७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

नारायणहिटी दरबार संग्रहालयः प्रमुख दाहालले दिए राजीनामा

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका छन्।

संग्रहालयपरिसर बतास समूहलाई भाडामा रेस्टुरेन्ट बनाउन दिएको विवादमा मुछिएका दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा बुझाएका हुन्। उनको मंगलबारै राजीनामा स्वीकृत भएको छ।

नारायणहिटी संग्रहालयपरिसर नाफामूलक प्रयोजनका लागि बतास समूहसँग सम्झौता गरेको भन्दै पर्यटन मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। उक्त समितिले बुझाएको प्रतिवेदनले दाहालको मात्रै दोष ठहर गरेपछि उनले राजीनामा बुझाएको बुभिएको छ।

सम्झौतामा दाहालको गल्ती देखिएको भन्दै छानबिन समितिले सोमबार पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई बुझाएको प्रतिवेदनमा कारबाही गर्न सिफारिस गरेको थियो। नारायणहिटी दरबार संग्रहालयमा आफूले सही मनसायले काम गरेको, विभिन्न सञ्चार माध्यममा गलत तथा दुष्प्रचार गरिएको र नेपाल सरकारले नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्टलगायत व्यवसाय गर्न दिएको अनुमतिमा छानबिन समितिसमेत गठन गरेकाले उक्त समितिलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नैतिकताका आधारमा आफूले राजीनामा दिएको दाहालले बुझाएको राजीनामा पत्रमा उल्लेख छ।

पुरातत्व विभागबाट सेवानिवृत्त भइसकेका दाहाललाई तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले दुई वर्षअघि चार वर्षको लागि नियुक्त गरेका थिए। भट्टराईले पुरातत्व विभागमातहत रहेको नारायणहिटी दरबार संग्रहालयमा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति बनाएर नियुक्त गरेका थिए।

पर्यटन मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा बनाएको छानबिन समितिको प्रतिवदेनमा बताससँग गरिएका ठेक्कासम्झौता तथा भाडामा आफूखुसी स्वीकृति दिएको दाबी गरिएको छ। दाहालले नै बंकर र बगैंचा निमार्णका लागि स्वीकृति दिएको समेत प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले समितिको स्वामित्वमा रहेको जग्गामा पूर्वस्वीकृति र सम्झौता नै नगरी नयाँ संरचना निर्माण भइरहँदा दाहालले सम्पत्तिको संरक्षण र संवद्र्धधनका लागि अनुगमन, निरीक्षण तथा रेखदेख नगरेको समेत दोष देखाएको छ। साथै उनले सम्झौताविपरीत संचरना निर्माण गरिरहँदा तत्काल रोक्ने, कानुनी प्रक्रियामा जानेलगायत कुनै पहल नगरेको र ठेक्कासम्झौता कार्यमासमेत मिलेमतो रहेको प्रतिवेदनमा दाबी गरिएको छ।

प्रकाशित: २८ पुस २०७८ ०१:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App