६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

गुल्मीको धुर्कोटमा नमुना मतदानमा १३ प्रतिशत मत बदर

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा संचालन गरिएको नमुना मतदानमा १३ प्रतिशत मत बदर भएको छ। बिहीबार धुर्कोटको हिमालय माध्यमिक विद्यालयमा संचालन गरिएको नमुना मतदानमा सहभागी ९० जना मतदाताहरु मध्य १२ जना मतदाताको मत बदर भएको हो।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन र बदर मत कसरी कम गर्न सकिन्छ भन्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्लामा एक मात्र स्थानमा नमुना मतदान गरेको हो। बदर मतपत्रहरु मध्य अधिकांस मतपत्रमा मतदाताहरुले स्वस्तिक छाप लगाउने चिन्हमा ल्याप्चे लगाएको पाइएको जिल्ला निर्वाचन अधिकारी माया कुँवरले बताइन्।  

नमुना मतदानमा निर्वाचन कार्यालय गुल्मीले मतदातालाई निर्वाचनमा मतदान गर्ने तरिका, केन्द्रको व्यवस्थापन, लाईन व्यवस्थापन, स्वयंसेवक परिचालन, लगायतका विषयमा मतदाताहरुलाई जानकारी गराएको थियो। मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाहरुको लाइन व्यवस्थापन गर्ने, मतदाता परिचय पत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा उम्मेदवारहरूलाई मत दिने तरिकाको बारेमा जनाकारी गराईएको थियो।

दुई घण्टासम्म भएको नमुना मतदानमा ४१ महिला र ४९ पुरुष गरेर ९० जनाले मतदान गरेका थिए। जसमा १२ मत बदर भएका छन्। स्थानीय ८५ वर्षीय वृद्ध ढुण्डीराज भण्डारीले पहिलो मत खसालेको धुर्कोट गाउँपालिकाकी निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिएकी छन्। स्थानीय सबै उमेर समूहका विद्यार्थी, क्लब, रेडक्रस, दल र नागरिक समाजका प्रतिनिधिहरु मतदानमा सहभागी बनेका थिए।  

नमुना मतदानमा सहभागीहरूले अन्य व्यक्तिहरूलाई मतदान गर्न सिकाउने र जिल्लामा कम मत बदर हुने अवस्था सृजना गर्न खोजिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए। सोही अवसरमा प्रमुख जिल्ला अधिकारी पौडेलले निर्वाचन आचारसंहिता र निर्वाचन शिक्षाका बारेमा मतदान स्थलमा आएका मतदाताहरुलाई जानकारी गराएका थिए। नमुना मतदानमा स्वस्तिक छाप लगाए पश्चात मत बदर नहुने गरी पट्याउने विधिको बारेमा जानकारी गारइएको थियो।

प्रकाशित: २२ वैशाख २०७९ १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App