८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

नाटकीय खेलमा जर्मनी स्तब्ध

नाटकीय खेलको ९७औं मिनेटमा कोलम्बियाले गोल गरेपछि जर्मनी २–१ ले स्तब्ध भएको दिन आइतबार नर्वे र स्विट्जरल्यान्डले महिला विश्वकपको अन्तिम १६ मा स्थान बनाएका छन्।

पहिलो खेलमा मोरक्कोमाथि ६–० को जितसहित सबैको ध्यान तानेको जर्मनी दोस्रो खेलमा भने दक्षिण अमेरिकी प्रतिद्वन्द्वी कोलम्बियासँग स्तब्ध हुन पुग्यो। यता, आयोजक न्युजिल्यान्डको पनि समूहचरणबाटै यात्रा टुङ्गिने भएपछि आइतबार मैदानबाट आँसुका साथ बाहिरिएको थियो। यस विश्वकपमा स्पेन, अमेरिका र इङ्ल्यान्डसँगै दाबेदारकै रूपमा हेरिएको जर्मनीले राम्रो सुरुआत गरे पनि त्यो लयलाई जारी राख्न सकेन। करिब ४० हजार दर्शक उपस्थित रहेको सिड्नी स्टेडियममा १८ वर्षीया लिन्डा काइसेडोप्रेरित कोलम्बियाले रोमाञ्चक रूपमा पुनरागमन ग¥यो।

रियाल मड्रिडकी अट्याकर काइसेडोले विश्वकपकै उत्कृष्ट गोलमध्ये एक गरिन्। यस क्रममा काइसेडोले जर्मनीका दुई डिफेन्डरलाई छक्याउँदै टप कर्नर गोल गरेकी हुन्। काइसेडोको गोलसँगै कोलम्बियाले ५२औं मिनेटमा अग्रता लियो। तर, ८९औं मिनेटमा जर्मनी गोल फर्काएपछि कम्तीमा एक अंक प्राप्त गर्ने लक्ष्यमा थियो। कप्तान एलेक्जान्ड्रा पोपले पेनाल्टीमार्पmत गोल गरिन्। यद्यपि, इन्जुरी समयको अन्ततिर खेलले नाटकीय मोड लियो।  

म्यानुइला भेनेगसले गोल गर्दै कोलम्बियाको अन्तिम १६ को सम्भावना जीवन्त राखिन्। अन्तिम खेल बाँकी छँदा कोलम्बिया समूह ‘एच’ मा ६ अंकसहित शीर्ष स्थानमा छ। जर्मनी र मोरक्कोको समान तीन अंक छ भने एसियाली राष्ट्र दक्षिण कोरियाले अहिलेसम्म अंक जोड्न सकेको छैन। जर्मनीको पनि नकआउटचरणको सम्भावना बाँकी छ। तर, त्यसका लागि समूहको अन्तिम खेलमा दक्षिण कोरियालाई हराउनुपर्नेछ। यता, शीर्ष स्थानको कोलम्बियाले भने समूहको अन्तिम खेलमा मोरक्कोविरुद्ध चुनौती प्रस्तुत गर्दै छ।  

मोरक्कोको ऐतिहासिक जित

मोरक्कोले आइतबार आफ्नो महिला विश्वकप इतिहासमा नै पहिलो जित निकाल्यो। इब्टिसम जेरेडीको सुरुआती गोल प्रेरणामा मोरक्कोले दक्षिण कोरियामाथि १–० को साँघुरो जित निकालेको हो। यस विश्वकपमा पहिलो जित निकाल्ने क्रममा मोरक्कोले अर्को इतिहास पनि बनायो। मोरक्कोकी डिफेन्डर नौहेला बेन्जिना महिला विश्वकपमा हिजाब लगाएर खेल्ने पहिलो खेलाडी बनिन्।

बाहिरियो आयोजक न्युजिल्यान्ड

नर्वे र स्विट्जरल्यान्डले संघर्षपूर्ण बनेको समूह ‘ए’ बाट नकआउट चरणमा स्थान बनाउँदा आयोजक न्युजिल्यान्ड भने बाहिरियो। यस क्रममा पूर्वच्याम्पियन नर्वेले अकल्यान्डमा भएको समूहको अन्तिम खेलमा फिलिपिन्समाथि ६–० को जित निकालेपछि गोलअन्तरमा न्युजिल्यान्डलाई पछि पार्दै अन्तिम १६ को यात्रा तय गरेको हो। डुनेडिनमा भएको खेलमा आयोजक न्युजिल्यान्डले स्विट्जरल्यान्डलाई गोलरहित बराबरीमा रोके पनि त्यो नतिजा नकआउट चरणमा पुग्नका लागि पर्याप्त भएन। त्यससँगै न्युजिल्यान्ड घरेलु मैदानमा जारी विश्वकपमा आँसु खसाल्दै बाहिरिन बाध्य भयो। सन् १९९५ को च्याम्पियन नर्वेलाई जितको खाँचो थियो। यद्यपि, नर्वेले विश्वकपमा डेब्यु गरेको फिलिपिन्समाथि रबाफिलो जित नै आत्मसात् ग¥यो। फिलिपिन्सको पनि अविश्वसनीय नतिजाको यात्रा समाप्त भयो। नर्वेका लागि सोफी रोमन हगले ह्याट्रिक पूरा गरिन्।

प्रकाशित: १५ श्रावण २०८० ०१:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App