६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

रोमाञ्चकताले भरिएको महिला विश्वकप

न्युजिल्यान्ड र अस्ट्रेलियाद्वारा संयुक्त रूपमा आयोजना भएको जारी महिला विश्वकप धेरै पक्षका कारण रोमाञ्चक र विशेष बनिरहेको छ।

आइतबार नै महिला विश्वकपको सेमिफाइनल समीकरण पूरा भइसकेको छ। क्वार्टरफाइनलका प्रतिस्पर्धाबाट नै अहिलेसम्मका विश्वकप विजेताहरू बाहिरिन पुगेपछि जारी विश्वकप थप रोचक बन्न पुगेको हो। सन् १९९१ देखि सुरु भएको महिला विश्वकपमा अमेरिका, नर्वे, जर्मनी र जापानले उपाधि जितेका छन्। जारी विश्वकपमा यीमध्ये जर्मनीले समूहचरण नै पार गर्न नसक्दा बाँकी तीन प्रतिद्वन्द्वीको चुनौती क्वार्टरफाइनलमा नै समाप्त भयो। यससँगै यस पटक विश्वकपले नयाँ विश्वविजेता पाउनेछ। इतिहासमा पहिलो पटक नै आयोजक राष्ट्र विजेता बन्न सक्छ।

सन् १९९९ मा अमेरिकापछि विश्वकपको क्वार्टरफाइनल जित्ने अस्ट्रेलिया पहिलो आयोजक राष्ट्र बनेको छ। विश्वकपको नवौं संस्करणमा आइपुग्दा अमेरिकाले बाहेक अन्य कुनै पनि आयोजक राष्ट्रले क्वार्टरफाइनलमा जित निकाल्न सकेका छैनन्। तर, महिला विश्वकपको २४ वर्षपछि अस्ट्रेलियाले त्यो इतिहास दोहो¥यायो र पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ। अब बुधबार इङ्ल्यान्डलाई हराउँदै घरेलु टोली अस्ट्रेलियालाई पहिलो पटक विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा गर्ने अवसर पनि हुनेछ।

‘यो टोलीले इतिहास कायम राख्न सक्छ भन्ने देखेको छु,’ अस्ट्रेलियाका प्रशिक्षक टोनी गुस्ताभसनले भने, ‘यो फुटबलको खेल जित्नुमा मात्र सीमित हुने छैन। उनीहरूले आगामी पुस्तालाई पनि उत्प्रेरणा दिनेछन्। उनीहरूको सफलतामा सारा देश नै एक रहनेछ।’ यता, युरोपियन च्याम्पियन इङ्ल्यान्ड भने कोलम्बियालाई स्तब्ध बनाउँदै सेमिफाइनलमा पुगेकोे हो।  

इङ्ल्यान्डले सन् २०१५ र सन् २०१९ मा पनि सेमिफाइनलमा स्थान बनाएको थियो। तर, यी दुवै पटक इङ्लिस टोली फाइनलमा पुग्न सकेन। एक पटक तेस्रो र चौथो स्थानमा नै सीमित भयो।  

अस्ट्रेलिया र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनुअघि नै पहिलो पटक सेमिफाइनलमा पुगेको स्पेनले मंगलबार नै अकल्यान्डमा पावरहाउस स्विडेनको सामना गर्नेछ। समूहचरणमा जापानसँग ४–० को लज्जापूर्ण हारपछि लयमा फर्किएको स्पेनले सन् २०१९ को उपविजेता नेदरल्यान्ड्सलाई क्वार्टरफाइनलमा स्तब्ध बनायो। न्युजिल्यान्डको राजधानी वेलिङ्टनमा शुक्रबार ५.६ रेक्टरको भूकम्प आउनुअगाडि नै स्पेनले डच टोलीमाथि सफलता निकालेको हो। ‘हामी खेलमा नै ध्यान केन्द्रित गरिरहेका थियौं। त्यसैले हामीले भूकम्पको महसुस गरेनौं। तथापि, होटलमा केही हल्लाएको जस्तो भने लागेको थियो,’ स्पेनका प्रशिक्षक जर्ज भिल्डाले भने, ‘स्पेनको विजयचाहिँ भूकम्प हुन सक्छ।’

सन् १९९९ मा अमेरिकापछि विश्वकपको क्वार्टरफाइनल जित्ने अस्ट्रेलिया पहिलो आयोजक राष्ट्र बनेको छ। विश्वकपको नवौं संस्करणमा आइपुग्दा अमेरिकाबाहेक अन्य कुनै पनि आयोजक राष्ट्रले क्वार्टरफाइनलमा जित निकाल्न सकेका छैनन्।

जारी विश्वकपमा सबैभन्दा उच्च फिफा वरीयताको (दोस्रो) टोली हो, स्विडेन। स्विडेनले भने सेमिफाइनलमा सन् २०११ को च्याम्पियन तथा जारी विश्वकपको अपराजित टोली जापानलाई स्तब्ध बनाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। उपाधिका दाबेदार मानिएका धेरै टोली सेमिफाइनलअगाडि नै बाहिरिसकेका छन्।  

अस्ट्रेलिया

ब्रिसबेनमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ७–६ ले स्तब्ध बनाउँदै अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको हो। यो नतिजा निक्लिनका लागि महिला विश्वकप इतिहासकै लामो पेनाल्टी सुटआउट भयो।

कुल २० पेनाल्टी प्रहारपछि खेलको नतिजा निस्किएको थियो। पेनाल्टी सुटआउट ३–३ को अवस्थामा पुग्दा अस्ट्रेलियाकी गोलकिपर म्याकेन्जी अर्नोल्डले जीवनकै ठूलो अवसर पाइन्। तर, उनको प्रहार पोस्टमा लाग्यो । यद्यपि, पछि उनले फ्रान्सकी मिडफिल्डर केन्जा डालीको दुई पटक पेनाल्टी प्रहार रोक्दै अवसर जीवन्त बनाइन्। फिफा वरीयतामा १२औं स्थानमा रहेको अस्ट्रेलिया जारी विश्वकपमा सेमिफाइनलमा पुगेको सबैभन्दा तल्लो स्थानको टोली हो। आफ्ना स्टार स्ट्राइकर तथा कप्तान साम केरबिना नै अस्टे«लियाले यो सफलता प्राप्त गरेको छ।

इङ्ल्यान्ड  

गत वर्ष युरोपियन च्याम्पियनसिपको उपाधि जितेको इङ्ल्यान्ड यस पटक विश्वकप उपाधि पनि जित्ने लक्ष्यमा छ। सेरिना विगमेनको टोलीसँग घरेलु टोलीलाई उपाधि सुम्पिने कि ऐतिहासिक सफलता प्राप्त गर्ने दुवै अवसर छ।

इङ्ल्यान्डकी प्रशिक्षक सेरिनाले आफ्नो ३७ खेलमा एक मात्र हार बेहोरेकी छन्। त्यो हार चार महिनाअगाडि अस्ट्रेलियासँगको मैत्रीपूर्ण खेलमा (२–०) थियो। तेस्रो पटक महिला विश्वकपको सेमिफाइनलमा पुगेको इङ्ल्यान्डसामु विश्वकपको उपाधिमा प्रतिस्पर्धा गरी घरेलु टोलीलाई हराउनुको विकल्प हुने छैन। ‘यो प्रतिस्पर्धा निकै ठूलो हुनेछ,’ विगमेनले भनिन्, ‘सम्भवतः हामीले कल्पना गरेको भन्दा पनि ठूलो हुन सक्छ। मैले कस्तोसम्म प्रतिस्पर्धा हुन्छ भनेर मेरा खेलाडी र स्टाफलाई भनेकी छु। मलाई अस्ट्रेलियाका मानिस निकै मन पर्छ। यसको अर्थ यो होइन की हामीबीच प्रतिस्पर्धा कडा हुने छैन।’ ७५ हजार ७ सय ८४ दर्शकमध्ये अधिकांश कोलम्बियाका समर्थक रहेको खेलमा पनि  

इङ्ल्यान्डले नतिजा आफ्नो पक्षमा पारेको छ। अस्ट्रेलियाविरुद्धको खेलमा पनि प्रशिक्षक सेरिनाले सोही किसिमको दर्शक आउने अपेक्षा गरेकी छन्। 

प्रकाशित: ३० श्रावण २०८० ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App