७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

तीन वर्षपछि ‘निस्फिक्री’ होली

लगातार दुई वर्ष दिल खोलेर होली मनाउन नपाएका नेपाली यसपटक ‘निस्फिक्री’ भएर मनाउने तयारीमा छन्।

कोभिड–१९ संक्रमणको जोखिमले अघिल्ला दुई वर्षका होलीमा देखिने तडकभडकमा प्रशासनले देशभर रोक लगाएको थियो। संक्रमणको जोखिमलाई ध्यान दिएर सरकारले पुरानै शैलीमा मनाइने होलीलाई लगाम लगाउने गरी आदेश जारी गर्दै आएको थियो।

यस वर्ष भने सरकारले त्यस्तो आदेश जारी गरेको छैन, अर्थात् आम नेपाली हिन्दु धर्मावलम्बीहरूले पूर्ववत् प्रचलनअनुसार निस्फिक्री रूपमा होली मनाउन पाउने भएका छन्।

यसपटक आम जनतालाई निस्फिक्री होली मनाउने वातावरण प्रदान गरिए पनि सुरक्षा निकायलाई भने सक्रियता बढाउन ‘बाध्यता’ बढेको छ। गत वर्षमा भन्दा वातावरण खुकुलो बन्दा होलीमा ‘भड्किलो’ व्यवहार देखिनसक्ने खतराले सुरक्षा निकायलाई सतर्क रहनुपर्ने भएको छ।

‘निश्चय पनि लामो समयसम्म होली मनाउन नपाएको, कोभिडका कारण घरभित्रै कुजिएर रहेको, परस्पर सम्पर्कमा नगएको समाज यसपटक रमाउन खोज्ने सम्भावना रहन्छ नै,’ नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) विष्णुकुमार केसी भन्छन्, ‘जसले ठूलै शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने काम नगरे पनि अन्यलाई सास्ती दिने, मादक पदार्थ सेवन गरेर यात्रा गर्दा ट्राफिक सुरक्षा जोखिम बढाउने लगायत खतरा बढ्नेसक्ने हाम्रो अनुमान छ।’ प्रहरीले यही कुरालाई ध्यान दिएर देशभरमा सतर्कताका कामहरू गरिरहेको उनले बताए।

प्रहरीका अनुसार विगतका होलीमा विशेष गरी बटुवा, पर्यटकहरूलाई अनिच्छित रूपमा रङ दल्ने, लोला हान्ने, हिलो छ्याप्ने, होलीमा रङ दल्ने बहानामा यौनजन्य हिंसा गर्ने समस्या देखिने गरेका छन्। यसबाहेक मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, जसले सडक सुरक्षामा समेत समस्या निम्त्याउने गरेको छ।

यस्ता घटना बढीजसो ठूला सहर र बजराी क्षेत्रहरूमा बढी हुनेगरेको प्रहरी संयन्त्र जनाउँछ। होली पर्वमा उत्पन्न हुनसक्ने यस्ता समस्या न्यूनीकरण गर्न नेपाल प्रहरीले ‘होली पर्व सुरक्षा योजना २०७८’ बनाएर सोही अनुसार प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता केसीले जानकारी दिए। ‘योजना अनुसार नै प्रहरी परिचालन हुन्छ। हामीले शान्तिपूर्ण र मर्यादित रूपमा पर्व मनाउन सबैसँग आग्रह पनि गर्दै आएका छौ,’ उनले भने, ‘मर्यादा नाघेर मनाइए कानुनअनुसार कारबाही हुन्छ।’

उपत्यकामा विशेष सतर्कता

खुकुलो वातावरणमा मनाइन लागेको यसपटकको होलीमा उपत्यका देखिनसक्ने सम्भावित जोखिमलाई ध्यान दिएर महानगरीय प्रहरी कार्यालयले सतर्कता बढाएको छ। महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) सन्तोषसिंह राठौरले काठमाडौं उपत्यकामा तीन हजार पाँच सयभन्दा बढी प्रहरी खटाइने जानकारी दिए।

उनका अनुसार काठमाडौंले मात्रै एक हजार ७ सय, ललितपुरबाट ६ सय र भक्तपुरमा ४ सयभन्दा बढी प्रहरी परिचालन गर्ने तयारी गरिएको छ। सडक सुरक्षालाई ध्यान दिएर महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट चेकिङ तीन सय ट्राफिक प्रहरीलाई चुस्तताका साथ ड्युटीमा परिचालन गरिने र उपत्यकाका ६८ ठाउँमा चेकिङ हुने जनाइएको छ।

यस्तै महानगरीय अपराध महाशाखाले पनि होलीमा हुनसक्ने सम्भावित जोखिमलाई निगरानीमा राख्न सादा पोशाकमा पनि प्रहरी परिचालन गर्ने तयारी रहेको प्रवक्ता राठौरले जानकारी दिए।

प्रकाशित: ३ चैत्र २०७८ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App