११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

शुक्रले गरे सेन्ट्रल ओपनको उपाधि रक्षा

नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईले चार स्ट्रोकको अग्रतासहित शुक्रबार सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि रक्षा गरेका छन्।

पार–७२ को गोकर्ण गल्फ क्लबमा कुल २३ अन्डर २ सय ६५ स्कोर कार्डसहित शुक्रले यस पटक पनि सेन्ट्रल ओपन च्याम्पियन हुँदै करियरको ११ उपाधि जितेका हुन्। यो स्कोरसँगै उनले सन् २००८ मा भारतीय गल्फर समिम खानले सूर्य नेपाल मास्टर्समा कायम गरेको रेकर्ड बराबरी गरे। कुल ७२ होलको खेलमा शुक्रबार फाइनल चरणमा उनले दुई अन्डर ७० स्कोर कार्ड बटुले। प्रतियोगिताको दोस्रो चरणमा शुक्रले ११ अन्डर ६१ को नयाँ कोर्स रेकर्ड पनि बनाएका छन्।

यो सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत पाँचौं प्रतियोगिताको हो। यस प्रतियोगितामा भुवन नगरकोटी चार स्ट्रोकले पछि पर्दै दोस्रो स्थानमा खुम्चिए। कुल ७२ होलको खेलमा भुवनले १९ अन्डर २ सय ६९ बनाए। फाइनल चरणमा भने उनको प्रदर्शन चार अन्डर ६८ रह्यो। विजेता शुक्रले ट्रफीसँगै एक लाख ४० हजार र भुवनले ९० हजार रूपैयाँ प्राप्त गरे। एमेच्योर गल्फर सद्भाव आचार्य समग्रमा तेस्रो स्थानमा रहे। युवा गल्फर सद्भावले कुल १५ अन्डर २ सय ७३ को कार्ड बटुल्दै एमेच्योरतर्फ च्याम्पियन भए।

सद्भावले नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङलाई एक स्ट्रोकले पछि पार्दै करियरकै पहिलो उपाधि प्राप्त गरे। सुवास १३औं सागका दोहोरो स्वर्ण पदक विजेता पनि हुन्। सुवासले अन्तिम दिन सात अन्डर ६५ को कार्ड बनाए पनि सद्भावसँग पछि परे। नीरज तामाङ प्रोफेसनलतर्फ तेस्रो र समग्रमा पाँचौं भए। नीरज कुल दुई ओभर २ सय ९० स्कोरमा रहे र ६७ हजार नगद पुरस्कार पाए। अन्तिम दिन ९ अन्डर ८१ को खराब प्रदर्शन गरेपछि जयराम श्रेष्ठ समग्रमा चौथो स्थानमा खुम्चिए। उनको कुल पाँच ओभर २ सय ९३ को प्रदर्शन रह्यो।

टंकबहादुर कार्की पाँचौं स्थानमा रहे। जयरामले ५५ हजार र टंकबहादुरले ४७ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे। प्रतियोगितामा ३१ प्रो. र ९ एमेच्योर गल्फरसहित कुल ४० गल्फरले प्रतिस्पर्धा गरेका थिए। प्रोफेसनल गल्फर एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा उक्त प्रतियोगिता भएको हो। प्रतियोगिताका विजेतालाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दिप्रा लाहिरी र पिजिए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कृत गरेका थिए।

प्रकाशित: ४ चैत्र २०७९ ०४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App