६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

भारतसँग नेपालको गर्विलो पराजय

कबड्डीमा इरानी महिला खेलाडी (रातो) लाई रोक्ने प्रयास गर्दै नेपाली खेलाडी। तस्बिर: नागरिक

नेपाली क्रिकेट टोलीका भारतीय प्रशिक्षक मोन्टी देसाईले केही पक्षमा कमजोरी हुँदा मंगलबार १९औं एसियाली खेलकुदको क्वार्टरफाइनलमा भारतसँग पराजित भएको प्रतिक्रिया दिएका छन्।

बिर्सनलायक बलिङ र केही खराब फिल्डिङसँगै पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित हुँदै एसियाली खेलकुदबाट बाहिरिएपछि प्रशिक्षक देसाईले आफ्नो टोलीको कमजोरी औंल्याएका हुन्।

‘पराजित भए पनि खेलाडीहरूले सकारात्मक विश्वासका साथ प्रदर्शन गर्नु सबैभन्दा ठूलो पक्ष रह्यो। रणनीतिअनुरूप ब्याटिङमा खेलाडीले धेरै राम्रो गरे,’ प्रशिक्षक देसाईले भने, ‘समग्रमा खेल सकारात्मक रह्यो। त्यो लक्ष्य पूरा गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ खेलाडीले खेले। तर, फिल्डिङमा केही खराबी भयो।’

प्रशिक्षकले फिल्डिङमा केही कमजोरी हुँदा १०/१५ रन बढी गएको उल्लेख गर्दै खेलाडीको प्रदर्शनमा पनि गर्व गर्ने ठाउँ रहेको धारणा राखे। पङफेङस्थित झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा यशस्वी जैसवालको शतकप्रेरित भारतले नेपालसामु दुई सय तीन रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो। जबाफमा नेपालले निर्धारित २० ओभर नै खेल्दै ९ विकेटको क्षतिमा एक सय ७९ रन बनायो। विशाल लक्ष्य पछ्याएको नेपालका ब्याटर पनि ठूला सट खेल्दै इन्डियन प्रिमियर लिग (आइपिएल) का स्टार बलरमाथि हाबी भए।

आइपिएलका स्टार र भारतीय टोलीबाट खेलिसकेका खेलाडीसहित भारत चीन आएको हो। ट्वान्टी–२० फरम्याटका स्टार खेलाडी रहेकाले भारतलाई यस एसियन गेम्सको सबैभन्दा बलियो दाबेदार टोलीका रूपमा हेरिएको छ।

बलिङमा नेपालका बलर निरीह साबित भए। यद्यपि, ब्याटिङमा भने नेपालले राम्रो प्रदर्शन गर्‍यो। नेपालले सुरुदेखि आक्रामक खेल्ने प्रयास गरे पनि सफल हुन सकेन। नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन जोड्दै अलराउन्ड प्रदर्शन गरे। उनले १५ बलमा चार छक्का प्रहार गरे। ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले राम्रो साझेदारी गर्न सकेनन्।

३.४ ओभरमा आसिफ १० रनमा नै पवेलियन फर्किए। त्यसपछि आएका कुशल मल्लले पनि ठूला सट खेल्ने प्रयास गरे। यद्यपि, ११औं ओभरमा कुशल २९ रनमा रवि बिस्नोईद्वारा आउट भए। त्यसअघि भुर्तेल दोस्रो विकेटका रूपमा आउट भए। भुर्तेलले २८ रन जोडे।

 नवौं ओभरमा पनि कप्तान रोहित पौडेल ३ रनमै पवेलियन फर्किएपछि नेपालको ब्याटिङले केही समय संघर्ष गर्नुप¥यो। तर, दीपेन्द्र र सन्दीप जोराले पाँचौं विकेटका लागि ४७ रनको साझेदारी गर्दै जितको आशा दिलाए।

यद्यपि, १५ र १६औं ओभरमा दुवै ब्याटर पवेलियन फर्किएपछि नेपालको जित टाढियो। दीपेन्द्र ३२ रन र सन्दीप जोरा २९ रनमा आउट भए। करण केसीले १८ रन जोडे पनि जितका लागि पर्याप्त भएन।

भारतको बलिङमा आवेश खान र रवि बिस्नोईले समान तीन तथा अर्शदीपले दुई र साई किशोरले एक विकेट लिँदै नेपालको इनिङलाई लक्ष्य पूरा गर्न दिएनन्। त्यसअघि टस जितेको भारतले विस्फोटक ब्याटिङ गर्दै चार विकेटको क्षतिमा दुई सय २ रनको विशाल योगफल बनायो।

आक्रामक ब्याटिङ गरेका ओपनर जैसवालले ४९ बलमा नै सय रन जोडे। नेपाली बलरमाथि पूर्ण हाबी भएका जैसवालले आठ चौका र सात छक्का प्रहार गरे। जैसवाल १६.२ ओभरमा दीपेन्द्रद्वारा क्याचआउट भए।

भारत १ सय ५० रनको बलियो स्थितिमा हुँदा जैसवाल चौथो विकेटका रूपमा पवेलियन फर्किए। भारतले पहिलो ओभरदेखि आक्रामक ब्याटिङ गर्‍यो। भारतले ९.१ ओभमा नै सय रन बटुल्दै नेपाली बलरमाथि दबाब सिर्जना गरिराखे। यसै ओभरको पाँचौं बलमा दीपेन्द्रले भारतका कप्तान रुतुराज गायकवाडलाई २५ रनमा आउट गर्दै पहिलो विकेट लिए।

त्यसपछि भने नेपालले १५औं ओभरसम्म कसिलो बलिङ ग¥यो। यस क्रममा नेपालले दुई विकेट लिँदै ३४ रन खर्चियो। यद्यपि, अन्तिम पाँच ओभरमा नेपालका बलरले लय गुमाउँदै ६४ रन खर्चिए। यद्यपि, नेपालका बलर सन्दीप लामिछानेले बलियो टोलीसँग खेल्दा अनुभवको कमीका कारण अन्तिम समय रन बढी गएको बताए।

‘भारत पनि बलियो टोली हो र हामीले प्रयास पनि गर्‍यौं। तर, बलियो टोलीसँग खेल्दा अनुभवको कमीले अन्तिमका ओभर बढी रन गयो,’ सन्दीपले भने। पाँचौं विकेटका लागि शिवम् दुवे र रिन्कु सिंहले ५२ रनको साझेदारी गर्दै सय रनको आँकडा पार गराए।

रिन्कु ३७ रन र शिवम् २५ रनमा नटआउट रहे। यस क्रममा शिवम्ले १९ बलमा दुई चौका र एक छक्का र रिन्कुले १५ बलमा दुई चौका र चार छक्का हिर्काए। डेथ ओभरमा बलिङ गर्न आएका अविनाश बोहोराले २५ रन खर्चिएपछि नेपालमाथि दबाब पर्‍यो।

माल्दिभ्सविरुद्ध ६ विकेट लिएका अविनाशले निकै खराब बलिङ गरे। चार ओभरमा उनले ५३ रन खर्चिंदा एक विकेट पनि लिन सकेनन्। नेपालका सबै बलर महँगा साबित भए। यद्यपि, दीपेन्द्रसिंहले महत्वपूर्ण दुई विकेट लिँदै कमजोर बलिङलाई साथ दिए। तीन ओभर बलिङ गरेका सन्दीपको नाममा पनि एक विकेट रह्यो।

कबड्डी: इरानसँग नेपाल पराजित

बंगलादेशसँग पहिलो जितबाट हौसिएको नेपालले महिला कबड्डीमा इरानमाथि जित निकाल्ने आत्मविश्वासका साथ खेले पनि पराजय व्यहोरेको छ।

चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा मंगलबार भएको समूह ‘बी’ को आफ्नो दोस्रो तथा अन्तिम लिगमा नेपाल डिफेन्डिङ च्याम्पियन इरानसँग ४९–१९ स्कोरले पराजित भएको हो। समूह ‘बी’ मा नेपाल र इरानसहित बंगलादेश गरी तीन राष्ट्र छन्। नेपालले समूहको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो। त्यो जितसँगै नेपाल पदक सम्भावनानजिक पनि पुगेको छ।

यद्यपि, नेपाली टोलीले बंगलादेशसँगको जितसँगै गत सन् २०१८ को जाकार्ता एसियाली खेलकुदमा स्वर्ण पदक विजेता इरानी महिला कबड्डी टोलीमाथि पनि जित निकाल्ने आत्मविश्वास देखाएको थियो। तर, मंगलबारको नतिजा भने इरानको पक्षमा रह्यो।

नेपाल पहिलो हाफमा १९–११ ले पछि परेको थियो। तर, दोस्रो हाफमा भने २४–८ स्कोरको अग्रता बनाउँदै इरानले फराकिलो जित दर्ता गर्‍यो। बुधबार हुने समूह ‘बी’ को अन्तिम लिगमा इरानले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ। त्यो खेलमा इरान विजयी भए नेपालले जारी एसियाली खेलकुदमा पहिलो पदक जित्नेछ। साथै त्यो पदक नेपालको महिला कबड्डीमा नै पहिलो पदक हुनेछ।

ब्याडमिन्टन: रसिला प्रि–क्वार्टरफाइनलमा

नेपालकी रसिला महर्जन जारी एसियाली खेलकुदमा ब्याडमिन्टनको महिला सिंगल्सतर्पm मंगलबार प्रिक्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। बिन्जियाङ जिम्न्याजियममा भएको प्रतिस्पर्धामा रसिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा पराजित गरिन्।

खेल १५ मिनेट चलेको थियो। यो स्पर्धासहित मंगलबार नेपालले चार स्पर्धामा प्रतिस्पर्धा गरेको थियो। बाँकी तीनमा भने नेपाल पराजित भयो। महिला सिंगल्समै थाइल्यान्डकी पोर्नपावीले नेपालकी अनुमाया राईलाई सीधा सेटमा २१–१० र २१–४ ले हराइन्।

महिला डबल्समा चाइनिज ताइपेईका चिङ या सु र चिन वान लिनको जोडीले नेपालका नीता लम्साल र नङ्सल तामाङको जोडीलाई २१–१ र २१–५ तथा इन्डोनेसियाका द्विपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीले नेपालका रसिला महर्जन र अनुमाया राईको जोडीलाई २१–३ र २१–७ को सोझो सेटमा पाखा लगाए।

भारोत्तोलन: विकासले उचाले १२० केजी भार

नेपालका विकास भट्टले जारी १९औं एसियाली खेलकुदमा भारोत्तोलनको पुरुष ८१ केजीमा स्न्याचमा १ सय २० केजी र क्लिन एन्ड जर्कमा १ सय ४५ केजी गरी कुल दुई सय ६५ केजी भार वहन गरेका छन्।

सिओसान जिम्न्याजियममा मंगलबार भएको स्न्याचमा विकासले दोस्रो लिफ्टमा मात्र १ सय २० केजी भार उचाल्न सफल भएका थिए। पहिलो लिफ्टमा पनि विकासले १ सय २० केजी वजन उचाल्ने प्रयास गरे पनि असफल भए। तर, उनले तेस्रो लिफ्टमा भने एक सय २५ केजी तौल उठाएर स्न्याचमा आफ्नै नाममा रहेको एक सय २४ केजीको राष्ट्रिय कीर्तिमान सुधार गर्ने प्रयास गरेका थिए। उनले एक सय २५ केजी वजन भने उठाउन सकेनन्। विकासले क्लिन एन्ड जर्कमा पहिलो लिफ्टमा एक सय ४५ केजी तौल उठाउने प्रयास गरेका थिए । तर, दोस्रो लिफ्टमा मात्र उनी १ सय ४५ केजी वजन उचाल्न सफल भए। विकासले तेस्रो लिफ्टमा १ सय ५० केजी उठाउने तयारी गरे पनि सफल भएनन्। 

प्रकाशित: १७ आश्विन २०८० ०२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App