१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अस्ताए प्रजातन्त्र सेनानी प्रधान

प्रजातन्त्र सेनानी स्वर्गीय तोरेन्द्रमानसिंह प्रधानलाई राष्ट्रिय झण्डा ओढाउँदै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई। तस्बिरः चुमन/नागरिक

प्रजातन्त्र सेनानी तथा विराटनगरका वरिष्ठ समाजसेवी तोरेन्द्रमानसिंह प्रधानको ९२ वर्षको उमेरमा सोमबार निधन भएको छ। लामो समयदेखि मुटु र श्वास–प्रश्वासको समस्या झेल्दै आएका विराटनगर–१० का स्थायी बासिन्दासमेत रहेका प्रजातन्त्र सेनानी प्रधानको उपचारका क्रममा निधन भएको हो।  

प्रधानले आइतबारै आफ्ना बुवाको श्राद्ध कर्म गरेका थिए। त्यसपछि स्वास्थ्यमा समस्या देखिए आएपछि उपचारका लागि घर नजिकै रहेको न्यूरो अस्पताल भर्ना गरिएको थियो। सोही क्रममा उपचारमा रहेका प्रधानको सोमबार दिउँसो पौन ४ बजेतिर निधन भएको परिवारका सदस्यले जानकारी दिए। स्वर्गीय प्रधानको अन्तिम दाहसंस्कार विराटनगर–७ हाटखोलास्थित सिंघिया खोलामा रहेको विश्रान्ति धाममा मंगलबार गरिएको छ।  

प्रधानको पार्थिव शरीरमाथि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्दै श्रद्धाञ्जली व्यक्त गरे। नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुली, नेता महेश आचार्यलगायतले पार्टीको झण्डासमेत ओढाएर सम्मान गरे। स्वर्गीय प्रधानका श्रीमती र ३ जना छोरी रहेका छन्। प्रधानको शवलाई उनकी श्रीमती इन्दिरा प्रधानले दागबत्ती दिएकी थिइन्।      

को हुन् तोरेन्द्रमानसिंह प्रधान?

पिता गजेन्द्रमानसिंह प्रधान र माता गणेशकुमारीका ज्येष्ठ छोरा हुन्। पुर्खौली घर काठमाडौं भएका प्रधान विक्रम संम्वत् १९८७ सालमा दाङको कोइलाबासमा जन्मिएका थियो। भारतसँगको प्रमुख प्रवेशद्वार पश्चिम राप्तीको कोइलाबास हो। कोइलाबास त्यस बेलाको ठूलो व्यापारी ठाउँ रहेको थियो। भारतबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका प्रधान राजनीतिकका अलावा जलस्रोत, वातावतरणका साथै कोसी सम्झौताका बारेमा विशेष ज्ञान रहेको थियो।    

२००७ सालको सशस्त्र क्रान्तिमा अग्रपंक्तिमा सरिक हुँदै प्रजातन्त्र प्राप्तिका लागि उनको महत्वपूर्ण योगदान छ। देशमा प्रजातन्त्र ल्याउनका लागि पूर्व प्रधानमन्त्री विशेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारीलगायतका शीर्ष नेताहरुसँग सहकार्य गरेका थिए।    

२००७ सालमा राणा शासनविरुद्ध भएको सशस्त्र क्रान्तिमा प्रधान विरगञ्ज कब्जा गर्ने नेतृत्वमध्येका एक थिए। उनी भारतको वनारसमा अध्ययन गर्दै गर्दा नेपालमा क्रान्ति सुरु भएको थियो। प्रधान विद्यार्थी जीवनमै राजनैतिकमा होमिएका थिए। क्रान्तिका क्रममा उनी वनारस हुँदै जयनगरबाट विराटनगरसम्म आएका थिए। प्रजान्तत्रका लागि सधैँ लड्ने प्रधानले २००७ सालको क्रान्तिको नेतृत्व गर्दै विरगञ्ज कब्जा गर्न सफल भए। प्रजातन्त्रिक विचारमा आस्था राख्ने भएकाले पनि उनले काँग्रेसका नेताहरुसँगसँगै विभिन्न समयमा प्रजातन्त्र प्राप्तिका लागि भएका आन्दोलनको अग्रपंक्तिमा बस्ने गर्थे।  

उनी सधैँ पार्टीलाई कसरी राम्रो बनाएर लैजान सकिन्छ भनेर चिन्तन गर्ने गरेका थिए। उनी काँग्रेस विचारका भए पनि अन्य दलका शीर्ष तहका नेताहरु उनी कहाँ उनका विचार सुन्न जान्थे। आन्दोलनका क्रममा बिपी, गिरिजाप्रसाद, मनमोहनलगायतका नेतासँगै हिँड्ने गरेका थिए। राजनीतिकमा मात्रै होइन उनी सामाजिक कार्य गर्न अघि सर्थे। स्वर्गीय प्रधानको खेती भएको साविकको ववियाविर्ता हालको रंगेली नगरपालिका–१ जम्मु हाटखोलाका गरिबविपन्न परिवारलाई आफ्नै घरपरिवारको सदस्य जस्तै गरी राखेका थिए।  

उनीको खेतीमा रहेकाहरु कोही पनि बिरामी परेर विराटनगर आए औषधि उपचार, बस्ने, खानेलगायतका सेवा गर्न सधैँ तयार हुने गरेको ववियाविर्ताबाट श्रद्धाञ्जली दिन आएकाहरुले बताए। ववियाविर्ताबाट आएका सबै महिलाहरुको एउटै स्वर थियो, ‘हामीले हाम्रो बुवा गुमायौं।  जन्म दिएका बुवाआमाबाट पनि उहाँ र उहाँको परिवारको जस्तो माया कहिले पाएनौं।’

‘हामी जग्गा नभएकाहरु धेरै जनालाई निःशुल्क र केहीलाई थोरै पैसा लिएर जग्गा दिनु भएको छ,’ ववियाविर्ताकी कल्सर थारुले भनिन्, ‘मेरो छोरीलाई सानैमा विराटनगरमा ल्याएर पढाइनुका साथै आफ्नै छोरीकै जस्तो गरी विवाहदान गरिदिनु भएको थियो। उहाँ जस्तो असल मान्छे पाउन गाह्रो छ।  छोरीको विवाह मात्रै होइन, ज्वाइँलाई पनि केही गरिदिनु भएको छ। ’

म उहाँ (बुवा)को जग्गामा बस्दै आएको थिएँ। मेरो जग्गा जमिन नभएकाले १५ धुर जमिन बस्नका लागि त्यसै पास गरिदिनु भएको बताउँदै, कल्सरले भनिन्, ‘राम्रो गरेका कारण एक म्याजिक गाडी मान्छेहरु यहाँ आएका हौं। गाउँका मानिसलाई कहिले पनि छुट्याउनु हुन्न थियो। सबैलाई एकैखाले माया र सेवा गर्नुहुन्थ्यो।  बिरामी हुँदा त झन् बढी माया र सेवा गर्नुहुन्थ्यो। ’

कल्सरकै जस्तो कहानी साहिली मुर्मुको पनि छ। ‘यहाँका धेरै जना आफ्नो बाउ मर्दा पनि रोएका थिएनन्,’ साहिली मुर्मुले भनिन्, ‘आज धेरै दुःख भएको छ। हामीलाई जन्म दिने बाउभन्दा पनि धेरै माया गर्नुहुन्थ्यो। खेती आउँदा हामीहरु जस्तो खान्थ्यो, त्यस्तै कसै न कसैको घरमा खानु हुन्थ्यो। आजसम्म पनि कहिले पनि नराम्रो गरेको थाहा छैन।  विराटनगरको घरमा आउँदा उहाँहरुले जस्तो खानु हुन्थ्यो त्यस्तै दिनु हुन्थ्यो। कहिले पनि खान बस्न छुट्याउनु भएन। बिरामी परेर आउँदा आफैँ अस्पताल आउने गर्नु हुन्थ्यो।  अब यस्तो माया कहिले पाइँदैन। हामी गाउँका सबैले बाउ गुमायौं।’ 

त्यस्तै, प्रधान नजिक रहेका अर्का समाजसेवी श्याम पौडेलले तारेन्द्रमान दाइको युवा अवस्था विराटनगरमै बित्यो। ‘उहाँ बनारस पढ्दा पढ्दै २०७७ सालमा नेपालमा क्रान्तिको सुरुआत भयो,’ पौडेलले भने, ‘विद्यार्थी जीवनबाट राजनैतिक यात्रा सुरु गर्नु भएको हो। राजनैनितक आन्दोलनका क्रममा बिपी कोइरालाको सामित्यमा रहनु भयो। सशस्त्र क्रान्तिका लागि होमिएको उहाँले बताउनु हुन्थ्यो। उहाँ अंग्रेजी भाषा धेरै राम्रो थियो। ’

उहाँ धेरै अध्ययनशील र केही भन्नु पर्दा पनि अध्ययन नगरी भन्नु हुन्न थियो। आफ्नो जीवनको यात्रामा कहिले पनि लाभको पद लिनु भएन भन्दा एक पटक कोसी प्रोजेटको अधिकृत थोरै समय बन्नु भयो। त्यस बाहेक अन्य कुनै पनि राजनैनिक वा अन्य लाभ हुने पद धारण गर्नु भएको थिएन पौडेलले भने। उनले तोरेन्द्रमान दाइ सामाजिकभन्दा पनि राजनैतिक रुपमा विशलेषण गर्नुहुन्थो। काँग्रेसको नजिक भएर सबै  साथीहरुलाई उत्प्रेरणा दिने गर्नुहुन्थ्यो।  

‘काँग्रेसका नेताहरु उहाँको घरमा आउने र विचार लिने मात्रै होइन, अन्य दलका नेताहरु पनि समय समयमा घरमै आएर भेट्ने गर्ने गर्नुहुन्थ्यो,’ पौडेलले भने, ‘उहाँले पछिल्लो समय लेखमार्फत देशको अवस्थालाई रुचिका साथ लेख्ने गर्नु भएको थियो। नेपाललाई वृक्षारोपणका रुपमा अगाडि बढाऊँ। नेपाललाई जलस्रोत र वृक्ष दुईटाका साथै वन जंगलका बारे सधैँ चिन्तित हुनुहुन्थ्यो। समाज रुपान्तरका आफ्नो गाउँमा करिब ८ विगाह जमिन र घर निःशुल्क निर्धन परिवारलाई दिनु भएको छ। ’  

नेपाली काँग्रेका नेता महेश आचार्यले विराटनगरले आज एउटा अभिभावक गुमाएको छ।  उहाँलाई हामीहरु सधैँ एउटा अग्रज, चेताना भएको भनेर चिन्ने गरिएको थियो। ‘महानगरको विकासको प्रारम्भदेखि नै योगदान पु¥याउँदै आउनु भएको थियो,’ नेता आचार्यले भने, ‘विकास प्रेमी एउटा असल सामाजिक व्यक्तित्वलाई आज गुमाउनु परेको छ। अत्यन्तै अध्ययनशील व्यक्तित्वका रुपमा र सबै पार्टीका नेताहरुलाई बोलाएर लगातार जनताले के भन्छन्, जनताले के खोजेको छ, लोकमत के छ भनेर सुनाउनुका साथै आफ्नो अनुभव सुनाउने गर्नुहुन्थ्यो।  मलाई पटक पटक बोलाएर पार्टीभित्रका कुरा सुनाउँदै चिन्ता व्यक्त गर्दै कसरी सुधार गरेर लैजान सकिन्छ भनेर चिन्ता राख्ने गर्नुहुन्थ्यो। ’

उनी नेवारी संस्कृति र भूगोलका ज्ञातासमेत थिए। वृद्धावस्थामा पनि उनी सामाजिक कार्यमा सक्रिय रहन्थे।  उनी विराटनगरका विभिन्न सामाजिक संघसंस्थाको संस्थापक नेतृत्वमा रहँदै आएका थिए।

तोरेन्द्रमानसिंह प्रधानलाई दागबत्ती दिन जाँदै श्रीमती।  

प्रकाशित: ४ आश्विन २०७९ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App