५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

गण्डकी खेलकुद पदकः कार्यविधि बनाउन कार्यदल

प्रदेश खेलकुद परिषदले गण्डकी खेलकुद पदकको लागि कार्यविधि तयार पार्न आवश्यक कार्यदल बनाएको छ। परिषदका सदस्य सचिव श्रीधर शर्माकै अध्यक्षतामा कार्यदल बनाई आगामी भदौ मसान्तसम्म कार्यविधिको मस्यौदा तयार पार्ने जिम्मेवारी तोकेको छ।

सदस्य सचिव शर्माले भदौ मसान्तसम्म कार्यविधिको मस्यौदा तयार गरेपछि पूर्णता दिन फेरी एकपटक छलफल गरिने टुंग्याउने स्पष्ट पारे। ‘गण्डकी खेलकुद पदकको लागि मेरै संयोजकत्वमा पाँचसदस्यीय कार्यदल गठन भएको छ,’ सदस्य सचिव शर्माले भने, ‘त्यो कार्यदलले भदौ मसान्तसम्म कार्यविधिको मस्यौदा बनाउनेछ। बनाईएको मस्यौदामा फेरी छलफल गरेर निर्णयमा पुग्छौं।’

उनले प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता एवं सहभागि जनाएका खेलाडीलाई गण्डकी खेलकुद पदकबाट सुशोभित गरिनेछ। खेलाडीहरुको पदकको आधारमा बर्गीकरण गरी सोही अनुसारको पदकबाट सम्मानित गरिने उनको भनाई थियो। ‘कुन तहको खेलाडी हो। राष्ट्रिय तथा अन्तरर्राष्ट्रियमा पदक विजेता, सहभागिता कुन हो त्यसलाई हेरेर मस्यौदा तयार पार्छौ,’ उनको भनाई थियो।  

प्रदेश सरकारले नै खेलकुदमा विशेष योगदान दिने खेलाडी, प्रशिक्षक तथा अन्य संघसंस्था तथा व्यक्ति विशेषलाई गण्डकी खेलकुद पदकबाट सम्मानित गर्ने बजेट भाषणमै उल्लेख गरेको थियो। सोही घोषणा अनुसार प्रदेश खेलकुद परिषदले गण्डकी खेलकुद पदकको लागि आवश्यक गृहकार्य गरेको हो। 

सचिव शर्माकै नेतृत्वमा बनेको कार्यदलको सदस्यहरुमा दिलबहादुर गुरुङ, खगेन्द्र क्षत्री, मन्त्रालयका कानून अधिकृत सृजना आचार्य र परिषदका कार्यलय प्रमुख तोपलाल भु्षाल रहेका छन्। कार्यदलले डेढमहिनाभित्रैमा मस्यौदा तयार पारेर परिषदमा पेश गर्ने सदस्य सचिव शर्माको भनाई थियो। समितिले मस्यौदासँगै दिइने खेलकुद पदकको नमूना समेत बनाउने छ। ‘पदकको नमूना कस्तो बनाउने भन्ने समितिले मस्यौदासँगै पेश गर्नेछ।’ सदस्य सचिव शर्माले भने।  

शर्माले खेलाडीको सम्मानार्थ विशेष पहलकदमी समेत गर्ने उल्लेख गरे। ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एरिनामा पदक विजेता खेलाडीलाई सरकारी अस्पतालको ओपडीमा शतप्रतिशत, निजी अस्पतालमा ५० प्रतिशत शुल्कमा छुट दिने विषयमा समेत छलफल शुरु गरिएको छ,’ उनले भने, ‘त्यति मात्रै भएपनि खेलाडीप्रतिको सम्मान हुने ठानेका छौं।’ उनका अनुसार खेलाडीको परिवारको अपरेशनमा २० प्रतिशत समेत छुट दिनुपर्ने सुझाव आएको छ।  

खेलाडीका सन्तानको उचित शिक्षाको लागि समेत सरकारी तबरबाट राहत हुने गरी व्यवस्था गर्नुपर्नेमा समेत सुझाव आएको सदस्य सचिव शर्माको भनाई थियो। ‘विद्यालय तथा विश्वविद्यालयमा अध्ययन गर्ने खेलाडीको छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था गर्ने तर्फ जोड दिनुपर्ने सुझाव आएको छ,’ उनले भने,‘त्यसको लागि प्याब्सन,  एनप्याब्सन तथा हिसानसँग छलफल गर्ने योजनामा छौं।’ उनले खेलाडीको विमा तथा कल्याणकारी कोषको लागि समेत प्रदेश खेलकुद परिषदले अग्रसरता लिएको सुनाए। 

सदस्य सचिव शर्माले गण्डकी प्रदेशकै कभर्ड हल निर्माण र क्रिकेट मैदानको लागि समेत सम्भाव्य अध्ययन गर्न टोली बनाएको छ। टोलीले प्रदेशका ११ वटै जिल्लामा सम्भावित अध्ययन गरेर निष्कर्ष निकाल्ने छ। उनका अनुसार क्रिकेटको लागि शुक्ला गण्डकी नगरपालिकामा मैदान बनाउन सम्भावित अध्ययन गरिएको छ।  

प्रकाशित: १६ श्रावण २०८० १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App