६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

जुम्लामा तेस्रो स्याउ महोत्सव सकियो: बजारीकरण र ढुवानीमा राज्यबाट सहुलियत हुनुपर्ने माग

जुम्लामा यस पटक तेस्रो स्याउ महोत्सव  सकिएको छ। स्याउको प्रसार-प्रचार र बजारीकरण लागी  महोत्सवको आयोजना गरिएको हो।

यहाँ उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरसम्म चिनाउने, स्याउको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणमा टेवा पुर्याउने, एप्पल टुरिज्मको आधार तय गर्ने र स्याउकाे परिकारको उत्पादनसम्बन्धी प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव गरेको जनाएको छ।

उत्पादित स्याउको निर्यात प्रक्रियालाई प्रभावकारी बनाउने र स्याउ खानकै लागि जुम्ला पुग्न सघाउ होस् भनेपनि हो। पछिल्लो समयमा  जुम्ला स्याउबाट आत्मनिर्भर बन्दै गएको छ। जुम्लाको समृद्धि हासिल गर्न सक्छ भन्ने सन्देश फैलाउन महोत्सव एक कोसेढुंगा सावित हुनेछ। 

जुम्लामा रेड, रोयल, गोल्डेन, स्पोर र चक्लेटी लगायत स्याउको उत्पादन हुन्छ। यी स्याउ र स्याउबाट बनेका परिकार नै महोत्सवका मुख्य आकर्षणका रुपमा राखेका थिए। २०७५ मा पहिलो स्याउ महोत्सव भएकोमा २०७६ मा दोस्रो स्याउ महोत्सव भएको थियो। दुई वर्ष कोरोनाका करण महोत्सव गर्न सकिएको थिएन। 

कोरोना मथ्थर भए पनि यसपटक स्याउ महोत्सवलाई निरन्तरता दिन लागिएको हो। राम्रो र गुणस्तर स्याउ उत्पादन गरेका किसानको लागि मूल्यांकनका आधारमा प्रथम र द्धितीय र तृतीय स्थान छनोट गरिएको छ। स्याउको जुस, जाम, जेली, लस्सी, एप्पल मिल्कसेक, मालिन चानालगायत परिकार स्टलमा राखिएको थियो। जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १५ देखि किसानलाई स्याउ टिप्न अनुमति दिएको थियो। यही भदौ २७ र २८ गते महोत्सवको आयोजना गरेको हो। जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले यस्ता प्रकारका महोत्सवले स्याउ प्रवर्द्धन र बजारीकरणमा टेवा पुग्ने बताए। उनले स्याउ महोत्सव हरेक वर्ष गरिनु पर्ने बताए। उनले हरेक मेला चाडपर्वको विकास उत्पादन श्रमसँग आवश्यक रहेको बताए। 

स्याउ महोत्सवमा प्रमुख अतिथिसमेत रहेका थकालीले  हरेक वर्ष महोत्सव गर्दै गए कालान्तरमा यो पर्वका रूपमा विकास हुने बताए। २०६३ सालमा जुम्ला सुर्खेत ट्र्याक रोड खुलेपछि मात्र यहाँका किसानले स्याउ र ओखर लगाउन तीव्रता दिएका थिए। मुस्ताङको सबै ठाउँमा स्याउ फल्दैन। तर जुम्लामा त्यस्तो कुनै ठाउँ छैन जहाँ स्याउ नफलोस्। त्यसैले स्याउ उत्पादन हुने क्षेत्र हरेक वर्ष बढिरहेको छ। सुरुका दिनमा बजार वरिपरिका सीमित उत्पादन हाल जिल्लाको सबै वडासम्म विस्तार भएको बताइएको छ। प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले स्याउ जुम्लाको पहिचान भएको बताए। यहाँको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको स्याउमा राज्यले ठूलो लगानी गरेको छ।

स्याउ सुपर जोन कार्यक्रम सञ्चालन पनि गरेको छ। अहिले स्याउ उत्पादनमा अनुदानका कार्यक्रम सञ्चालन त गरेको छ। ढुवानीमा पनि अनुदान दिनुपर्ने आवश्यकता छ, केसीले भने। काञ्जिरोवा टाइम्स पत्रिकाको आयोजनामा सञ्चालन गरिएको स्याउ महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको पनि कला र सङ्गीत प्रस्तुत गरिएको थियो। जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न गरिएको कान्जिरोवा टाइम्सका निर्देशक महेन्द्र कार्कीले बताए।

महोत्सवको पहिलो दिनमा जुम्ली स्याउको महत्त्व, बगैंचा व्यवस्थापन, रोककिरा नियन्त्रण, मलखाद्य तथा सिञ्चाइ व्यवस्थादेखि जुम्ली स्याउको वर्तमान अवस्था र भविष्यको सम्भावनाका बारेमा किसान र कृषि प्राविधिकबीच विचार विमर्श हुने भएको थियो। स्याउ महोत्सवमा १४ वटा स्याउका विभिन्न परिकारका प्रतियोगात्मक स्टल राखिएका थिए। 

जुन स्टलहरुको कृषि विज्ञहरुले किसानको स्याउको स्वाद, गुणस्तर, र साईज परिक्षण गरेको छ। उत्कष्ट हुने पहिलो, दोस्रो र तेस्रो स्थान आउने कृषकलाई पुरस्कृत गरिएको छ। चन्दननाथ नगरपालिका ७ मिचा गाउँका रत्नबहादुर बंम प्रथम भएको छ। चन्दननाथ नगरपालिका ८ भैरबहादुर धरालाको स्याउ दोस्रो र चन्दननाथ नगरपालिका ६ का तोयानाथ योगीको स्याउ तेस्रो भएको छ।  

प्रथमलाई पाँच हजार, दोस्रोलाई तीन हजार र तेस्रो हुनेलाई दुई हजार नगद पुरस्कार दिएको छ भने महोत्सवमा स्टल राख्ने सवैलाई पाँच/पाँच सय पुरस्कार दिएको आयोजकले जनाएको छ। यस वर्ष जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान छ। भने स्याउ निर्यातबाट झण्डै ५० करोड जुम्लामा भित्रिने आँकलन गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। स्याउ‘किसानले अनुदान, ढुवानीमा सहुलियत, स्याउ खेती विस्तारमा सरकारले लगानी बढाउनु पर्ने माग राखेका छन। स्याउ महोत्सवलाई आगामी दिनमा पनि निरन्तरता दिन जरुरी छ।

प्रकाशित: २९ भाद्र २०७९ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App