८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

आमाहरुले पढ्ने विद्यालयमा आर्थिक सहयोग

औपचारिक शिक्षा हासिल गर्नबाट वञ्चित भएका महिला अध्ययनरत उज्यालो वैकल्पिक विद्यालय बेनीमा म्याग्दी जेसीजले एक लाख आर्थिक सहयोग गरेको छ। विद्यालय जाने उमेरमा अध्ययन गर्ने चाहना हुँदा हुँदै पनि विविध कारणले विद्यालय नभई घरमा बसेकालाई लक्षित गरी स्थापना भएको विद्यालयमा एक लाख रुपैयाँ आर्थिक सहयोग गरिएको हो।

म्याग्दी जेसीज २०२२ का शाखा अध्यक्ष सन्दिप खत्री सहितको टोलीले विद्यालयका का.वा. अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरिएको थियो। हाल कक्षा १० सम्म अध्ययन हुने उक्त विद्यालयबाट २०७७ को एसईईमा ७ जना आमाहरुले एसईई उत्तीर्ण समेत गरेका छन्। हाल उक्त विद्यालयमा आर्थिक संकट आई सञ्चालनमा कठिनाई भएपछि आर्थिक सहयोग गरिएको म्याग्दी जेसीजका अध्यक्ष खत्रीले बताए।

आमाहरुले पढ्ने विद्यालयलाई नमुना बनाउन हामीले सानो सहयोग गरेका छौ,‘भविष्यमा पनि निरन्तर साथ र सहयोग हुन्छ’ अध्यक्ष खत्रीले भने। कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष सिनेटर रमेशकुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु, सञ्चालक समितिका सदस्यहरुको सहभागीता रहेको थियो। आर्थिक सहयोग प्रदान गरेकोमा कावा अध्यक्ष शाक्यले म्याग्दी जेसीजलाई धन्यवाद दिएका थिए।

उनले जनचेतना, छोरीलाई शिक्षा दिनबाट वञ्चित बनाउने जस्ता विविधि कारणले अक्षर समेत चिन्न नसक्ने अवस्थाका आमाहरुलाई लक्षित गरेर सञ्चालन गरेको विद्यालयमा आर्थिक समस्या भएको बताए। ‘अहिले अभावै अभाव छ,‘आर्थिक अभावले थप योजना अगाडी बढाउन समस्या भइरहेको छ’ अध्यक्ष शाक्यले भने।

उनले प्रयाप्त स्रोतसाधन भएमा विद्यालयमा पठनपाठन समेत सहज हुने तथा संख्या बढाउन सकिने बताए। १९औं जेसीज कप सञ्चालनमार्फत् संकलन भएको २५ हजार, राजेश शाक्यको सहयोग ५० हजार र २०२२ को सञ्चालक समितका सदस्यहरुबाट २५ हजार रुपैयाँ आर्थिक संकलन गरी सहयोग गरिएको थियो।

प्रकाशित: ३ फाल्गुन २०७८ १०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App