१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बडीमालिका माईको पूजा आज

‘ईच्छा पूरा हुन्छ बडीमालिका पुगे’

बडिमालिका माईको दर्शन आज। तस्बिर: ललित विष्ट नागरिक,कालिकोट

आँखाले भ्याउनेसम्मको फराकिलो लेकाली फाँट । सतहमा रंग–विरंगी जंगली फूलहरु । मध्यभागमा कलकल बग्ने खोला । खोला किनारमा मन्दिर । प्रकृतिको यो कस्तो मनोहर उपहार ? बाजुराको बडिमालिका नगरपालिका र त्रिबेणी नगरपालिकामा पर्ने बडीमालिका धार्मिक स्थलमा आज मुख्य पूजा हुन्छ ।

नेपालको एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन मुख्य पूजा लाग्छ। यस बर्ष बडीमालिकामा श्रावण २६ गते मुख्य पूजा लाग्ने भएको हो। बडीमालिकाको तीर्थयात्रामा गए मनोकांक्षा पूरा हुने जनविश्वास रहि आएको छ।

बाजुरा र कालिकोटबाट सुनको गजुरसहित पुजारी र सरकारीटोली बडीमालिकाको तीर्थयात्रामा गएका छन्। प्रत्य वर्ष जिल्लाभित्र र बाहिरका तीर्थयात्री तथा पर्यटकहरू,सरकारी कार्यालय र स्थानीय पर्यटकसहित भक्तजन परम्परा अनुसार एक हप्ता अगाडी नै बाहिरबाट आउने गरेका छन्। बडीमालीका मन्दिर समुद्रीसतह बाट ४ हजार २ सय १६ मिटर उचाईमा रहेका छ ।  

त्यहाँ पुग्न सात दिनको पैदल यात्रा गर्नु पर्दछ। औपचारिक पूजाआजाको परम्परा अनुसार छिमेकी जिल्लाहरू अछाम,डोटी,जुम्ला,कालिकोटबाट सरकारी पूजा टोलीसहितका तीर्थयात्री यस अघि नै बडीमालिका प्रस्थान गरिसकेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताए ।

बडिमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो । बडीमालिकामा हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन मुख्य पूजा हुन्छ । बडिमालिकामा २ वटा पुजारीहरूले पूजा गर्छन्। यी मध्ये १ जना कालिकोटबाट जान्छन् भने अर्को १ जना बाजुराका पूजारी छन्। डोटी,अछाम,बाजुरा,कालिकोट र जुम्लाका प्रमुख जिल्ला अधिकारी तथा अन्य कर्मचारीहरूको हातबाट देविको सरकारी पूजा सम्पन्न हुन्छ।

प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पूरा हुने विश्वास भक्तजनहरुमा छ। मुगु,जुम्ला,हुम्ला,कालिकोट,डोल्पा,दैलेख,जाजरकोट,बाजुरा,अछाम लगायत जिल्लाबाट धामी झाँक्री र तीर्थालुको घुइँचो लाग्ने गरेको छ । मुलुकका विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालुहरू त्यहाँ मेला भर्न आउँछन्।  

बडीमालिका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफैँ गर्नुपर्छ। आफूलाई आवश्यक पर्ने चामल पिठो, ओढ्ने ओछ्याउने र लगाउने कपडा, पकाउने र खाने भाँडाका साथै अन्य सरसमानहरू बोकेर दुर्गम बाटो,उकाली ओराली, भिर पहरा र भञ्ज्याङहरू पार गरेर यहाँ पुग्न धेरै चुनौती रहेको छ।

यो वर्ष बडीमालिका तीर्थयात्रामा हेलिकप्टर चार्टर र पैदल यात्रा गरि पाँच हजार भन्दा बढि भक्तालुजन माईको दर्शन गर्न पुगेको पर्यटन पत्रकार महासंघ कालिकोटका अध्यक्ष प्रेमराज सिंखडाले बताए । उनले भने ‘यो वर्ष धेरै भक्तालुजनहरुको घुईँचो लागेको छ। पाटन भरि भक्तालुजनले भरिएको छ। कालिकोटबाट हेलिकप्टर चार्टर गरेर प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा लगायतको टोेली पनि बडीमालिका पुगेको छ।’ बडीमालिका तीर्थयात्रामा मुलुकका विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालुहरू यहाँ मेला भर्न आउँछन्। तर सरकारले उचित व्यवस्था गर्न नसक्दा  बडीमालिका ममाईको मन्दिर ओझेलमा परेको स्थानीयको भनाई छ।

प्रकाशित: २६ श्रावण २०७९ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App