६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

मच्छिन्द्रलाई प्रमुख खेलाडीको चोट चिन्ता

मच्छिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक किशोरकुमार केसीले टोलीको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा प्रमुख खेलाडीको चोट बाधक बन्ने चिन्ता व्यक्त गरेका छन्।  

लिगअन्तर्गत आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा खेलमा मच्छिन्द्रले एपिएफमाथि २–१ को पुनरागमन जित निकालेको थियो। यससँगै मच्छिन्द्रले एपिएफसँग लिगको पहिलो चरणमा बेहोरेको १–० को हारको बदलासमेत लिएको छ। ३७औं मिनेटमा स्ट्राइकर अर्मान्ड बेडोमले गरेको गोलमा एपिएफले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयको पाँचांै मिनेटमा आन्द्रेस नियाको फ्रिकिक गोलमा मच्छिन्द्र खेलमा फर्किएको थियो। इन्जुरी समयको तेस्रो मिनेटमा स्ट्राइकर आफिज ओलाओलेले ओडिपोले गरेको गोल मच्छिन्द्रको जितमा पर्याप्त बन्यो।

मच्छिन्द्र १५ खेलको समाप्तिमा २४ अंकसहित चौथो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडको भन्दा मात्र ३ अंक कम हो। दोस्रो स्थानको जावलाखेल युथ क्लब र तेस्रो स्थानको थ्री स्टार क्लबको पनि समान २४ अंक छ। लिग उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिए पनि पहिलो चरणमा स्वाभाविक लयअनुरूपको प्रदर्शन गर्न नसक्दा मच्छिन्द्र दबाबमा परेको थियो। प्रशिक्षक केसीको आगमनपछि मात्र मच्छिन्द्रले जित लय भेट्टाएको थियो। लिगको दोस्रो चरणको दुई खेलमा भने मच्छिन्द्रले जितलय कायम राखेको छ। दोस्रो चरणको पहिलो खेलमा मच्छिन्द्रले संकटा क्लबलाई ३–१ ले निराश पारेको थियो।  

मच्छिन्द्र १५ खेलको समाप्तिमा २४ अंकसहित चौथो स्थानमा उक्लिएको छ। जुन शीर्ष  स्थानको चर्च ब्वाइज युनाइटेडको भन्दा मात्र ३ अंक कम हो।

‘हाम्रो लक्ष्य लिग उपाधिका ह्याट्रिक गर्ने नै हो,’ केसीले भने, ‘हामी अहिले जित लयमा छांै। आज एपिएफविरुद्ध हामीलाई जसरी पनि ३ अंक चाहिएको थियो र हामी सफल भयौं। लगातारको जितले टोलीको मनोबल बढेको छ। हामी लगतारको सुखद नतिजापछि उपाधि दाबेदारको छविमा समेत पुनरागमन गर्न सफल भएका छौं।’

यद्यपि प्रमुख खेलाडीको चोट भने टोलीको उपाधि सपनामा मुख्य चुनौती हुने चिन्ता केसीको रहेको छ। मच्छिन्द्रले १६औं चरणमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडको सामना गर्दै छ।  

‘हामीलाई लिगको सुरुआतबाटै प्रमुख खेलाडीको चोटले सताएको थियो। अहिले पनि त्यो कायम छ,’ केसीले थपे, ‘विमल घर्तीमगर कुर्कुच्चाको चोटका कारण अर्को खेलमा हुने सम्भावना न्यून छ। देबेन्द्र तामाङलाई पनि चोटकै कारण आइतबारको खेलमा आराम दिइएएको हो। आफिल ओलाओले पनि पूर्ण रूपमा फिट छैनन्। हामीले अर्को खेलमा चर्च ब्वाइजको सामना गर्दै छौं। सो खेल जित्नैपर्ने दबाब छ। जसले हाम्रो उपाधि यात्रामा विशेष अर्थ राख्न सक्छ।’  

यता एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले टोलीले लिगको सुरुआतमा शीर्ष चारको लक्ष्य लिए पनि अब टोलीको लक्ष्य रेलिगेसन टार्ने रहेको बताए। ‘हामीले आज पाएको गोलको अवसर सदुपयोग गर्न नसक्नु नै हारको मुख्य कारण हो,’ महर्जनले भने, ‘अब टोलीमाथि रेलिगेसनको दबाब रहेको छ। अन्तिम स्थानको टोली र हामीबीचको दूरी मात्र ४ अंक छ। त्यसले पनि टोलीमाथि दबाब थपिएको छ।’  

आइतबारै एन्फा मुख्यालय सातदोबाटोमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले भने अन्तिम समयमा सम्हालिन नसक्दा संकटासँग १–१ को बराबरी गर्दै अंक बाँडेको छ। खेलको १८औं मिनेटमा कप्तान भरत खवासको गोलमा आर्मीले अग्रता लिएको थियो। इन्जुरी समयमा संकटाका युसुफ एट्रिसले पेनाल्टीको सदुपयोग गरेसँगै आर्मी निराश भएको थियो। 

प्रकाशित: २५ वैशाख २०८० ०१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App