११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

मनीषको गोलबाट नेपाल फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा

मनीष डाँगीको उत्कृष्ट गोल प्रेरणामा नेपाल मंगलबार लाओसलाई हराउँदै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा स्थान बनाउन सफल भएको छ ।

छनोटको प्रारम्भिक चरणको दोस्रो लेगमा लाओसमाथि १–० को जितसँगै नेपाल समग्रमा २–१ को नतिजासहित दोस्रो चरणमा स्थान बनाउन सफल भएको हो । अब नेपाल दोस्रो चरणको समूह ‘एच’ मा संयुक्त अरब इमिरेट्स (युएई), यमन र बहराइनसँग प्रतिस्पर्धा गर्नेछन् । दोस्रो चरणमा एक अर्कासँग होम एन्ड अवेको आधारमा प्रतिस्पर्धा गरेपछि समूहका शीर्ष दुई टोली तेस्रो चरणमा पुग्नेछन् । नेपालको यात्रा आगामी नोभेम्बर १६ मा युएईसँगको खेलबाट सुरु हुनेछ । न्यु लाओस नेसनल स्टेडियममा मंगलबार नेपालले घरेलु टोली लाओसलाई १–० को साँघुरो अन्तरले हराउँदा मनीषको गोल निर्णायक बन्यो ।  

त्यसअघि नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो लेग १–१ को बराबरीको नतिजा सामना गरेको थियो । दोस्रो लेगमा भने सुधारिएको प्रदर्शन गरेपछि नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो लेगमा नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले तीन खेलाडी परिवर्तन गरेका थिए । घरेलु मैदानमा सम्पन्न पहिलो लेगको खेलमा दोस्रो रोजाइमा रहेका उत्सव राई, एरिक विष्ट र दिनेश हेन्जनलाई एनेसेले अवसर दिए । पहिलो लेगमा दोस्रो हाफमा मैदान प्रवेश गरेपछि यी खेलाडीले राम्रो छाप छाडेका थिए ।  

त्यसैले नेपालका इटालियन प्रशिक्षकले उनीहरूलाई घरेलु टोलीविरुद्ध सुरुआती अवसर दिए । उनको त्यो निर्णयले नेपालले सुधारिएको प्रदर्शन पनि गर्यो । यद्यपि, फिफाको १७५औं स्थानमा रहेको नेपालले १८६औं स्थानमा रहेको लाओसविरुद्ध जित निकाल्न निकै संघर्ष भने गर्नुपर्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा मनीषले उत्कृष्ट वान टच गोल गर्दै नेपाललाई अग्रता दिलाए । त्यो गोल नै नेपाललाई लाओसविरुद्ध चौथो जित निकाल्न पर्याप्त भयो । लाओससँगको पाँचौं भेटमा नेपालको यो चौथो जित हो । एक खेलको नतिजा भने बराबरी भएको छ । दोस्रो लेगमा पनि अञ्जन विष्ट नेपालका लागि महत्त्वपूर्ण खेलाडी बने । पहिलो लेगमा उनकै गोलबाट नेपालले बराबरी गरेको थियो । यसपटक उनकै पासमा भएको गोल नेपाललाई दोस्रो चरणमा प्रवेश गराउन पर्याप्त बन्यो । मनीषले ५३औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाए । देशका लागि मनीषको यो तेस्रो गोल हो । अञ्जनले लेफ्ट कर्नरबाट ड्रिब्लिङ गर्दै पेनाल्टी बक्सबाट दिएको बललाई मनीषले वान टचमार्फत पोस्टको दिशा दिएका हुन् ।

त्यसपछि दुवै तर्पmबाट गोलका लागि धेरै प्रयास भए पनि सफल भएन । खेलको अन्तिम समयतिर नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले नजिकैबाट घरेलु टोलीका खेलाडीको प्रहार उत्कृष्ट बचाउ गर्दै नेपालको अग्रता जोगाइ राखे । उनको त्यो प्रयास नै नेपाललाई लाओसविरुद्ध प्रारम्भिक छनोटमा पहिलो जितका लागि पर्याप्त बन्यो । त्यसअघि १८औं मिनेटमा मिकेल भानको शक्तिशाली प्रहार गोलकिपर किरणकुमार लिम्बुले बचाएपछि नेपालको खतरा टर्यो ।  

२२औं मिनेटमा उत्सव राईको क्रसमा पेनाल्टी बक्सभित्र अञ्जनको हेडरले पोस्टको दिशा लिन सकेन । २९औं मिनेटमा फौथाभोङ साङभिलेको पासमा चोनी वानपासेर्थको प्रहार बाहिरिँदा लाओसले अर्को सुनौलो अवसर गुमाउन पुग्यो । पहिलो हाफमा दुवै तर्पmबाट थप प्रयास भए पनि गोल सम्भव भएन र बराबरीमा सकियो । ४८औं मिनेटमा मनीषको प्रहार गोल पोस्टको नजिकैबाट बाहिरिन पुग्यो । दोस्रो प्रयासमा भने मनीष गोल गर्न सफल भए । ६५औं मिनेटमा मनीषले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहारलाई लाओसका गोलकिपर शेशेभाटले उत्कृष्ट बचाउ गरे ।

७३औं मिनेटमा जिलेस्पीजंग कार्कीले नजिकैबाट गरेको हेडर बाहिरिन पुग्यो । यससँगै उनी देशका लागि पहिलो गोल गर्ने अवसर गुमाउन पुगे । ८२औं मिनेटमा अञ्जनको हेडर पोस्ट नजिकैबाट नै बाहिरियो । इन्जुरी समयमा किरणले उत्कृष्ट बचाउ गरेपछि नेपालको अग्रता बच्यो । त्यससँगै नेपाल दोस्रो चरणमा प्रवेश गर्यो। जितपछि नेपालका प्रशिक्षक एनेसेले आफ्नो टोलीले राम्रो खेल्दै जित निकालेको उल्लेख गर्दै आगामी चरणमा योभन्दा कठिन प्रतिस्पर्धाहरू आउने बताए । उनले अझै पनि केही गल्ती भएको र आगामी दिन त्यसलाई सुधार गर्दै अगाडि बढ्ने उल्लेख गरेका छन् ।

मनीषले यो जितका लागि आफूहरू हकदार रहेको उल्लेख गर्दै यो जित प्रशिक्षकलाई समर्पित गरे । लाओसका सहायक प्रशिक्षक फौतपासोङ सेङदालाभोङले केही महत्त्वपूर्ण खेलाडीहरू घाइते भएको र नयाँ युवा खेलाडीले राम्रो गर्न नसकेको बताए । यसै खेलमार्पmत डिफेनडर अमृत श्रेष्ठले नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् । उनले इन्जुरी समयमा जिलेस्पीजंगको स्थानमा मैदान प्रवेश गरेका थिए । 

प्रकाशित: १ कार्तिक २०८० ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App