४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

खप्तड छेडेदहमा सामाजिक सुरक्षा भत्ता वडाबाटै

खप्तड छेडेदह–६ का स्थानीय जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बुझ्दै।

खप्तड छेडेदह गाउँपालिकाले जेष्ठ नागरिक र अशक्तहरुलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न थालेको छ। बैंकमै पुगेर भत्ता बुझ्नु पर्दा जेष्ठ नागरिक र अशक्तहरुलाई थप सास्ती व्यहोर्नु पर्ने समस्यालाई ध्यानमा राखेर पालिका र हिमालयन बैंकको सयुक्त सहकार्यमा वडाबाटै वितरण गर्न सुरु गरिएको हो।

वितरण कार्य ७ नम्बर वडाबाट सुरु गरेर ६ नम्बरमा पनि वितरण गरिएको छ। ७ वटै वडामा शिविरमार्फत् नै भत्ता वितरण गरिने पालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन्। सोमबार मात्र ६ नम्बरमा सुरक्षा भत्ता वितरण गरिएको छ। ३–३ महिनाको अन्तरमा सबै वडाले सामाजिक सुरक्षा भत्ता वितरण शिविर नै सञ्चालन गर्ने पालिका अध्यक्ष रावतको भनाइ छ।

‘पार्टी घोषणा पत्रमा नै उल्लेख विषय हो, त्यो भन्दापनि नागरिकको सहज सेवा पाउने अधिकारको ग्यारेन्टी हुने गरी सेवा प्रवाह गर्न लागिएको हो,’ अध्यक्ष रावतले भने। जेष्ठ नागरिकलाई सास्ती नहुने गरि र बैंकिङ्ग सेवामार्फत् नै भत्ता वितरण गर्ने राज्यको नीतिलाई संवोधन गर्ने गरि शिविरमार्फत् सेवा प्रवाह गर्न खप्तड छेडेदहले जिल्लामै पहिलो अभ्यासको थालनी गरेको हो।

गाउँपालिकाको केन्द्र् रहेको डोगडी पुग्न अन्य वडाबाट कम्तीमा २ देखि ६ घण्टा पैदल यात्रा लाग्ने गरेको छ। पालिकाको ७ वटै वडाका केन्द्रमा सडक सञ्जाल जोडिएको छ। तर ती सडक सधैंका लागि र सबैका सहज छैनन्। वृद्धावृद्धहरुले भनेको समयमा सवारी साधान पाउँदैनन्, पाएका पनि एकतर्फी मात्रै पाउँछन्। पैदल हिँड्न थप गाह्रो छ। पालिकाले गरेको निर्णय र सुरुवादी प्रति स्थानीय खुसी छन्।

राज्यले वृद्धवृद्धालाई सुविधाका नाममा सास्ती दिएको आरोप जेष्ठ नागरिक र अशक्तबाट सुनिने गरेको थियो। भत्ता बुझ्नकै लागि वृद्धवृद्धा र अशक्त नागरिकले सकिनसकी पालिकाको केन्द्रमा पुग्नुपर्ने अवस्था हटाएर नागरिकको सरकारको महशुस गराउने काम गरिएको गाउँपालिका उपाध्यक्ष बिसुदेवी नाथले बताएकी छन्।

वृद्धवृद्धाहरूभत्ता बुझ्नकै लागि दुई दिनसम्म हिँडेर पालिकाको केन्द्र आइपुग्नु पर्ने बाध्यता थियो। खप्तड छेडेदह १ र २ को पीलल गाउँबाट दुई दिनसम्म लगाएर आउनु पर्ने दुःख थियो। आउँदा जाँदा पनि निकै दुःख हुने र भत्तामा पाएको रकमसमेत आउजाउमै खर्च गर्नुपर्ने अवस्था रहेकाले वडाबाट भत्ता पाउने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले बताएका छन्।

सात नम्बरका १ सय ७० जना र ६ का १ सय बढीले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता पाएका छन्। अबदेखि पालिका जानुपर्ने बाध्यता नै हटेको ६ नम्बर वडाका अध्यक्ष हर्कबहादुर विष्टले बताएका छन्। ७ नम्बर वडाबाट घुम्ती शिविर सुरु गरी ६ मा पनि वितरण गरिएको हिमालयन बैंक छेडेदह शाखा प्रबन्धक किरण रिजालले बताएका छन्।

‘जिल्लामै पहिलो पटक हामीले यो अभ्यास सुरु गरेका छौं, आफ्नै वडामा भत्ता बुझ्न पाउँदा सेवाग्राही धेरै खुसी भएका छन्’ रिजालले भने। ९० वर्ष उमेर समूहकाले समेत वडाबाटै भत्ता पाएका छन्। बैंक पुग्नु पर्ने दुखबाट मुक्त पाएकोमा स्थानीय हिरा ओलीले खुसी व्यक्त गरेकी छन्।

जिल्लाका अन्य पालिकामा रहेका बैंकहरूले पनि यो अभ्यासको थालनी गरे जेष्ठ नागरिकले राहत पाउने अवस्था छ। पालिकाले वडा कार्यालयले पालिकासम्म हिँड्न नसक्ने सेवाग्राहीको विवरण र खाता नम्बर उपलब्ध गराएपछि बैंकले पुनःपुष्टि गरेर सूचीसहित कर्मचारीलाई वडामा पठाउने र सम्बन्धित व्यक्तिलाई रकम बुझाएर रसिदमा दस्तखत गराउने प्रणालीको विकास गरेको छ।

हिमालयन बैंकको सक्रियतामा २०७७ सालमा नै खप्तड छेडेदह गाउँपालिकामा ‘एक घर एक बैंक खाता’ सञ्चालनमा आइसकेको छ । बैंकले पालिकासँग सहकार्य गरेर वित्तीय चेतना जागरणमा पनि योगदान गरिरहेको छ।

प्रकाशित: ९ श्रावण २०७९ १३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App