७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

चुमनुब्री र आरुघाटमा राष्ट्रिय परिचय बनाउने टोली खटिए

गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबारबाट राष्ट्रिय परिचय पत्र बनाउन सुरु गर्दै।

गोरखाको चुमनुब्री र आरुघाट गाउँपालिकामा वडा/वडामै राष्ट्रिय परिचय पत्र बनाउन टोली खटिएको छ। चुमनुब्री गाउँपालिकामा आइतबारदेखि परिचय पत्र बनाउने काम सुरु भइसकेको प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले बताए।

जिल्ला प्रशासन कार्यालय गोरखाले १० दिनका लागि टोली पठाएको हो। ‘दुर्गम ठाउँ भएको र जाडो बढ्दै जाँदा हिमपात हुने भएकाले अहिले चुमनुब्रीमा अहिले नै पठाइएको हो’ गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने। चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिबासमा दुई वटा स्टेशन र आरुघाटमा गाउँपालिकाको वडा/वडामा स्टेशन रहनेछ।

यसअघि धार्चे र चुमुनुब्री पठाउने तयारी गरेपनि धार्चेका विभिन्न ठाउँमा पहिरो गएका कारण आउ-जाउमा समस्या हुने भएकाले धार्चेमा केही समयपछि टोली खटाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

चुमनुब्री गाउँपालिकाका मानिसलाई जिल्ला प्रशासन कार्यालय गोरखामा पनि परिचय पत्र बनाउन मिल्ने व्यवस्था गरिएको छ। ‘त्यहाँका अधिकांश मानिस बाहिर बस्नुहुन्छ, सबैलाई परिचय पत्र बनाउन गाउँमै जानु भन्दा दुःख हुने भएपछि हामीले यहाँबाट पनि सेवा दिएका छौँ’ प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने।

चुमनुब्री गाउँपालिकाका स्थानीयले जिल्ला प्रशासनमा राष्ट्रिय परिचय पत्र बनाउन आउँदा पालो कुर्नु पर्दैन। गाउँपालिकाको केन्द्र र जिल्ला प्रशासन दुबै ठाउँबाट सेवा दिइएकाले वडा/वडामा नलगिएको प्रशासनले जनाएको छ।

त्यहाँ जनसंख्या पनि कम छ। चुमनुब्री गाउँपालिकाबासीलाई जिल्ला प्रशासन र गाउँपालिकाको केन्द्र सिर्दिबास जहाँ सहज हुन्छ त्यहाँ बनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। आरुघाट गाउँपालिकाबासीलाई वडा/वडामा पुगेर परिचय पत्र बनाउन प्रशासनले आग्रह गरेको छ।

गोरखा नगरपालिका, पालुङटार, सिरानचोक, अजिरकोट, भिमसेन थापामा सकिसकेको सहायक प्रजिअ बरालले बताए। धार्चे गण्डकी, शहीद लखन, र बारपाक सुलिकोट गाउँपालिकामा राष्ट्रिय परिचय पत्र बनाउने टोली पठाउन बाँकी छ। जिल्ला प्रशासन कार्यालयले गाउँपालिकासँगको समन्वयमा पालिकामा टोली परिचालन गर्दै आएको छ।

प्रकाशित: ३० आश्विन २०७९ ११:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App