५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

बालेन : ‘डन’ कि ‘वेलडन’

अघिल्लो विहीबार नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काउन गएका मेयर बालेन्द्र साह आक्रोशमा आएपछि सञ्चालकले ‘डन’ जस्तै व्यवहार किन गरेको भने। ‘डन हो कि क्या हो ? बालेनसँगको चर्काचर्कीपछि सञ्चालक द्विराज शर्माले सञ्चारकर्मी माँझ प्रश्न समेत गरे।  

शर्माले बालेनलाई ‘डन’ भनेकै दिन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अल्फाबिटा भवनको पार्किङमा बनाइएका संरचना भत्काउने क्रममा साहले नक्सा देखाउँदै गरेको तस्बिर राख्दै ‘वेल डन’ भन्दै ट्विट गरे।  

मेयरको चुनावताका ‘बाहुबली’ उपनामसमेत पाएका बालेनको नेतृत्वको महानगरको टोलीले अनधिकृत संरचना भत्काउने क्रम बढाउँदै जादा शर्मा र भट्टराईले मात्र हैन, थुप्रैले उनका बारेमा टीकाटिप्पणी गरेका छन्। उनले गरेका काम र लेखेका स्टाटसहरू सामाजिक सञ्जालमा क्षणभरमै भाइरल हुने गरेका छन्।

कतिपयले त उनको कामलाई हिन्दी सिनेमा नायकसँग पनि जोडे। सन् २००१ मा निर्मित भारतीय सिनेमा ‘नायक’मा एक दिनका लागि मुख्यमन्त्री बनेको कलाकार अनिल कपुरको अभियन निकै हिट भएको थियो। त्यसकै झल्को दिनेगरी यति बेला काठमाडौं महानगरका मेयर बालेन साह अवैध संरचना हटाउन दिनरात लागिपरेको भन्दै उनलाई ‘आजका नायक ’ भन्ने पनि कमी छैनन्।

‘उनको काम हेरेपछि मैले यसै साता फेरि नायक सिनेमा हेरें,’ सामाजिक सञ्जालमा रत्न सुवेदी लेख्छन्, ‘एक दिनको मुख्यमन्त्री बनेका नायक अनिल कपुरजस्तै लाग्न थालेको छ हामीलाई हाम्रो मेयर पनि।’  

सोमबारबाट सुरु भएको अवैध संरचना भत्काउने महानगरको अभियानले रोकिने नाम लिएको छैन। साना टहरादेखि ठूला बिल्डिङसम्म उनको निशानामा परेका छन्। सरकारी कार्यालयदेखि जिल्ला अदालतसम्म उनले जानकारी माग्न भ्याएका छन्। पछिल्लो समयमा राजधानीका ठुला व्यापारिक भवनमा निशाना साँधेका महानगरका टोलीले बेसमेन्ट खाली गराउनुका साथै नक्सापास विपरीत बनेका अवैध संरचना भत्काउँदा व्यवसायी भने निकै निकै आक्रोशित छन्।  

‘हामी कर तिरेर आएका छौं, हामीले पनि केही समय पाउनुपथ्र्याे,’ सुरज आर्केड व्यवसायी संघका अध्यक्ष हेम स्वारले भने, ‘तर व्यवसायीलाई अत्याउने ढंगबाट डोजर चल्न थालेको छ ।’ राज्यको नियम आफूहरू मान्न तयार भएको तर समय चाहिने उनको भनाइ थियो।  

स्वतन्त्र बालेनको पक्षमा फरक दलका फरक धारणाभन्दा पनि एकै दलभित्र पनि पक्ष र विपक्ष देखिन थालेको छ। दलहरूका नेता कार्यकर्ता उनको पक्ष विपक्षमा विभाजित भएका छन्। काठमाडौंमा अवैध संरचना भत्काउन डोजर लिएर आफै पुगेपछि चर्चामा आएका काठमाडौं महानगरका मेयर बालेन्द्र साहबारे कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले अराजक गतिविधिलाई बढावा दिइरहेको टिप्पणी गरे।  

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर साहले ती भौतिक संरचनाहरू हटाउँदा अराजकता सिर्जना गरेको भन्दै आपत्तिसमेत जनाए।  

तर उनकै पार्टीका नेता चन्द्र भण्डारीले भने बालेनको कार्यको समर्थन गर्दै अनधिकृत संरचनामा मात्र हैन, अब नेपालको राजनीतिमा पनि डोजर चलाउनु पर्ने बताए ।राजधानीका अनधिकृत संरचना भत्काउँदै आएका बालेनको विपक्षमा निकै कडा अभिव्यक्ति दिँदै आएका एमाले सांसद महेश बस्नेतलाई समेत एक कार्यक्रममा सम्झाउँदै उनले नियम विपरीत बनेका संरचना भत्काउनै पर्ने बताए।  

एमालेका सांसद महेश बस्नेतले बालेनलाई कहिले डोजर चलाउने रहर भए ड्राइभिङ सिकेर आउन त कहिले विकास हेर्ने भए भक्तपुर आउन भन्दै नक्सा पासको बहानामा डोजर नचलाउन भनेका छन्। बालेनका समर्थकले बस्नेतलाई सामाजिक सञ्जालमा निकै गाली गरेपछि बस्नेतले फेरि बालेनको विपक्षमा निकै कटु टिप्पणी गरे।  

तर उनकै पार्टी नेकपा एमालेकी सांसद शान्ता चौधरीले भने काठमाडौं महानगरपालिकाले नक्सा विपरीतका संरचना हटाउने अभियानलाई समर्थन गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले मेयर बालेन्द्र शाह (बालेन) र सुनिता डंगोलको टोलीले चलाएको नक्सा विपरीतका संरचना हटाउने अभियानलाई समर्थन गरेकी हुन्।

सांसद चौधरीले सार्वजनिक हितका यस्ता काम देशभरि नै चलाउनुपर्नेमा पनि जोड दिएकी छन्। यस्ता कार्यमा सबैको साथ हुनुपर्ने पनि उनले उल्लेख गरेकी छन् ।

यसबाहेक विभिन्न स्वतन्त्र बुद्धिजीवी तथा समालोचकले पनि बालेनका बारेमा टीका टिप्पणी गरेका छन्। ट्विटरको स्पेसमा समेत बालेनले गरेको काम ठिक कि बेठिक भन्दै विभिन्न बहस चल्न थालेको छ। ‘बालेन डन पनि हैनन्, नायक पनि हैनन्,’ सामाजिक सञ्जालमा सुदेश विष्ट लेख्छन्, ‘बालेन बालेन नै हो ।’

‘जतिसुकै राम्रो काम भए पनि जनताको मन दुखाएर गर्न सकिन्न,’ सामाजिक सञ्जालमा देवकी सन्जेल लेख्छिन्, ‘कारवाही अगाडि उनीहरूलाई प्रयाप्त समय दिइनुपर्छ ।’ उनका जस्तै अन्य कतिपयले पनि बढी हतार गरेको टिप्पणी गरेका छन। ‘कति हतार गरेको, नायक अनिल कपुर त एक दिनका मात्र मुख्यमन्त्री थिए,’ सामाजिक सञ्जालमा नवराज नेपाल लेख्छन्, ‘हाम्रा नायकलाई त अझै ४ वर्ष पूरै छ त ।’  

महानगरले कारवाही अगाडि प्रयाप्त समय दिएको दाबी गर्दै आएको छ। ३५ दिने सार्वजनिक सूचना निकाले पनि सुरुमा त्यसको बेवास्ता गरेका कारण अहिले समयको कुरा आएको उनीहरू बताउँछन्।  

महानगरले भनजस्तै कतिपय व्यवसायीले पहिलो सूचनालाई गम्भीरताका साथ नलिँदा आफूहरूले समस्या भोगेको स्वीकार्छन्। पहिला पहिला सूचना टाँसिने र सम्बन्धित निकायमा कुराकानी भएपछि टुङ्गिने गरेको उनीहरू बताउँछन्। ‘हामीले अन्य सरकारी सूचनाजस्तै ठानेर यो सूचनालाई पनि बेवास्ता गर्‍यौं,’ अभियानमा आफ्नो पसल गुमाएकी एक महिलाले भनिन्, ‘अखिर, बालेन बालेन नै परेछ।’  

सकारात्मक लहर  

काठमाडौं महानगरले सुरु गरेको अनधिकृत संरचना हटाउने अभियानको अन्य क्षेत्रमा पनि प्रभाव देखिन थालेको छ। काठमाडौंसँग जोडिएको भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर ३५ दिनभित्र अरनिको राजमार्ग र त्यस वरपरका अनधिकृत संरचनाहरू हटाउन अनुरोध गरेको छ।  

नगर क्षेत्रमा पर्ने अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू, भित्री सडकहरूमा मापदण्ड विपरीत निर्माण भएका र अतिक्रमण भएका संरचना ३५ दिनभित्र नहटाए कानुनी कारबाही थाल्ने उल्लेख छ ।

त्यस्तै पोखरा महानगरपालिकाले पनि अनधिकृत संरचना हटाउन सूचना निकालेको छ। सुदुर पश्चिमको धनगढी उपमहानगरपालिकाले पनि सडक छेउमा अनधिकृत निर्मित संरचना हटाउन निर्देशन दिएको छ। यसबाहेक सुर्खेत, सिन्धुपाल्चोकलगायत मुलुकका विभिन्न ठाउँमा पनि अनधिकृत संरचना हटाउन सूचना निकाल्न थालेका छन् ।

काठमाडौं महानगरपालिकाले प्रर्दशनीमार्गस्थित काठमाडौँ फन पार्क प्रालिलाई (२४ घण्टे) अल्टिमेटमले रङ ल्याएको छ। वर्षौंदेखि कर तिर्न आनाकानी गरेको फनपार्कले अल्टिमेटमभित्रै रकम तिरेको छ। यसैगरी महानगरले सहरमा अनधिकृत रहेका विज्ञापन बोर्डसमेत हटाउन थालेको छ।  

त्यस्तै काठमाडौं महानगरपालिकाले बेसमेन्ट खाली गराउने अभियानलाई निरन्तरता दिइरहेको छ। भवनको नक्साअनुसार प्रयोजन नभएका बेसमेन्टहरू हटाउन थालिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए। अनधिकृत संरचना हटाउन सबै ठाउँमा बालेन पुग्दैनन्। सुरुमा सबैतिर बालेन हिँडे पनि सिस्टमले काम गरिरहेको महसुस हुन्छ।  

काठमाडौं नगर प्रहरीले त्रिपुरेश्वरको राहदानी विभागअगाडि रहेको भवनको बेसमेन्टमा सञ्चालन भइरहेका रेस्टुरेन्ट, अन्य व्यवसायहरू हटाउन भनेको छ। पसलेहरूले सामग्री हटाउन थालेका छन्। यसअघि महानगरले राहदानी विभागको बेसमेन्ट खाली गराएर पार्किङ सुचारु गराएको छ।  

मेयर साहको कामको धरानका मेयरले आलोचना गरेपछि सामाजिक सञ्जालमा यो घटना पनि निकै चर्चित बन्यो। राजधानीका जल्दाबल्दा समस्यालाई थाँती राखेर गरिखानेलाई समय नदिइकन उठाएको भन्दै उनले मेयर साहको आलोचना गरेका हुन्।

मेयर साहको आलोचनपछि धरानका मेयरको पनि सामाजिक सञ्जालमा निकै आलोचना भएको छ। तर क्रिया र प्रतिक्रियाबाट बालेन पथ रोकिएको छैन। उनी सञ्जालमा थप वादविवाद पनि चाहँदैनन्। ‘यु ट्रस्ट मि, आइ ट्रस्ट यु,’ ‘उनले भर्खरै सामाजिक सञ्जालमा लेखेका छन्, ‘इन्ड अफ दि टपिक।’

प्रकाशित: १८ भाद्र २०७९ ००:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App