९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

जापानसँग हारेपछि पनि जर्मन प्रशिक्षक भन्छन्- ‘मेरो नेतृत्व नै सही छ’

एसियन राष्ट्र जापानसँग अपमानजनक हारका बावजुद जर्मनीका प्रशिक्षक हान्सी फ्लिकले आगामी युरो कप २०२४ सम्म डोर्याउन जर्मनीका लागि आफ्नो नेतृत्व नै सही रहेको दाबी गरेका छन्।

वुल्फबर्गमा भएको मैत्रीपूर्ण खेलमा जर्मनीले शनिबार जापानसँग ४–१ को लज्जास्पद हार बेहोरेपछि जर्मन प्रशिक्षक फ्लिकको आलोचना हुँदै आएको थियो। आगामी युरो कप २०२४ जर्मनीले नै आयोजना गर्दै छ। प्रतियोगिता हुन ९ महिना बाँकी छँदा जर्मनीले पछिल्ला पाँच खेलमा चार हार सामना गरेको छ। त्यससँगै जर्मनीका समर्थकले प्रशिक्षक परिवर्तन गर्नुपर्ने धारणा पनि राख्दै आएका छन्। यद्यपि, प्रशिक्षक फ्लिकले पत्रकारसँगको कुराकानीमा अहिले जर्मनीको फुटबल टोलीका लागि आफू नै योग्य रहेको जिकिर गरेका छन्।  

‘हामीले हरेक टोलीका लागि उत्तिकै तयारी गरेका हुन्छौं। त्योभन्दा थप कुरा केही भन्नुपर्छ जस्तो लाग्दैन,’ जर्मनीका प्रशिक्षक फ्लिकले भने, ‘हामीले जे गरेका छौं त्यसप्रति सबै विश्वस्त पनि छौं। त्यसैले पनि जर्मनीको प्रशिक्षकका रूपमा मैले नै निरन्तरता दिनुपर्छ।’ जर्मनीले दुवै हाफमा दुई गोल बेहोर्दा जापानले पूर्ण दबाबमा राख्यो। जापानले यसअघि कतार विश्वकप २०२२ मा पनि जर्मनीलाई २–१ ले हराएको थियो। खेलपछि जर्मनीका स्पोर्टिङ डाइरेक्टर रुडी भोइलरले फ्लिकको भविष्य खराब गर्ने तवरमा जर्मन एफएले कुनै पनि निर्णय नगर्ने बताएका थिए।

‘आफूलाई एक पटक फेरि उठाउन अनुरोध गर्दछु,’उनले भने, ‘यस किसिमको हारले हामी केही स्तब्ध छौं।’रुडीले आगामी खेलमा राम्रो गर्नका लागि सबै प्रयासको खोजी पनि हुने बताएका छन्। फ्लिकको प्रशिक्षणमा जर्मनी कतार विश्वकपको समूहचरणबाटै बाहिरिनुपरेको थियो। त्यस क्रममा उनको टोलीले तीन खेलमा मात्र एक जित निकालेको थियो। पछिल्ला दुई विश्वकपमा नै जर्मनी समूहचरणबाटै बाहिरिएको छ। गत युरो कप २०२१ मा पनि अन्तिम १६ को खेलमा इङ्ल्यान्डसँग स्तब्ध भएको थियो। घरेलु मैदानमा हुने आगामी युरो कप २०२४ मा पनि जर्मनीको खराब लयले निरन्तरता पाउन सक्ने अनुमान गरिएको छ।

समर्थकले फ्लिकको टोलीमा परिवर्तन गर्नुपर्ने आवाज निकाल्दा जर्मनीका कप्तान इल्के गुन्डोगानले भने टोलीले आफैसँग धेरै प्रश्न सोध्नुपर्ने अवस्था आइरहेको प्रतिक्रिया दिएका छन्। जर्मनीले आगामी मंगलबार डर्टमन्डमा फ्रान्सको सामना गर्दै छ। त्यसअगावै टोलीमा सुधारको आवश्यक रहेको प्रशिक्षक फ्लिकको धारणा छ। ‘फिल्डमा भएका हरेकले आगामी खेलमा फ्रान्सविरुद्ध आफूलाई परिवर्तन गर्नुपर्छ,’ फ्लिकले भने,‘यो फुटबल हो हामीलाई अर्को अवसर पनि छ। त्यसैले हामी आगामी खेलको बारेमा सोच्दै छौं।’ फ्लिकले युथ डेभलपमेन्टमा जर्मनीले सुधार गर्न आवश्यक रहेको समेत धारणा राखेका छन्। त्यसका लागि उनले चार पटकको च्याम्पियन जर्मनीले जापानको युथ डेभलपमेन्टबाट धेरै सिक्नुपर्ने औंल्याएका छन्।

‘जापानको क्षमता सबैले हेर्न सक्छौं। उनीहरूको आक्रामक र रक्षात्मक रणनीति दुवै राम्रो छ,’जापानबारे फ्लिकले भने, ‘उनीहरूलाई फुटबल धेरै विकास गरिसकेका छन्।’ प्रशिक्षक फ्लिकले जर्मनीको समस्या तल जरामा नै रहेको पनि आरोप लगाएका छन्। ‘हामीले तलको जरादेखि काम गर्नुपर्छ,’ उनले आरोप लगाएका छन्। यता, एसिया कपको तयारीमा रहेको जापानले भने लगातार तेस्रो जित निकाल्दै आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ। कतारमा आगामी जनवरीदेखि एसिया कप सुरु हुँदै छ। चार पटक एसिया कप विजेता जापान यस पटक पनि उपाधि उचाल्ने लक्ष्यमा छ। 

प्रकाशित: २५ भाद्र २०८० ०१:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App