१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

रोनाल्डो आतुर छन् : जिदान

योकोहामा- प्रशिक्षक जिनेदिन जिदानले क्रिस्टियानो रोनाल्डो रियाल मड्रिडलाई क्लब विश्वकपको अर्को उपाधि दिलाउँदै आफू बालोन डी'अर अवार्डको हकदार प्रमाणित गर्न आतुर रहेको बताएका छन्।

यसै साता चौथोपटक विश्वका सर्वोकृष्ट खेलाडी घोषित पोर्चुगलका स्ट्राइकर रोनाल्डोले रियालको आक्रमणको जिम्मेवारी सम्हाल्ने छन्, जहाँ युरोपियन च्याम्पियनले बिहीबार हुने सेमिफाइनलमा मेक्सिकोको ‘क्लब अमेरिका’को सामना गर्दैछ।

‘क्रिस्टियानो यस खेलका लागि धेरै आतुर छन्,सधैँजसो,’ जिदानले योकोहामामा पत्रकारसँग भने, ‘उनी यो खेल मैत्रीपूर्ण भएको भए पनि आतुर हुन्थे। उनी यस्तै प्रकारका खेलाडी हुन्। बालोन डी'अर जित्नु ठूलो उपलब्धि हो र यो प्राप्त गर्नु सजिलो काम होइन। उनले जे गरिरहेका छन् त्यो अभूतपूर्व छ र उनी पँाचौंपटकका लागि समेत सक्षम छन्।’

रियाललाई ११ औं पटक युरोपियन च्याम्पियन बनाउनुका साथै पोर्चुगललाई पहिलोपटक युरोको उपाधि दिलाएका रोनाल्डो अर्जेन्टिनी लियोनल मेसीको कीर्तिमाननजिक छन्। मेसीले बालोन डी'अर पाँचपटक जितेका छन्। यसपालि सहित रोनाल्डोले चारपटक उपाधि हत्याए।

कर छली प्रकरणमा मुछिएपछि केही चिन्तित देखिएका ३१ वर्षे रोनाल्डोले मेसी र आफूले एउटै टोलीबाट खेलेको भए मेसीले भन्दा धेरै अवार्ड जित्नेतर्फ संकेत गरेका छन्।

‘हामी दुवैलाई एउटा टोलीमा देखिनु धेरै रोचक हुन्थ्यो,’ रोनाल्डोले भने, ‘मेरो विचारमा महान् खेलाडीले एक साथ खेल्नुपर्छ। यदि हामीले एउटै टोलीबाट खेलेको भए मैले उनको भन्दा बढी उपाधि जित्थेँ, तर उनी पनि त्यति पछि पर्दैनथे। सबैलाई थाहा छ मेसी महान् खेलाडी हुन्। उनले पाँचपटक बालोन डी'अरको उपाधि जितेका छन्।’

पछिल्ला ३५ खेलमा अपराजित रियाल मड्रिड अहिले स्पेनिस ला लिगको शीर्ष स्थानमा छ। तर बिहीबार हुने क्लब विश्व च्याम्पियनसिपको सेमिफाइनलमा रियालका कप्तान सर्जियो रामोस भने टोलीमा हुने छैनन्। ‘उनले खेल्नसक्छन् जस्तो मलाई लाग्दैन,’ जिदानले भने, ‘यो धेरै गम्भीर समस्या होइन तर उनी लामो दुरीको यात्रापछि थकित छन् र हामी जोखिम मोल्न चाहँदैनौं। हामी उनलाई फाइनलका लागि राख्न चाहन्छौं।’

वेल्सका स्ट्राइकर गारेथ बेललाई कुर्कुच्चाको शल्यक्रियाका कारण गुमाएका जिदानले क्लब अमेरिकालाई कमजोर नठान्न आफ्ना खेलाडीलाई चेतावनी दिएका छन्।

‘उनीहरूका धेरै खेलाडीलाई रियाल मड्रिडसँग खेल्ने यो एकमात्र अवसर हो। उनीहरू जितका लागि आतुर छन्,’ जिदानले भने, ‘मैले खेलाडीलाई जित हात पार्न प्रदर्शनमा ध्यान दिन भनेको छु। क्लब अमेरिकासँग धेरै राम्रा खेलाडी छन् र उनीहरूले हामीलाई धेरै चुनौती दिन्छन्। यो खेल हाम्रा लागि धेरै महत्वपूर्ण छ।’

 

प्रकाशित: ३० मंसिर २०७३ ०४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App