९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

भलाद्मीपनले दिलाएको मनोनयन

मोहम्मद आसिफ शेख

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेट किपर मोहम्मद आसिफ शेखले गत वर्ष भलाद्मीपन देखाएकै कारण चर्चामा रहे।

आसिफले गत वर्ष विश्व क्रिकेटको सर्वोच्च संस्था (आइसिसी) ले प्रदान गरेको ‘आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड’ प्राप्त गरे। आसिफ आइसिसीको अवार्ड जित्ने पहिलो नेपाली खेलाडीसमेत बने। आइसिसीले वर्ष २०२२ मा गरेको प्रदर्शन आधार मानेर विभिन्न १३ विधामा पुरस्कृत गर्दा आसिफलाई खेलभावनाको कदर गरेको भन्दै उक्त अवार्ड प्रदान गरेको हो।

गत वर्ष फेब्रुअरी १४ मा ओमानमा सम्पन्न चार राष्ट्र सम्मिलित ट्वान्टी–२० शृंखला दौरान नेपाल र आयरल्यान्ड आमनेसामने भएका थिए। सुरुआती ब्याटिङका लागि आएको आयरल्यान्डले लगातार विकेट गुमाइरहेको थियो ।१८ ओभरको समाप्तिमा आयरल्यान्ड ११३–८ को स्थितिमा थियो। आयरल्यान्डलाई सम्मानजनक योगफलका लागि क्रिजमा रहेका ब्याटर टिकेको हुनुपर्दथ्यो।

१९औं ओभर लिएर आएका तीव्र गतिका बलर कमलसिंह ऐरीको तेस्रो बलमा मार्क एडरले लेग साइडमा ठूलो प्रहार गर्र्ने प्रयास गरेका थिए। तर बल उनको खुट्टामा लाग्यो र लेग साइडमा झ¥यो। बल नियन्त्रणमा लिने क्रममा कमल नन स्ट्राइकमा रहेका एन्डी म्याकब्रेनसँग जुध्न पुगेका थिए। म्याकब्रेन पिचको मध्यभागमा लडेका थिए।

ऐरीले बल नियन्त्रणमा लिँदै विकेटकिपर आसिफलाई दिएका थिए। उठेर पुनः रन लिने प्रयासमा रहेका म्याकब्रेन क्रिजबाट निकै पर थिए। उनलाई सहजै रनआउट गर्ने अवसर भए पनि आसिफले आउट गरेनन्। उच्च खेलभावना प्रदर्शन गरेको भन्दै आसिफको चर्चा चुलिएको थियो। जसले उनलाई यस विधाको मनोनयमा पारेको थियो।

आइसिसीको अवार्ड जित्ने पहिलो नेपाली खेलाडी बनेसँगै आसिफले भनेका थिए, ‘नेपाली क्रिकेटले यो अवार्ड पाएजस्तो लागेको छ।’

उनै आसिफ अहिले अकोे अवार्डको संघारमा छन्। आसिफ नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा पिपल्स च्वाइस विधाको मनोनयनमा परेका छन्। सो विधामा उनीसँगै भलिबलकी उषा भण्डारी, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामा र टेनिसकी अभिलाषा विष्ट रहेका छन्।

यसमा खेल पत्रकार र राष्ट्रिय खेलका प्रशिक्षकको मतको भार २५–२५ प्रतिशत रहने छ। भोटिङबाट आएको मतको भारत ५० प्रतिशत रहनेछ। पल्सर स्पोर्टस अवार्डको १९औं संस्करण फागुन २३ गते हुनेछ।

प्रकाशित: ८ फाल्गुन २०७९ ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App