१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

क्यान विवाद समाधान गर्न सल्लाहकार समिति

काठमाडौं- नेपाली क्रिकेटको पछिल्लो विवाद समाधान गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपालमा जारी क्रिकेट विवाद समाधानका लागि ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।नेपाल क्रिकेट संघ (क्यान) माथि प्रतिबन्ध लगाएको आइसिसीले राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई एक पत्र लेख्दै समिति गठन गर्न दिएको राखेप सल्लाहकार रोहित दहालले बताए ।

समितिमा खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेल, क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे, पूर्वकप्तान पवन अग्रवाल पूर्व कार्यवाहक अध्यक्ष दीपक कोइराला र एक राखेप प्रतिनिधि रहने बताइएको छ । अर्काे एक सल्लाहकार समितिको बैठकबाट चयन गर्न सक्ने पत्रमा उल्लेख छ ।

आइसिसीका फाइनान्स म्यानेजर अमर शेखले सल्लाहकार समितिको संयोजन गर्नेछन् । समितिलाई क्रिकेट विवाद समाधानका लागि आवश्यक विधान बनाउने तथा छिटोभन्दा छिटो निष्पक्ष निर्वाचन गराउने जिम्मा दिइएको छ । गत महिना आइसिसीका कर्यकारी प्रमुख डेभिड रिचार्डसनको नेतृत्वमा आएकोे टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल तथा खेलकुद मन्त्रालय र राखेपको पदाधिकारीसँग भेट गर्दै नेपाली क्रिकेट विवाद समाधानका लागि राष्ट्रिय क्रिकेट बोर्ड गठन गर्ने र त्यसका लागि सल्लाहकार समिति बनाउने सहमति भएको थियो । दोहोरो अस्तित्वपछि आइसिसीले वैशाखमा क्यानमाथि प्रतिबन्ध लगाएको थियो । यद्यपि आइसिसीकै संयोजनमा  नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा भाग लिँदै आएको छ ।

प्रकाशित: २० आश्विन २०७३ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App