इङ्लिस प्रिमियर लिगको क्लब आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले चोटका कारण आफ्ना स्ट्राइकर बुकायो साका आगामी खेलका लागि इङ्ल्यान्डको राष्ट्रिय टोलीमा समावेश हुने सम्भावना न्यून रहेको बताएका छन् ।
आइतबार आर्सनलले प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीमाथि १–० को जित निकालेको खेल साकाले ह्यामस्ट्रिङको समस्याका कारण गुमाएका थिए ।
इङ्ल्यान्डले अक्टोबर १३ मा अस्टे«लियाको सामना गर्नेछ भने त्यसको चार दिनपछि युरोपियन च्याम्पियनसिप २०२४ को छनोट चरणमा इटालीको सामना गर्नेछ । ‘साका आगामी केही खेलमा मैदान उत्रने सम्भावना न्यून छ,’ अर्टेटाले भने, ‘उनी अहिले प्रशिक्षणमा सहभागी छैनन् ।’ यद्यपि अर्टेटाले साका कहिलेसम्म मैदानबाहिर रहनेबारे भने केही भन्न नसकिने बताए ।
‘साका घाइते छन् र उनी अहिले मैदान बाहिर छन्,’ अर्टेटाले भने, ‘उनी कुन खेलबाट मैदान फर्कन्छन् अहिले नै केही भन्ने अवस्था छैन ।’
साकाले अर्टेटाको प्रशिक्षणमा प्रिमियर लिगमा लगातार ८७ खेल खेलेका छन् । आइतबार सिटीविरुद्धको खेलमा अनुपस्थित भएसँगै उनको यो यात्रामा समेत पूर्णविराम लागेको छ ।
गत मंगलबार युरोपियन च्याम्पियन्स लिगअन्तर्गत लेन्सलाई २–१ को नतिजा सुम्पिएको खेलका क्रममा साका ह्यामस्ट्रिङको समस्याका कारण मैदानबाट बाहिरिएका थिए । प्रिमियर लिगअन्तर्गत बर्नामाउथविरुद्ध गत साता सम्पन्न खेलमा मैदान उत्रिए पनि उनी खेलदौरान नै मैदानबाट बाहिरिएका थिए ।
इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले गत बिहीबार साका पूर्ण रूपमा फिट नभएसम्म मैदान नउतार्ने बताएका थिए । उनले साका टोलीको महŒवपूर्ण सदस्य भएकाले केही समय आराम दिने बताएका थिए ।
‘हामी युरोपियन च्याम्पियनसिपको छनोटको तयारीमा छांै,’ साउथगेटले भने, ‘टोलीमा साकाको उपस्थिति महत्त्वपूर्ण रहँदै आएको छ । यद्यपि उनी पूर्ण रूपमा फिट भएपछि मात्र हामी उनलाई आगामी खेलमा टोलीमा समावेश गर्छौ ।’
प्रकाशित: २३ आश्विन २०८० ०२:२१ मंगलबार