६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

सावित्रा सम्मानित

काठमाडौं युरो स्कुल, गोंगबुले फुटबलर सावित्रा भण्डारीलाई शनिबार नगदसहित सम्मान गरेको छ।

राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रालाई फुटबल खेलको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै नेपालको गौरव बढाएकोमा काठमाडौं युरो स्कुलले आफ्नो स्पोर्ट्स मिटको समापनका अवसरमा सम्मान गरेको हो।

काठमाडौं युरोका अध्यक्ष प्रमोद पाण्डे, बोर्ड अफ डाइरेक्टर राजाराम पुडासैनी र ज्ञानेन्द्रमान जोशी, शैक्षिक निर्देशक डा. दीपक गुप्ता तथा भाइस प्रिन्सिपल राममणि पौडेलले सावित्रालाई नगद, प्रशंसापत्र र मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे।

‘साम्बा’ उपनामले चिनिने सावित्रा युरोपको व्यावसायिक फुटबल लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन्। सोही अवसरमा सावित्राले काठमाडौं युरोमा नवनिर्मित फुटसल कोर्टको उद्घाटन गर्नुका साथै स्पोर्ट्स मिटमा पदक जित्न सफल खेलाडीलाई पुरस्कृत पनि गरेकी थिइन्।

स्पोर्ट्स मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो। काठमाडौं युरो स्कुलले विगतमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णविजेता करातेका दीपक श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, १३औं सागका स्वर्णविजेता साइक्लिङका बुद्धिबहादुर तामाङ, करातेका पर्शुराम बाँस्तोला, फुटबलका प्रज्वलप्रताप क्षेत्री, सागका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, करातेका सुमन तिमल्सिना लगायतलाई सम्मान गरेको थियो।

प्रकाशित: २४ मंसिर २०८० ०१:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App