६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

बंगलादेशविरुद्ध मार्सको ‘डरलाग्दो’ इनिङ

बंगलादेशविरुद्ध १७७ रनको विजयी इनिङ खेल्दै अस्ट्रेलियाका ब्याटर मिचेल मार्स।तस्बिर: एपी

बंगलादेशमाथि आठ विकेटको सानदार जितसहित शनिबार अस्ट्रेलिया विश्वकपको सेमिफाइनलमा पुगेपछि कप्तान प्याट कमिन्सले मिचेल मार्सको करियरकै अविजित १७७ रनको इनिङलाई ‘डरलाग्दो’ भन्दै प्रतिक्रिया दिएका छन्।

अस्ट्रेलियाले यसअघि नै दक्षिण अफ्रिकासँग सेमिफाइनल यात्रा तय गरेको थियो। यद्यपि, मार्सको विश्वकपमा दोस्रो शतक प्रेरणामा अस्ट्रेलियाले ३०७ रनको लक्ष्य ३२ बलअगावै पूरा गर्‍यो। मार्सको ८७औं एकदिवसीय क्रिकेटमा यो तेस्रो शतक हो। ३२ वर्षे अलराउन्डर मार्सले यसअघि पाकिस्तानविरुद्ध १२१ रन बनाएका थिए।

बंगलादेशविरुद्ध मार्सले उत्कृष्ट ब्याटिङ गर्दै १३२ बलमा १७ चौका र ९ छक्का प्रहार गरे। आफ्ना हजुरबुबाको निधनसँगै उनी केही समयपछि टोलीमा फर्किएका थिए।

‘उत्कृष्ट इनिङ,’ तीव्र गतिका बलर कमिन्सले मार्सको प्रशंसा गर्दै भने, ‘उनले डरलाग्दो खेले। आगामी खेलमा पनि त्यो जारी राख्नेछन् भन्ने विश्वस्त छु।’

मार्सले दोस्रो विकेटका लागि डेविड वार्नरसँग १२० रन र स्मिथसँग तेस्रो विकेटका लागि अविजित १७५ रनको महत्त्वपूर्ण साझेदारी पनि गरे। वार्नर ५३ रनमा मुस्ताफिजुर रहमानद्वारा आउट हुन पुगे। स्मिथ ६३ रनमा अविजित रहे। यो सफलतासँगै अस्ट्रेलिया समूहमा सातौं जितसहित छैटौं विश्वकप उपाधिका लागि होमिएको छ। लगातार दुई हारबाट अस्ट्रेलियाले यो यात्रा तय गरेको हो।

चार ओभरमा बिनाविकेट ४८ रन खर्चिएपछि मार्सले ब्याटिङमा भने उत्कृष्ट प्रदर्शन गरेका हुन्। ‘हरेक दिन प्लेयर अफ दी म्याच बन्न सकिँदैन। त्यो पनि चार ओभरमा झन्डै ५० रन खर्चिएपछि यो उपाधि पाउने कल्पना नै हुँदैन,’ मार्सले भने, ‘मैले-५० बाट ब्याटिङ गरेका थिएँ। तर, ब्याटिङमा राम्रो गर्न सकेँ। त्यसमा धेरै खुसी छु।’

कमिन्सले लगातार सात खेलमा जित निकाल्नुलाई अस्ट्रेलियाले भारतमा सुधार गरिरहेको पनि उल्लेख गरेका छन्। ‘३०० रनको आँकडा पूरा गर्न सहज हुँदैन। हामीले एकै पटक धेरै पक्षमा सुधार गरिरहेका छौं। दुई हारबाट यी सफलता पनि पायौं,’ कमिन्सले भने, ‘अब हामी जितको लयमा पनि फर्कियौं।’

बंगलादेशले जारी विश्वकपमै ३०६/८ को योगफल बनाएको हो। यो योगफलसँगै अस्ट्रेलियाका लागि विश्वकपमा सर्वाधिक ठूलो लक्ष्य पछ्याउन बाध्य गराएको थियो। तर, पनि अस्ट्रेलियाले सहजै लक्ष्य भेट्यो। यसअघि अस्ट्रेलियाले विश्वकपमा सर्वाधिक २९२ रनको लक्ष्य पूरा गरेको थियो, जुन खेलमा ग्लेन म्याक्सवेलले २०१ रनको दोहोरो शतक पनि बनाए। म्याक्सवेलले ९१/७ को स्थितिबाट त्यो सफलता दिलाएका हुन्। तर, म्याक्सवेललाई आइतबार भने आराम दिइएको थियो। 

प्रकाशित: २६ कार्तिक २०८० ०३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App