर मैले ८ करोड फिक्स डिपोजिटमा राखेको छु । त्यसमा १ करोड थपेर ९ करोड बनाउनुस् त्यो परिवर्तन । रोहित चन्द, विमल घर्तीमगरजस्ता नयाँ खेलाडी उत्पादन गर्नुस्, त्यो हो परिवर्तन । खेलाडीको तलबभता १५ हजार छ, बढाएर देखाउनुस् त्यो हो परिवर्तन । भारतलाई अहिलेसम्म हामीले ९० मिनेटमा १ पटक मात्र हराउन सकेका छौं । फेरि एक पटक हराएर देखाउनुस्, त्यो हो परिवर्तन । मान्छे मात्र परिवर्तन भन्न खोज्या हो भने ठीकै छ।’

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालनमा आएको नेपाल स्पोर्ट्स अर्गनाइजेसनले देशभरबाट प्रतिभालाई अवसर प्रदान गरी सम्बन्धित खेलहरूमा पदक दिलाउन सक्ने उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको संस्थाका अध्यक्ष थापाले भने । नयाँ सस्थालाई केही वर्षमै सशक्त ढंगमा अगाडि ल्याउने बताएका थापाले सबैको साथ र समर्थन पाए प्रतिबन्ध सकिएपछि फुटबलमै पनि पुनरागमन गर्न आफू तयार गरेको बताए।

‘मेरो रगतरगतमा फुटबल छ । फुटबल त मरुन्जेलसम्म पनि छोड्न सक्दिनँ । स्वास्थ्यले साथ दियो र सबै साथीभाइले चाहना राखे भने फुटबलमै फर्किन पनि सक्छु । फिफाले १० वर्षका लागि प्रतिबन्ध लगाएको हो । फेरि यसबीचमा फिफामै पनि धेरै परिवर्तन भइसकेको छ,’ थापाले थपे, ‘नेपाली फुटबलका लागि धेरै काम गरेको छु । काम गर्दा केही गल्ती भएका होलान् । तर, फुटबल मेरो प्यासन हो । नेपाली खेल क्षेत्रले चाह्यो भने म पुनरागमन गर्न पछि सक्छु।’

थापाले आफूमाथि ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागे पनि त्यसमा कुनै सत्यता नभएको दोहो¥याए । आफूले भ्रष्टाचार गरेको भए छानबिन र कारबाहीका लागि उनले नयाँ सरकारलाई पनि चुनौती दिए । ‘मैले फुटबलबाट १ रुपैयाँ पनि लिएको छैन । छानबिन गरेर गल्ती देखिए कारबाहीका लागि म तयार छु । नयाँ सरकारले पनि छानबिन गरे हुन्छ,’ आजीवन प्रतिबन्धमा रहेका एसियाली फुटबल महासंघका पूर्वअध्यक्ष कतारी धनाढ्य मोहम्मद बिन हमामसँग लिएको २ करोडभन्दा बढी रकमबारे उनले भने, ‘हमामले मेरो छोरालाई पैसा दिएको साँचो हो । त्यसबापत म प्रतिबन्धमा छु। त्यसमा जसले जे भने पनि मेरो कुनै प्रतिक्रिया रहन्न । किनकि त्यो पैसाबारे हमाम, म र भगवानलाई मात्र थाहा छ।’

शक्तिकेन्द्र धाएको आरोप स्विकारेका थापाको चुनौती
मलाई फिफाले प्रत्यक्ष रूपमा फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी १० वर्षका लागि प्रतिबन्ध लगाएको हो । कोही नेतासँग अनौपचारिक भेटमा पनि फुटबलको कुरा नगर्नू भनेको छैन । त्यो पनि भन्यो भने अब नबोलौंला । मानिसहरूले सोध्दा मैले फुटबलमा कर्माछिरिङ शेर्पा ठीक मानिस होइन भनेको हो।

प्रकाशित: १५ फाल्गुन २०७४ ०४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App