६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

जमैकाको सफलताले नेतृत्वलाई दबाब

गोलकिपर रिबेका स्पेन्सरले जारी महिला विश्वकपमा जमैकाको ऐतिहासिक सफलतापछि महिला फुटबल टोलीलाई गम्भीरताका साथ लिन आफ्नो देशका फुटबलको नेतृत्वलाई दबाब दिइरहेको बताइन्।

‘रेगे गल्र्ज’उपनाम रहेको जमैकाले जारी महिला विश्वकपको अन्तिम १६ मा पुग्न बुधबार मेलबर्नमा ब्राजिलविरुद्ध उत्कृष्ट डेफन्स प्रस्तुत गरेको थियो। जमैकाले गोलरहित बराबरीमा रोक्दै विश्वको नवौं वरीयतामा रहेको ब्राजिललाई सन् १९९५ पछि महिला विश्वकपको खराब नतिजा बेहोर्न बाध्य बनायो। लोर्न डोनाल्डसनको टोली जमैका ५१औं वरीयतामा छ। यद्यपि, निकै विवाद र तनावका बीच पनि जमैका पहिलो पटक महिला विश्वकपको अन्तिम १६ मा पुग्न सफल भयो।  

जमैकन टोलीले विश्वकपअगाडि आफ्नो फुटबल महासंघले सहयोग नगरेको, महिला खेलाडीलाई कम पारिश्रमिक दिएको र तयारी पनि फितलो गरिरहेको आरोप लगाएका थिए। ‘हामी निरन्तर लडिरहेका छौं। खेलाडीहरूले आफूलाई प्रमाणित गर्न एउटा बिन्दुमा पुर्याएका छन्,’लन्डनमा जन्मिएकी स्पेन्सरले भनिन्, ‘जति उत्कृष्ट गर्दै जान्छौं, फेडेरसनलाई पनि उत्तिकै दबाबमा पार्नेछौं।’जमैकन गोलकिपर स्पेन्सरले अहिले भने फेडेरेसनले आफूहरूको आवाजलाई गम्भीरतापूर्वक लिएको विश्वास व्यक्त गरेकी छन्।  

जमैकाले अर्को हप्ता समूह ‘एच’को विजेता कोलम्बियासँग प्रतिस्पर्धा गर्दै छ। कोलम्बिया समूहको दुई खेलमा जित र एक हारका साथ नकआउट चरणमा पुगेको हो। दक्षिण अमेरिकी टोली कोलम्बियाले समूहको अन्तिम खेलमा मोरक्कोसँग १–० को साँघुरो हार बेहोरेको थियो। ब्राजिल र विश्वकै लिजेन्ड स्टाइकर मार्टालाई स्तब्ध बनाएको जमैकाले विजयोत्सव मनाउँदै ‘हामीले भनेका थियौं’भन्ने एक साथ अभिव्यक्ति दिएका थिए।

‘हामीलाई धेरै नै कम मूल्यांकन गरिरहेको महसुस भयो,’टोटनहम हट्सपरकी गोलकिपर स्पेन्सरले भनिन्। एक खेलाडीले विश्वकपको तयारी गर्न फेडेरेसनले एउटा मैत्रीपूर्ण खेलसम्मको तयारी गर्न असफल भएको आरोप लगाइन्। ‘त्यो आवाज हामीमाथि जजसले अन्याय गरेका थिए उनीहरूका लागि हो। अभ्यास खेलको अभावका बीच पनि हामीले विश्वकपमा केही गरिरहेका छौं। हाम्रा मागलाई कसैले पनि गम्भीरतापूर्वक लिएनन्,’३२ वर्षीया स्पेन्सरले भनिन्, ‘हामी खेलाडी र यो टोलीसँग रहेका अन्य स्टाफहरू एक र एउटा परिवारजस्तो शान्तपूर्वक काम गरिरहेका छौं।’  

प्रकाशित: १९ श्रावण २०८० ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App