५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

जमैका पहिलो पटक नकआउट चरणमा

जमैकाकी खेलाडीसँग बलका लागि प्रतिस्पर्धा गर्दै ब्राजिलकी मार्टा (बायाँ) ।तस्बिर: एएफपी

लिजेन्ड फुटबलर मार्टाको करियर दुखद रूपमा अन्त्य हुँदा जमैकाले बुधबार ब्राजिललाई गोलरहित बराबरीमा रोक्दै महिला विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ।  

यो बराबरीसँगै ब्राजिल सन् १९९५ पछि महिला विश्वकपको समूहचरणबाटै बाहिरिन पुग्यो। ब्राजिलका लागि मात्र होइन उसका लिजेन्ड फुटबलर मार्टाका लागि बुधबार दुखद दिन बन्यो। छैटौं पटकको विश्वकप सहभागी ३७ वर्षीया मार्टाले यो नै आफ्ना लागि अन्तिम विश्वकप हुने बताएकी थिइन्। जहाँ बुधबार उनी आँसुसहित आफ्ना करियरको अन्त्यस गर्न बाध्य भइन्। तर, जारी विश्वकपमा एक गोल पनि नबेहोरेको जमैकन टोलीका लागि भने यादगार बन्यो र इतिहासमा पहिलो पटक नकआउट चरणमा स्थान बनाउन सफल भयो।  

आफ्नो देशको फुटबल महासंघसँग विवादबीच विश्वकपमा आएको लोर्ने डोनाल्डसनको अपराजित टोली जमैकाले यो सफलता पाएको हो। समूहमा फ्रान्सपछि दोस्रो स्थानमा रहेको जमैकाले सम्भवतः अर्को चरणमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ। ‘यो मेरो जीवनै उत्कृष्ट दिन हो,’ प्रशिक्षक डोनाल्डसनले भने, ‘जमैकाले अविश्वसनीय सफलता पाएको छ। केटीहरूले आज देशका लागि केही गरें र देशले पनि उनीहरूप्रति गर्व गर्नुपर्छ।’ अस्ट्रेलियामा जारी विश्वकपको आगामी चरणमा पुग्न ब्राजिलका लागि जित आवश्यक थियो। यता, जमैका भने बराबरीमा पनि ऐतिहासिक सफलता प्राप्त गर्न समीकरणमा थियो।

तर, दक्षिण अमेरिकन टोली ब्राजिलले अझ उत्कृष्ट प्रदर्शन गर्न सकेन। करिब २८ हजार दर्शक रहेको खेलमा ब्राजिलले बल पोसेसन र गोल आक्रमण दुवै आफ्नो नियन्त्रणमा राखेको थियो। ब्राजिलले आठ पटक गोलको आक्रमण बुन्दा जमैकाले एक पटक पनि सफलता पाउन सकेको थिएन। तर पनि ब्राजिलले गोल गर्न सकेन। मार्टाले खेलको सुरुआतमा नै अवसर पाएको खेलमा जमैका कुनै पनि समयमा दबाबमा देखिएन। पहिलो खेलमा फ्रान्ससँग गोलरहित बराबरी खेलेको जमैकाले दोस्रो खेलमा पानामामाथि १–० को सफलतासँगै विश्वकपको पहिलो जित प्राप्त गरेको थियो।

ब्राजिलकी प्रशिक्षक पिया सनधागेले गोलविहीनको अवस्था तोड्न नै सकिनन्। दोस्रो हाफमा ब्राजिलले गोल गर्ने सुन्दर अवसर पनि गुमाउन पुग्यो। म्यानचेस्टर सिटी र जमैकाकी स्टार स्ट्राइकर खादिजा सअ अट्याकिङ क्षेत्रमा कमै देखिइन्। सन् २०१९ को विश्वकपमा तीनै खेलमा हार बेहोरेको जमैकाले यस पटक भने आफ्नै फुटबल महासंघसँगको तनावका बीच सफलता प्राप्त ग¥यो। विश्वकपअगाडि जमैकाका खेलाडीले आफ्नो फेडेरेसनले आफूहरूलाई सहयोग नगरेको, राम्रो पारिश्रमिक पनि नदिएको र विश्वकपको तयारी खराब गरिरहेको आरोप लगाएका थिए।

प्रकाशित: १८ श्रावण २०८० ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App