१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लागूऔषधको कारोबारको मुख्य ‘हब’ बन्दै इटहरी

दुई दिनअघि मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका दुई जना युवाको इटहरी वडा नं. ४ स्थित डेरामा खोजतलासी गर्दा गाजा फेला पर्‍यो।  

इटहरी वडा नंं. ६ का मानवहादुर तामाङ्को प्रदेश नं. १(०२(०४६ प ८७९० नम्बरको मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका वराहक्षेत्र वडा नंं. ५ घर भई इटहरीमै बस्ने २२ वर्षे मनिष वस्नेत र सङ्खुवासभा सभापोखरी वडा नं. ४ का २० वर्षेे सन्तोष सुनुवारको कोठा खोजतलास गर्दा गाजा फेला परेको हो। कोठामा खोजतलासी गर्दा एक किलो २५० ग्राम गाँजा फेला परेको हो। पक्राउ परेका दुवैलाई मुद्दा चलाई सकिएको छ।

चार दिनअघि मात्र इटहरी वडा नं. ९ वस पार्कमा लागूऔषध कारोवार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले एक जनालाई लागूऔषधसहित पक्राउ गरियो। सिरहा लहान वडा नं. १ वस्ने ४५ वर्षेे डोमा मण्डललाई प्रहरीले पक्राउ गर्दा डाइलेक्स डिसी सय एमपुलसहित अन्य ट्याब्लेट बरामद गरि लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दायर गरिएको छ।  

इटहरीबाटै दस दिनअघि मात्र वडा नंं. २० स्थित कोशी राजमार्गमा अवैध लागूऔषध गाँजा ओसारपसार भई रहेको सूचनाको आधारमा प्रहरीले ७२ केजी गाजा बरामद गरियो। मोटरसाइकलमा गाजा ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको हो। सो क्रममा प्रहरीलाई देख्नासाथ भाग्न खोज्दा धनकुटा शहिदभूमी वडा नं. १ का २४ वर्षे विक्रम भन्ने भुपेन्द्र राई सामन्य घाइते भएको तथा मोटरसाइकलमा सवार सोही ठाउँका ३३ वर्षे  सञ्जिप राई लडेर गम्भीर घाइते भएका थिए।  

पुस पहिलो साता नयाँ उपाय अप्नाएर इटहरी प्रहरीले चिया पसलमार्फत लागूऔषध बिक्री गर्ने एक जना महिलालाई पक्राउ गरि मुद्दा चलायो। इटहरी वडा नं. ४ कै  पूर्व बस स्टेण्डको सडक नजिकै चिया पसल गर्दै आएकी ६५ वर्षे तुलसा श्रेष्ठलाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएको हो।

तेह्रथुम म्याङ्लुङ् घर भई केही वर्षदेखि इटहरीमा चिया पसल गर्दै आएकी श्रेष्ठले लागूऔषध खैरो हिरोईन विक्री वितरण गर्दै आएको सूचना प्रहरी समक्ष पुग्यो। प्रहरीले उनले लगाएको स्वीटर खोजतलास गर्दा प्याक गरेको एक ग्राम ४४ मिलिग्राम र प्लाष्टिक बाहेक ५८ मिलिग्राम लागूऔषध खैरो हिरोईन ब्राउन सुगर फेला परेको थियो।  

साउन पहिलो साता लागूऔषधको विवादमा आफ्नै साथीलाई अपहरण गरि बन्धक बनाएको आरोपमा इटहरीबाट प्रहरीले तीन जनालाई पक्राउ गरि मुद्दा चलाएको थियो। प्रहरीले प्रहरी इटहरी वडा नं. ७ का २५ वर्षे संगित थापा, सोही ठाउँका १९ वर्षे अनिष कार्की र वडा नं. ८ का २३ वर्षे सिद्धार्थ राईलाईं पक्राउ गरि मुद्दा चलाएको थियो। यी तीनै जनालाई इटहरी वडा नं. ४ का २२ वर्षे निर्मल श्रेष्ठलाई अपहरण गरेको आरोपमा प्रहरीले पक्राउ गरि मुद्दा चलाएको थियो।

इटहरी क्षेत्रबाट प्रहरीले लागूऔषध कारोबारी तथा सेवनकर्ताबाट ब्राउन सुगर, गाजा, ट्याब्लेट नाइट्रोसन, स्मास्पो ट्याब्लेट, स्पास्पेन ट्याब्लेट, ट्रामाडोल ट्याब्लेट, नाइट्राजेपाम, एभिल, एम्पुल फेनारगन, डाइजाल्याव, लुपिजेसिकलगायतका लागूऔषध बरामद गदो छ। इटहरी क्षेत्रमा लागूऔषधको अवैध धन्दाको भयावह अवस्था झल्कन्छ। इटहरीको मुख्य समस्या लागूऔषध भएकाले गर्दा प्रहरीले जहिल्यै प्राथमिकतामा राखेर काम गर्दै आएको इटहरीका डिएसपी खगेन्द्र खड्काले बताए।  

लागूऔषधको कारोबारका लागि मुख्य डिलिङ् हुने स्थान भने यातायातको मुख्य हब इटहरी नै हो। लागूऔषधको कारोबारमा संलग्नहरुका अनुसार इटहरीबाट पूर्वका गाउँबस्तीमा सबैतिर लागूऔषध खपत हुने गरेको छ।

इटहरीमा यसको कारोबार हुने मुख्य अखडामा बिराटनगरलाइन, सुकुम्बासी बस्तीको रकटोल, बसपार्क एरिया,पान्धारे क्षेत्र आदि पर्छन्।

इटहरीमा चालु आर्थिक वर्ष साउनदेखि पुस मसान्तसम्म लागूऔषधका १९ वटा मुद्दामा २७ जना पक्राउ परेका छन्। जिल्लाभरका तथ्याङ्कलाई हेर्दा यो अवधिमा ८३ वटा लागूऔषधका मुद्दा छन्।  

अघिल्लो वर्ष २०७७ साउनदेखि २०७८ असार मसान्तसम्मको अवधिमा प्रहरीले इटहरी क्षेत्रबाट ४९ जना लागूऔषध कारोबारी पक्राउ गरेको थियो। पक्राउ परेका सबै पुरुष थिए। त्यो अवधिमा प्रहरीले ब्राउन सुगर २९९ ग्राम २४० मिलीग्राम, २२ केजी ९२२ ग्राम गाजा, एक हजार ७०१ वटा ट्याब्लेट नाइट्रोसन, एक हजार ८६० वटा स्मास्पो ट्याब्लेट, तीन हजार ३० वटा स्पास्पेन ट्याब्लेट, १२ हजार ८६० ट्रामाडोल ट्याब्लेट, ४५ एम्पुल नाइट्राजेपाम, २९ एम्पुल एभिल, नौ एम्पुल फेनारगन, २९ एम्पुल डाइजाल्याव, २४ एम्पुल लुपिजेसिकलगायतका लागूऔषध बरामद गरेको थियो।  

विशेषगरी लागूऔषधको लतमा फस्नुको कारणमा आफूभन्दा सिनियरको सिको, रहर अनि बिस्तारै बानी बस्नु नै हो। यही ढंगले अधिकांस कुलतमा फस्ने गरेका छन्। कतिपय भने घरपरिवारको वातावरण बिथोलिएर मानसिक तनाब कम गर्ने निहुँमा पनि कुलतमा फस्ने गरेका छन्। लागूऔषध सेवनकर्ताको हातखुट्टाको हडी चिलाउने, खानाप्रति रुची नहुने लगायतका समस्या हुने गर्छन्। कसैकसैमा हातखुट्टा फ्याक्ने, कराउने र निन्द्रा नलाग्ने समस्या पनि हुन्छ। यी समस्याले कुलतमा फसेकालाई पिरोलेपछि उनीहरु चिन्तामा डुबेर थप लागुऔषध सेवन र प्रयोगमा लाग्ने गरेका हुन्छन्।  

लागूऔषध सेवन गर्ने युवाको संख्या बढ्दो भएकाले यसको व्यापार पनि मौलाइरहेको छ। लागूऔषधको व्यापार मौलाइरहँदा कारोबारीमा संलग्नले तस्करी गर्ने अनेक उपाय रच्ने गरेका छन्।

प्रकाशित: २ माघ २०७८ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App