६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

बाढी प्रभावित भन्छन्ः चाडपर्व आयो के खाने, के लगाउने?

यही असोज १ गतेको बाढी र डुबानका कारण कैलालीको भजनीका अधिकांश नागरिक विस्थापित हुनुपर्‍यो। केही पूर्णरुपमा विस्थापित भए भने केही आंशिक रुपमा। पूर्ण रुपमा विस्थापित भएका यतिबेला भत्केको घर निर्माणमा जुटेका छन् भने आंशिक रुपमा विस्थापित भएका राहतको लागि नगरपालिका धाउनमै व्यस्त छन्।

चाडपर्व आएसँगै भजनीका अधिकांशको घरमा यतिबेला अन्न छैन। बाढीले क्षति पुर्‍याएका स्थानमा कयौँको घरमा भएको अन्नपात बाढीमै बग्यो भने कयौँको बाढीले भिजेर पूर्ण रुपमा नष्ट भयो। भजनी नगरपालिका–५ लालभोजीमा तुलाराम चौधरी मङ्गलबार नगरपालिका पुगेका थिए।

बाढीका कारण विस्थापित भएका उनि राहतका लागि नगरपालिका पुगेका हुन। घरमा भएको सबै अन्नपात बाढीले बगाएपछि खानको लागि घरमा केही नहुँदा त्यसैको जोहोका लागि नगरपालिका पुगेका उनि चाडपर्वको समयमा भएको विपत्तिले निकै अप्ठ्यारोमा पारेको सुनाए। 'छ जनाको परिवार छ। घरमा खानको लागि केही छै। 'उनि भन्छन्। , ' के खाने, के लगाउने निकै समस्या छ। परिवार पाल्नुछ। खेती पाक्न अझै महिना लाग्छ।'

सोही ठाउँका रामबहादुर चौधरी पनि बाढीका कारण विस्थापित भए। घरको अन्नपात बग्यो। खेतमा लगाएको धानबाली नष्ट भयो। शरीरमा लगाएको एक जोर लुगा भन्दा केही पनि बचाउन नसकेका रामबहादुरलाई पनि खानको निकै समस्या भएको छ। नगरपालिकाले दिएको राहतले एक दुई छाक टार्न भ्याए पनि अरु दिनको जोहो कसरी गर्ने भन्ने चिन्तामा उनि छन्। 'घरमा खानलाई केही छैन। लगाउन लाई नत लुगा।'उनि भन्छन्, 'चाडपर्व आए, आफूहरु त जसोतसो चुप बसौँला, तर बालबालिकालाई कसरी मनाउने भन्ने पिर छ।

उनि गाउँघरमा अरुको देखासेखी बढी चल्ने गरेको बताउँदै अर्कोले खाएको र लगाएको बालबालिकालाई जसरी पनि पुर्‍याउनुपर्ने बाध्यता जस्तै बन्ने गरेको बताउछन्। 'हामी पिडित छौँ। चाडपर्वमा रमाइलो नगर भन्नुभएन। आफूसँग अरुले गरेजस्तो गर्न स्रोत छैन।“ उनले भने, 'नगरपालिकाले २५ केजी चामल उपलब्ध गराएको छ। त्यसै चामलले हामीले दशैँ मनाउनु छ। के बालबालिकाको इच्छा पूरा होला, चाडवाडमा के हाम्रो पेट भरिएला र?'

भजनीका बाढी प्रभावितलाई सबैभन्दा ठूलो समस्या नै खाद्यान्नको भएको छ। घरको सबै अन्नपात केही बगेर त केही भिजेर नष्ट हुँदा यतिबेला ती पीडित परिवारलाई के खाने भन्ने चिन्ताले सताएको छ। खेतमा लगायतको धानबाली पनि कयौँ किसानको नष्ट भएको छ। बाँकी रहेको धान भित्राउन पनि अझै महिना दिन लाग्ने स्थिति छ।

यसमा नगरपालिका पनि निकै चिन्तित छ। बाढीका कारण विस्थापित भएका करिब सात हजार परिवारलाई नगरपालिकाले आवश्यक खाद्यान्न उपलब्ध गराउन सक्ने स्थिति पनि छैन। 'हाम्रो चिन्ता पनि नागरिकलाई भोको हुन नदिन के गर्न सकिन्छ भन्ने नै हो।”  

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीले भन्छन्। , 'घरमा भएको अन्न खाली भइसकेको छ। बाहिरको भित्राउन अझै एक महिना लाग्छ। अब एक महिनासम्म पुग्ने राहत नगरपालिकाको स्रोतले भ्याउन सक्दैन।' उनि बाढीका कारण तीन हजार घर पूर्ण र चार हजार घरमा पानी पसेको अनुमानित तथ्याङ्क रहेको बताउँदै अझै वास्तविक तथ्याङ्क आउन समय लाग्ने बताउछन्।

'हामीसँग वास्तविक तथ्याङ्क आइसकेको छैन। वास्तविक तथ्याङ्क आएपछि कति क्षति भएको रहेछ थाहा हुने छ।' उनले भने, 'पानी पसेका घरमा पनि खाद्यान्न बचेको छैन। बचेको खाद्यान्न पनि काम नलाग्ने भएको हामीले देखेर आएका छौँ।' नगर प्रमुख केवल चौधरीले विस्थापित नागरिकका लागि आवश्यक राहत सहयोगका लागि आह्वान गरिएको जनाउँदै राहत सामग्री नगरपालिकालाई उपलब्ध भए पनि विस्थापित धेरै भएका कारण पुर्‍याउन नसकिएको बताउछन्।

उनले बाढी आएको दिनदेखि आफूहरुले शान्तिको श्वास फेर्न नपाएको जनाउँदै बाढीबाट विस्थापित परिवारको अवस्था हेर्दा निकै पीडादायी रहेको र त्यो पीडालाई आफूहरुले समाधान गर्न प्रयास गरे पनि सफल हुन नसकेको बताए।

'हामीसँग सीमित स्रोतसाधन छ। त्यो स्रोतसाधनले सबै प्रभावितको समस्या समाधान गर्न निकै कठिन छ।' नगर प्रमुख चौधरीले भने, 'अहिले विस्थापित नगरपालिका आएर दशैँ मनाउने आधार बनाइदिनुपर्यो भन्दै आग्रह गर्नुहुन्छ। हामी एक्लैले यस्तो विपत्तिको सामना गरेर नागरिकको आवश्यकता पूरा गर्न सक्छौंँ र?'

प्रकाशित: १२ आश्विन २०७९ ०८:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App