१७ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

पहिलो सहभागितामै सेमिफाइनल लक्ष्य

काठमाडौं– नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउन लागेको नेपाली टोली कम्तीमा अन्तिम चारको यात्रा गर्ने लक्ष्यसहित मंगलबार पाकिस्तान प्रस्थान गरेको छ । 
ट्वान्टी–२० विश्वकपको अनुभव बटुलिसकेको नेपाली टोलीले पुस २४ गते बंगलादेशविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछ । पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (युएई)ले संयुक्त रूपमा आयोजना गरेकाले नेपालले तीन खेल पाकिस्तानमा खेल्नेछ भने बाँकी दुई खेल युएईमा खेल्नेछ । बंगलादेशविरुद्ध पाकिस्तानको लाहोरमा खेल्ने नेपालले २५ गते साबिक विजेता भारत र २६ गते घरेलु टोली पाकिस्तानविरुद्ध फैसलाबादमा खेल्नेछ । नेपालले २९ गते अस्टे«लिया र माघ १ गते घरेलु टोली युएईसँग आजमानमा खेल्नेछ । नेपाली टोली पाकिस्तानबाट २७ गते युएई प्रस्थान गर्नेछ ।
१४ खेलाडीसहित २२ सदस्यीय नेपाली टोलीलाई खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले बिदाइ गरेका थिए । बिदाइमा कप्तान कृतन श्रेष्ठ दुवालले कम्तीमा सेमिफाइनल खेल्ने लक्ष्यका साथ प्रतियोगितामा भाग लिन जान लागेको बताए । उनले थपे, ‘पहिले हामीलाई अभ्यासका लागि मैदान अभाव हुने गथ्र्यो । तर, अहिले मूलपानी मैदानमा अभ्यास गर्न पायौं । टोलीमा तीन नयाँ खेलाडी आएका छन्,’ नेत्रहीन नेपाली क्रिकेट टोलीका कप्तान कप्तान कृतनले भने, ‘ट्वान्टी–२० प्रतियोगितामा हामीले दक्षिण अफ्रिका र न्युजिल्यान्डजस्ता बलिया टोलीलाई पराजित गरिसकेका छौं । त्यसैले पनि हाम्रो मनोबल बढाएको छ । हाम्रो मुख्य लक्ष्य उपाधि नै हो । त्यो नभए कम्तीमा पनि सेमिफाइनल पुग्नेछौं ।’

राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले २ खेलमा जिते अन्तिम चारको यात्रा तय गर्नेछ । अन्तिम चारको पहिलो खेल माघ ३ गते अजमान ओभल क्रिकेट मैदान र दोस्रो सेमिफाइनल माघ ४ गते अजमानकै एमसिसी क्रिकेट मैदानमा हुनेछ । फाइनल खेल लाहोरको गद्दाफी रंगशालामा हुनेछ । वेस्ट इन्डिज, दक्षिण अफ्रिका र इङ्ल्यान्डले भने सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा आफ्नो सहभागिता रद्द गरेको थियो । 
नेपाली टोलीका प्रशिक्षक रिजन प्रजुले राज्यबाट उपेक्षित भएकाले सहभागिता नै ठूलो भए पनि उपाधि जित्नै प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए । उनले थपे, ‘खेलाडीले जित्नकै लागि खेल्ने हो  र उसको लक्ष्य उपाधि नै हुनुपर्छ ।’
१९९६ को पहिलो विश्वकप दक्षिण अफ्रिकाले जितेको थियो । २००२, २०१४ मा भारतले विश्वकपको उपाधि जित्दा २००६ मा पाकिस्तानले एकदिवसीय विश्वकपको उपाधि उचालेको थियो ।
नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले राज्यको कमजोर लगानीका बावजुत पनि नेपालले २०६३ देखि निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइरहेको बताए । राज्यले लगानी बढाउनु पर्नेमा जोड दिएका अध्यक्ष घिमिरेले देशको झन्डा सम्झेर डटेर खेल्ने बताए । राज्यमन्त्रीले राज्यले खेल क्षेत्रलाई उपेक्षा नभई प्राथमिकतामा राखेको बताए ।

 

प्रकाशित: १९ पुस २०७४ ००:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App