११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल लाओसको चुनौती सामना गर्न तयार

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले घरेलु मैदानमा बिहीबार लाओसविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालले फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणको खेलमा बिहीबार दशरथ रंगशालामा लाओसविरुद्ध खेल्दै छ । सोही खेलका लागि बुधबार कुपन्डोलमा भएको प्रिम्याच कन्फ्रेरेन्समा नेपालका कप्तान तथा गोलकिपर चेम्जोङले घरेलु मैदानको फाइदा उठाउँदै लाओसविरुद्ध चुनौती प्रस्तुत गर्ने तयार रहेको बताएका हुन् । साथै कप्तान चेम्जोङले सो खेलमा दर्शकलाई रंगशालामा उपस्थित हुन अनुरोध गर्दै ‘रातो र चन्द्र सूर्य’ को गीतले ९० मिनेट नै गुन्जायमान बनाउन अनुरोध गरेका छन् । रंगशाला नै भरिने गरी खेल हेर्न आउन आग्रह गरेका हुन् ।  

सो गीतको गुन्जनले ९० मिनेट नै टोलीलाई प्रोत्साहित गर्न उनको आग्रह छ । घरेलु मैदानमा लाओसविरुद्ध केही फरक हुने गोलकिपरसमेत रहेका कप्तान चेम्जोङको अपेक्षा छ । किरणले टोलीको तयारी राम्रो भएकाले लाओसको सामना गर्न तयार रहेको पनि उल्लेख गरे । लामो समयदेखि राम्रो तयारी गरेकाले लाओसविरुद्ध प्रदर्शन सुखद रहने उनको विश्वास छ । यसअघि नेपालले त्रिकोणात्मक शृंखलामा लाओसलाई हराएको थियो । तर, यस पटक लाओसमा धेरै सुधार भएकाले विश्वकप छनोट खेल फरक हुने किरणको भनाइ छ । उनले पनि त्रिकोणात्मक शृंखलामा जस्तो लाओस यस पटक नरहेको उल्लेख गर्दै सो टोलीमा केही परिवर्तन भएको उनको भनाइ छ ।  

किरणले लाओसको टोली शारीरिक, रणनीति र प्राविधिक रूपमा राम्रो रहे पनि आफ्नो टोली चुनौती सामना गर्न तयार रहेको बताएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले लाओसको सामना गर्न उत्साहित रहेको उल्लेख गर्दै यस पटक प्रदर्शनमा सुधार गर्र्ने आशा व्यक्त गरे । लाओसविरुद्धको खेल कति महत्त्वपूर्ण छ भन्ने सबैलाई थाहा भएको उल्लेख गर्दै प्रशिक्षक एनेसले सोहीअनुसार राम्रो प्रदर्शन गर्ने अपेक्षा गरे । उनले पछिल्ला दुई महिनाको तयारीले टोली बलियो रहेको पनि विश्वास व्यक्त गरेका छन् ।  

नेपालले विश्वकप छनोट प्रारम्भिक चरणको खेलकै लागि म्यानमारसँग दुई खेल खेलेको थियो । लामो समयदेखिको तयारी र एक्सपोजरका कारण नेपाली टोलीले राम्रो गर्ने प्रशिक्षक एनेसको विश्वास छ । प्रशिक्षक एनेसले बिहीबार खेलका लागि सबै खेलाडी शारीरिक र मानसिक रूपमा पनि फिट रहेको बताएका छन् । गत मार्चमा नेपालले थ्री नेसन्स लिगमा लाओससँग प्रतिस्पर्धा गरेको थियो । तर, त्यति बेला र अहिले परिस्थिति निकै परिवर्तन भइसकेको उनको भनाइ छ । लाओसको टोली फेरिएको र उनीहरूले पनि राम्रो तयारी गरेको उनले बताए । त्यसैले खेल निकै रोमाञ्चक हुने उनको विश्वास छ ।

यद्यपि, यो खेल जित्दै दोस्रो चरणमा पुग्ने उनको लक्ष्य छ । लाओस फुटबल टोलीका प्रशिक्षक कानलेया सिसोमभाङले पछिल्लो थ्री नेसन्स कपमा भन्दा यस पटक आफ्नो टोली बलियो रहेको उल्लेख गर्दै राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् । नेपालले विश्वकप छनोटको प्रारम्भिक चरणअन्तर्गत पहिलो लेगमा बिहीबार लाओसको सामना गर्दै छ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।

प्रकाशित: २५ आश्विन २०८० ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App