१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

क्लब र खेलाडीको घरमा छापा

पेरिस- अनुसन्धानकर्मीहरूले कर छली प्रकरणमा मंगलबार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) को मुख्यालय तथा क्लबका अर्जेन्टिनी मिडफिल्डर एन्जेल डी मारिया र हाभियर पास्टोरेको घरमा छापा मारेको अधिकारीहरूले बताएका छन्।

फुटबलसम्बन्धी एक वेभसाइट ‘फुटबल लिक्स’ ले आर्थिक लेखाजोखाका साथै शीर्ष खेलाडीका बारेमा अन्य विवरण सार्वजनिक गरेसँगै फ्रान्सेली अधिकारीले डिसेम्बरमा यससम्बन्धी अनुसन्धान अघि बढाएका थिए।

डी मारिया र पास्टोरेमाथि कर छली प्रकरणमा संलग्न भएको भन्दै अनुसन्धान अघि बढाइएको अधिकारीहरूले बताएका छन्।

प्रहरीले लिग वानको टोली नान्टेसका अर्जेन्टिनी स्ट्राइकर इमिलियानो सलाको घरमा पनि छापा मारेको थियो।

पेरिसमा रहेको पिएसजीको मुख्यालयका साथै प्रशासनिक भवनमा पनि छापा मारिएको अधिकारीहरूले  फ्रान्सेली अनुसन्धानसम्बन्धी समाचार वेभसाइट मिडियापार्टको प्रतिवेदनलाई पुष्टि गर्दै एएफपीलाई बताएका छन्।

मिडियापार्टका साथै अन्य सञ्चारमाध्यममा आएका समाचारका आधारमा कर छली प्रकरणमा अनुसन्धान गरिएको र छापा मारिएको बताइएको छ।

उक्त पत्रले सन् २०१५ अगस्टमा म्यानचेस्टर युनाइटेडबाट पिएसजीमा अनुबन्धित भएका डी मारिया र पास्टोरेले कर छल्न अनुबन्धन प्रक्रियामा छली गरेर ठूलो रकम हिनामिना गरेको आरोप लगाएको छ।

तर पिएसजीलेे उक्त आरोपको खण्डन गर्दै पास्टोरे र डी मारियाको सम्झौताका बारेमा भनेको छ, 'उनीहरूको सम्झौता नियमसंगत छ। पेरिस सेन्ट जर्मनले दुई खेलाडीका बारेमा मागिएको जानकारी र प्रतिवेदन  सम्बन्धित अधिकारीलाई बुझाइसकिएको छ।’

पिएसजीले सिजनको अन्तिम खेलअन्तर्गत स्टेड डे फ्रान्समा फ्रेन्च कपको फाइनलमा एंगर्ससँग खेल्नु एक दिनअघि छापा मारिएको हो।

फ्रेन्च लिगमा मोनाकोभन्दा पछि रहँदै उपाधि दौडबाट टाढिइसकेका कारण कपको फाइनल प्रशिक्षक युनाई इमरेको भविष्यका लागि महत्वपूर्ण हुनेछ ।

लिग कप र फ्रेन्च च्याम्पियन्स ट्रफीको उपाधि जितेको पिएसजी पहिलो लेगमा ४–० को अग्रता लिनाका बावजुद दोस्रो लेगमा ६–१ को लज्जास्पद हार बेहोर्दै च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको थियो।

फुटबल लिक्सले रियाल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा तथा प्रशिक्षक जोजे माउरिन्होले पनि कर छली गरेको खबर सार्वजनिक गरेको थियो।

रोनाल्डोले ब्रिटिस भर्जिन आइल्यान्डमा १५ करोड युरो लुकाएको आरोप लगाएको थियो।

साथै फुटबल लिक्सले इङ्ल्यान्डका पूर्वकप्तान डेविड बेकह्यामको इमेल ह्याक गर्दै उनी ठूलो बन्ने लक्ष्यले मात्र मानवीय कार्यमा संलग्न भएको दाबी गरेको थियो।

प्रकाशित: ११ जेष्ठ २०७४ ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App