१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपालको अघिल्लो चरण सम्भावना समाप्त

चिनियाँ खेलाडीसँग बलका लागि प्रतिस्पर्धा गर्दै नेपाली खेलाडी (रातो)। तस्बिर सौजन्य: एन्फा

एएफसी यु–२० महिला एसियन कप छनोटका लागि म्यानमार भ्रमण गरेको नेपाली टोलीले चीनसँग ५–० ले पराजित भएसँगै छनोट प्रतियोगितामा लगातार दोस्रो हार ब्यहोरेको छ।

पहिलो खेलमा आयोजक म्यानमारसँग पनि समान ५–० गोलअन्तरले पराजित भएको नेपालको अघिल्लो चरणको सम्भावना समाप्त भएको छ। यता लगातार दोस्रो जित निकालेको चीनले भने एसियन कपको सम्भावना बलियो बनाएको छ। म्यानमारको यांगोनस्थित थुवुन्ना स्टेडियममा बिहीबार चीनलाई जिताउन ओयाङ युह्यान, हुओ युसिन, यिन लिहोङ, लु ह्वायु र यु जियाकीले समान एक गोल गरे।

पहिलो मिनेटबाट नै नेपालमाथि हाबी भएको चीनले खेलको १६औं मिनेटमा युह्यानको गोलमार्फत अग्रता लिएको थियो। १० मिनेटपछि युसिनले टोलीको अग्रता दोब्बर बनाएकी थिइन्। दुई गोलले पछि परेसँगै फितलो प्रदर्शन गरेको नेपालले पहिलो हाफको इन्जुरी समयमा थप दुई गोल खान पुगेको थियो। इन्जुरी समयमा लिहोङ र ह्वायुले गोल गरेपछि चीनले पहिलो हाफमा ४–० को सहज अग्रता बनाएको थियो।

दोस्रो हाफमा नियमित खेलाडीलाई आराम दिँदै अन्य खेलाडीलाई मौका दिएको चीनले दोस्रो हाफमा थप एक गोल गर्न सक्यो।

निर्धारित समय सकिन १ मिनेट बाँकी रहँदा जियाकीले गोल गर्दै चीनका लागि फराकिलो जित निश्चित गरिन्। छनोटअन्तर्गत नेपालले अन्तिम खेलमा शनिबार चाइनिज ताइपेईको सामना गर्नेछ।

प्रकाशित: २६ जेष्ठ २०८० ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App