६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

एसएलसीको अन्तिम तयारी, ६ लाखबढी परीक्षार्थी (परीक्षा तालिका)

काठमाडौं– परीक्षा नियन्त्रण कार्यालयले चालू शैक्षिक सत्रको एसएलसी परीक्षाको तयारी करिब अन्तिम चरणमा पुगिसकेको बताएको छ।

SLC.jpg

परीक्षाका लागि आवश्यक गोप्य सामग्री (प्रश्नपत्र), स्टेशनरीलगायत आवश्यक सामान सबै जिल्लामा पुगिसकेको परीक्षा नियन्त्रक कृष्णप्रसाद कापरीले नागरिकन्युजलाई बताए। त्यस्तै, आवश्यक जनशक्ति व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रत्यकेक जिल्लामा रहेका जिल्ला परीक्षा समन्वय समितिलाई अख्तियारी प्रदान गरिसकेको उनले जानकारी दिए।

'सबै जिल्लामा केन्द्रबाट आवश्यक सामग्री पठाइसकिएको छ,' उनले भने, 'जिल्ला परीक्षा समन्वय समितिलाई पनि अख्तियारी दिइसकिएको छ।'

उनका अनुसार यस वर्षको एसएलसी परीक्षामा सहभागी हुन कुल ६ लाख १५ हजार ५ सय ५३ जनाले परीक्षा फारम भरेका छन्। यो गत वर्ष(२०७१)को तुलनामा ४० हजार ८ सय ६८ जनाले बढी हो। गत वर्ष(२०७१)को एसएलसी परीक्षामा देशभर कुल ५ लाख ७४ हजार ६ सय ८५ जनाले आवेदन फारम भरेका थिए । यस मध्ये ४ लाख ५२ हजार ८ सय ८१ परीक्षार्थी नियमिततर्फ र १ लाख ५९ हजार ४ सय १७ जना एक्जाम्टेडतर्फ र ३ हजार २ सय ५५ विद्यार्थी प्राविधिक एसएलसी(टीएसएलसी)तर्फका रहेका छन्।

परीक्षा लिन देशभर कुल १ हजार ९ सय ४३ परीक्षा केन्द्रको व्यवस्था गरिएको छ। प्रत्येक केन्द्रमा एक केन्दाध्यक्ष, बढीमा दुई सहायक केन्द्राध्यक्ष र आवश्यक संख्यामा निरीक्षकहरु व्यवस्था जिल्ला समन्वय समितिले नै गर्नेछन्। परीक्षामा प्रत्येक केन्द्रमा बढीमा १५ जनाका दरले करिब ३० हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने छन्। आवश्यक परेको अवस्थामा थप सुरक्षाकर्मी समेत जिल्ला तहबाट परिचालन गर्न सकिने छ।

'प्रत्येक सुरक्षाकर्मीलाई दैनिक १ सय ५० रुपैयाँका दरले खाजा भत्ता परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराउँछ,' नियन्त्रक कापरीले भने।

यस वर्षको परीक्षाको नतिजा लेटर ग्रेडिङमा सार्वजनिक गर्ने तयारी नियन्त्रण कार्यालयले गरेको छ। कुल पूर्णाङ्कको ९० प्रतिशतभन्दा माथि अंक प्राप्त गर्नेले 'ए–प्लस(विशिष्ट)', ८० देखि ८९ अंक पाउनेले 'ए(उत्कृष्ट)', ६० देखि ७९ पाउनेले 'बी', पाउने छन्। त्यस्तै, ४० देखि ५९ प्रतिशत अंक पाउनेले 'सी(राम्रो)', २५ देखि ३९ प्रतिशत अंक पाउनेले 'डी(कमजोर)' २५ प्रतिशतभन्दा कम अंक पाउनेले 'ई(धेरै कमजोर)', उल्लेख गरेर वर्गीकरण गरिएको मार्कसिट विद्यार्थीलाई उपलब्ध गराइने छ।

यस वर्षदेखि मार्कीसिट तथा प्रमाणपत्रमा विद्यार्थीलाई 'पास–फेल' उल्लेख गरिने छैन। मार्क लेजरमा भने विद्यार्थीले पाएको अंक नै उल्लेख गरिने कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार चैत्र १८ गतेदेखि बिहीबारदेखि चैत २९ गते सोमबारसम्म ११ दिन बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने छ।

यस्तो छ परीक्षा तालिका

rotin11.jpg

 rotin1.jpg

 

 

 

 

प्रकाशित: ११ चैत्र २०७२ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App